पाँच वर्षमाथिका बालबालिकामा ९० प्रतिशत प्रभावकारी देखिएको फाइजर खोप लगाइने – Nepal Press

पाँच वर्षमाथिका बालबालिकामा ९० प्रतिशत प्रभावकारी देखिएको फाइजर खोप लगाइने

काठमाडौं । अमेरिकाको फाइजर-बायोएनटेक कम्पनीद्वारा उत्पादित कोभिड-१९ विरुद्धको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई समेत लगाइने भएको छ। हालै सम्पन्न परीक्षण अनुसार उक्त उमेर समूहका बालबालिकामा यो खोप ९० दशमलव ७ प्रतिशत प्रभावकारी देखिएको पुष्टि भएको छ ।

उक्त कम्पनीले शुक्रबार ‘क्लिनिकल ट्रायल’को रिपोर्ट सार्वजनिक गर्दै यो खोप ५ देखि ११ वर्षसम्म उमेर समूहका बालबालिकामा समेत प्रभावकारी देखिएको जानकारी गराएको हो ।

‘ट्रायलमा संलग्नमध्ये १६ जना बालबालिकामा गरिएको अध्ययन अनुसार प्लेसेबो (ट्रायल ड्रग) सेवन गरेका १३ जना बालबालिकामा कोभिड–१९ संक्रमण देखियो भने फाइजर भ्याक्सिन लगाएका ३ जना मात्र संक्रमित भए,’ फाइजरले ‘युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन’लाई बुझाएको डकुमेन्टमा उल्लेख छ ।

२ हजार २ सय ६८ जना सहभागी रहेको ट्रायलमा दुई गुणाभन्दा बढी बच्चाहरुलाई प्लेसबोभन्दा खोप दिइएको थियो, जसको प्रभावकारिता ९० प्रतिशतभन्दा राम्रो देखिएको थियो ।

फाइजरको क्लिनिकल ट्रायल भाइरसविरुद्ध प्रभावकारिता मापन गर्न डिजाइन गरिएको थिएन। यसको उद्देश्य परीक्षण पूरा गरिसकेका प्रौढहरुको तुलनामा खोप लगाएका बालबालिकाहरुमा ‘न्युट्रलाइज्ड एन्टीबडी’को मात्रा कस्तो छ भनी तुलना गर्नु रहेको कम्पनीले जानकारी दिएको छ ।

परीक्षणबाट प्राप्त नतिजाका आधारमा कोभिड–१९ भ्याक्सिनले बालबालिकामा बलियो प्रतिरोध क्षमता विकास गरेको फाइजर-बायोएनटेक कम्पनीले दाबी गरेको छ ।

पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई १० माइक्रोग्राम मात्र भएको दुई डोज खोप दिइएको थियो। १२ वर्षभन्दा माथिका बालबालिकालाई भने यही मात्राको खोपको तेस्रो डोज पनि दिइएको थियो ।

अमेरिकाकै फाइजर–बायोएनटेक र मोडर्ना खोपका कारण युवाहरुमा ‘साइड इफेक्ट’का रुपमा मुटुमा समस्या (म्योकार्डिटिस) नदेखिएको युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले जनाएको छ । १६ वर्षमाथिका व्यक्तिलाई फाइजर खोप लगाउन एडमिनिस्ट्रेसनले पूर्ण अनुमति दिइसकेको छ भने कम्तीमा १२ वर्ष पुगेका व्यक्तिहरुलाई खोप लगाउनको लागि भने अनुगमनसहितको अनुमति दिएको छ ।

अमेरिकामा १२ देखि १७ वर्षसम्म उमेर समूहका ११ मिलियन (१ करोड १० लाख) बालबालिकाले फाइजर खोप लगाइसकेका छन् । एडमिनिस्ट्रेसनबाट अनुमति पाएपछि ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि सम्भवतः नोभेम्बरदेखि खोप दिइने फाइजर-बायोएनटेक कम्पनीले जनाएका छन् ।

फाइजर–बायोएनटेकले ११ वर्षमाथिका किशारकिशोरीका लागि यसअघि नै यो खोप ल्याइसकेको छ । नेपाल सरकारले पनि अमेरिकाबाट ११ वर्षभन्दा माथिका किशोरकिशोरीलाई लक्षित गरेर पहिलो खेपमा १ लाख डोज फाइजर खोप आउँदो सोमबार ल्याउन लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर