नेपालमा पहिलोपटक एसियन भैंसी सम्मेलन हुने (भिडिओ) – Nepal Press

नेपालमा पहिलोपटक एसियन भैंसी सम्मेलन हुने (भिडिओ)

चितवन । नेपालमा पहिलोपटक एसियन भैंसी सम्मेलन हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपंक्षि विकास मन्त्रालय, एसियन बफेलो एशोसियसन र इन्टरनेशनल बफेलो फेडेरेशनको आयोजनामा भर्चुअल सम्मेलन गर्न लागिएको हो ।

१० औं एसियन बफेलो कंग्रेस आयोजक समितिका अध्यक्ष प्रा.डा. भूमिनन्दन देवकोटाले यही कात्तिक ८ गतेदेखि १२ गतेसम्म सम्मेलन हुने बताए । सम्मेलनमा ३ सय ५० बढी सहभागी हुने उनले जानकारी दिए । १७ देशका भैंसीविज्ञहरुले ७ विधामा १ सय ३५ बढी कार्यपत्र प्रस्तुत गर्नेछन् ।

वैज्ञानिक, प्राध्यापक, कृषक तथा विद्यार्थी सहभागी भएर ५ दिनसम्म छलफल हुनेछ । भैंसीपालन, व्यवस्थापन, स्वास्थ, बजारीकरण एवम् उपयोगिताबारे भएका नविनतम् खोज, अनुसन्धानबारे गहन छलफल हुने देवकोटाको भनाइ छ ।

सम्मेलनको उद्घाटन ८ गते दिउँसो २:४५ बजे कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र रायले गर्नेछन् । सम्मेलनबारे जानकारी लिन वेभसाइट, मोबाइल एप तथा जुम वेभइनर प्लेटफर्मको प्रयोग गर्न सकिनेछ ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले नेपालमा ओझेलमा परेको पशुपालनलाई उचाई दिन सम्मेलनले सघाउने बताए । भैंसीलाई कालो सुनका रुपमा लिइने भएकाले नयाँ प्रविधि र खोजअनुसन्धान प्रयोग ल्याउन सके अर्थतन्त्रमा सहयोग गर्ने उनको भनाइ छ ।

सन् २०१७ मा सौराहामा स्थानीयरुपमा भएको यो सम्मेलन सन् २०१८ मा भारतमा भएको थियो । कृषि तथा विज्ञान विश्वविद्यालय र तत्कालीन कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले पशुविज्ञान, पशुचिकित्सा क्षेत्रका वैज्ञानिकले निरन्तर भैंसीको अनुसन्धानलाई केन्द्रमा राखेर पोषण, व्यवस्थापन, रोग निदान तथा उपचार एवम् बेमौसमी प्रजनन प्रविधिमा योगदान गर्दै आइरहेको छ । बेमौसमी प्रजनन प्रविधिबाट करिव ४७ प्रतिशत उत्पादन क्षमता पाइएको छ ।

स्थानीयरुपमै हर्मोन उत्पादन गर्न सके बेमौसमी प्रजनन कार्य किसानको गोठमा पुर्याउन विश्वविद्यालयले अध्ययन गरिरहेको छ । विश्वविद्यालयले भैंसी उत्पादनमा भएका नयाँ अनुसन्धानबारे पनि कार्यपत्र प्रस्तुत गर्नेछ ।

नेपालमा दुग्ध उत्पादनमा भैंसीले करिव ६५ प्रतिशत र मासु उत्पादनमा ५५ प्रतिशत हिस्सा ओगटेको छ । सन् २०१७ मा नेपालमा भएको सम्मेलनपछि नै विश्वविद्यालय भैंसी अनुसन्धानमा दिर्घकालिन योजना निर्माणमा लागिपरेको छ । भैंसी अनुसन्धान केन्द्र स्थापना गर्न लागिएको छ ।

एसियामा ९० प्रतिशत भैंसीपालन हुँदै आएको छ । नेपाल एसियामा भैंसी उत्पादनमा चौथो स्थानमा पर्छ । नेपालमा करिब ५२ लाख भैंसी रहेको अनुमान छ । स्थानीय जातहरुमा पहाडतिर लिमे, पारकोटे, गड्डी र तराइतिर तराइ जात र मुर्रा जातका भैंसीपालन हुँदै आएका छन् आयातित हाइव्रिड जातका भैंसीपालनसमेत बढेको छ । दूध दिन छाडेपछि पनि मासु र छाला उपयोग हुने भएकाले भैंसीलाई बहुउपयोगी जनावर मानिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर