मृगतृष्णा – Nepal Press
कथा

मृगतृष्णा

‘अर्काको बाछो चाटी मुखभरि रौँ । तँलाई थारी, कसले बस्न भन्याथ्यो । अनि किन चाट्नु के अर्काको बच्चो ? बच्चो चाट्ने रहर भए आफूले पाउनु नि ! ४ वर्ष भैसक्यो । तेरा कारणले मैले अनेक कुरा सुन्नुपर्छ । कुन दिन कसाईलाई दिने हुन् थाहा छैन । खाइस् बल्ल । हेर रगत बगेको ? कसले ओखती लाइदिन्छ तँलाई ? त्यसै त थारी भनेर घरकाले तेरो रिस मलाई पोख्छन् । अब झन् सिङ भाँचिस् !’ थोरेका खुट्टामा लौरीले हान्दै रिस पोखिरहेकी थिई ऊ । मानौँ, थोरे मान्छे हो र उसका कुरा सुनिरहेको छ ।

थोरेको भर्खरै मुनाएको सिङ भाँचिएर रगत बगिरहेको थियो । अर्को भैँसीको लैनो पाडोलाई चाट्न गइछ । आफ्नो पाडीको संरक्षणमा लैनो भैँसी जाइलाग्यो । लैनो भैँसी र थोरेको निकै बेर घम्साघम्सी पर्यो । थोरेकी धनीले माटाका डल्ला, ससाना ढुङ्गा हानेर बल्लतल्ल छुट्याएकी थिई । त्यति बेलासम्म थोरेको दाहिने सिङ फुक्लिइसकेको थियो ।

उत्पलाले अलि परैबाट भैँसी जुधेको देखेकी थिई । भैँसी र थोरेको घम्साघम्सीले उसको बाल्यकाल सम्झायो । सम्झनाले उसलाई चौरीतिर तान्यो । गाउँभरिका गाई, गोरु, भैँसी, भेडा, बाख्रा आआफ्नै सुरमा चरिहेका थिए ।

एउटी अधबैँसे महिला दाम्लो हातमा लिएर पाडो डोर्याइरहेकी थिई । त्यही पाडोलाई थोरेले चाटेको निहुँमा केही बेरअघि भैँसी र थोरेको घम्साघम्सी परेको थियो । भर्खरै ब्याएको लैनो भैँसी आफ्नो पाडोबिना चर्न आउँदैनथ्यो सायद ।

उत्पलाकै अगाडिपट्टिबाट थोरेलाई लौरीले हान्दै घरतिर लगी थोरेकी धनीले । गुनगुनाउँदै थिई ऊ— ‘तेरो कम्ता माया लाग्दैन । मेरो कन्यादानसँगै तेरो पनि दान गरेका थिए बाउले । चार वर्ष भैसक्यो । मेरा दुइटा भैसके । तँ थारी छस् । सधैँ टोक्छन् मलाई । ‘थारी पालेर तँलाई घ्युभात’ भन्छन् । अरूका पाडी चौरीमा चर्दाचर्दै बाली जान्छन् । तँलाई भने १० पटक राँगो भा’ठाममा लगिसकेँ । झन् ‘राम्रो बिउ’ भनेर बाउले देका । तैँले मलाई दिक्क पारिसकिस् ।’

उत्पलाले थोरेलाई हेरिरही । साह्रै राम्री थिई थोरे— हिस्सी परेकी, काली । छेउकुना टपक्क मिलेका । कल्चौँडो अलि नदेखिएर मात्रै, नत्र दोस्रा बेते जस्तै थिई । ‘ठ्याक्कै कुँडुली जस्तै छे मोरी ! तर किन बाँझै बसेकी होली !’ उत्पलाको मुखबाट अनायासै निस्कियो उछ्वास ।

‘कोसँग बोलेको ? के भयो ? को बाँझो भयो ?’ अलि परै छोडेका साथीहरू नजिक आइसकेका रहेछन् । उत्पलाको ‘थोरे प्रसङ्ग’ टुट्यो ।

“अर्काको कुरा के गरेको ? अब बिहे गर्ने होइन तिमीले ? दौँतरीहरु सम्धीसम्धीनी भैसके !” अर्कीले घ्यु थपी ।

“तिमीहरुले कति भोट थप्यौ ? हामीले त झन्डै २ सय मत तानेर आयौँ ।” मान्छेको झुन्डबाट घरदैलोको रिपोर्टिङ गरी एउटीले । चुनाव प्रचारमा हिँडेको दुई समूह एकै ठाउँमा मिसिइसकेको थियो ।

घरदैलोको रिपोर्टिङले ओभरल्याप गरेपछि उत्पलालाई जबाफै दिनु परेन— हाइसन्चो ! सबैले आआफ्ना कुरा सुनाए उत्पलालाई । मौन रहे पनि उत्पलाको मुहारमा मन्द मुस्कान छायो । उसको मस्तिष्कमा भने थोरे, थोरेकी धनी अनि कुँडुली घुमिरहेका थिए । चुनावी प्रचारको बेलीविस्तारपछि ‘भोलि सबेरै भेट्ने’ गरी सबै आआफ्नो घर लागे ।

०००

घरको आँगन टेक्तै गर्दा मोबाइलमा डाटा खोली । टुङ टुङ बज्न थाले दिनभरिका खबरहरू—

‘सीमिति व्यक्तिसँग मात्रै मन्त्रीको भेटघाट’

‘क्वाटरमा दिनभर पर्खंदा पनि भेट्न पाएनन् जिल्लाबासीले’

‘किचन क्याबिनेटकाले पनि भेट्न पाएनन् मन्त्रीलाई’

अनलाइनमा आएका समाचारका हेडलाइनले उसको मन चसक्क भयो ।

सोच्थी, उसको सचिवालयको सम्पूर्ण जिम्मेवारी आफैं समालुँ । कसैले कुनै प्रकारको गुनासो र टीकाटिप्पणी नगरुन् । ‘दुईजना मिलेर गर्न पाए नमूना काम गर्न सकिन्छ !’ दृढ विश्वास थियो उत्पलाको । आफ्ना लागिभन्दा पनि उमङ्ग राजनीतिमा माथि उठेको हेर्न चाहन्थी ऊ । कुशल राजनीतिज्ञको रूपमा छबि बनोस् भन्ने कामना गर्थी ।

हुन त उत्पलाले सचिवालय हेर्ने भनेर मिडियामा समाचार नआएका होइनन् तर त्यसबारे ऊ आफैं अनभिज्ञ थिई । उमङ्गसँग भेट नभएको पनि हप्तौँ भइसकेको थियो ।

म्यासेन्जरमा पोस्टिएका उसका कैयौँ जिज्ञासाको जवाफ नआएको मात्र होइन, ती म्यासेज उमङ्गले हेरेको पनि छैन । हेरेका म्यासेजको पनि रेस्पोन्स छैन । त्यसरी रेस्पोन्स नआउँदा साह्रै अपमानित भएको महसुस गरी उसले ।

सम्झी, आफूले रेस्पोन्स नगरेका सयौँ म्यासेजलाई । प्रत्यक्ष भेटेका बेला शुभचिन्तक, साथीभाइ, नातेदार, इष्टमित्र सबैले गुनासो गर्थे म्यासेज रेस्पोन्स नगरेकोमा । हाँसी हाँसी भन्ने गर्थी— ‘फेसबुक, ट्वीटर, इमेल, मोबाइललगायत सामाजिक सञ्जाल सहजताका लागि हुन् । आवश्यकताअनुसार प्रयोग गर्नुपर्छ ।’

उनीहरू चुप रहन्थे । बुझेर बस्थे वा ओठे जबाफबाट चित्त दुखाएर !

जति गुनासो आए पनि ऊ आफ्नै सुरमा चल्थी । एउटै व्यक्ति थियो, जसको म्यासेजको घण्टी टुङ्ङ हुनासाथ जवाफका लागि औँला मोबाइलको स्क्रिनमा पुगिहाल्थे स्वचालित रूपमा । कहिलेकाहीँ त निद्रामै उमङ्गसँग कुरा गरिरहेकी हुन्थी । ‘त्यही व्यक्तिबाट यत्रो अपमान !’ बेला बेला उत्पलाको चित्त यसरी दुख्थ्यो कि त्यो दुखाइ निको गराउने कुनै औषधि थिएन ।

‘कोही त रहेछ मर्द जो मेरो म्यासेजलाई बेपर्वाह गर्न सक्ने ?’ दुखाइभित्रको भिन्न अनुभूतिमा मुस्कुराउँथी ऊ घरी घरी । दङ्ग पर्थी । अनि सम्झन्थी ती व्यक्तिलाई, जो उसको रेस्पोन्स नपाएकोमा चर्को गुनासो गर्थे ।

कम्तीमा ‘बिजी छु’ भन । ‘पछि कुरा गर्छु’ भन । केही त भन । हेर्दै नहेर्ने, हेरेर पनि रिप्लाई नगर्ने बानी साह्रै नराम्रो ! तिम्रो बानीले मलाई ह्युमिलिएट गराउँछ । यस्ता धेरै गुनासामा ऊ हाँसिरहन्थी । वास्तवमा भन्ने हो भने उसलाई यी शब्दले छुँदैनथ्यो किनकि ती पात्र उत्पलाको मनभित्रका थिएनन् ।

मनभित्र एउटै पात्र बसेको थियो— उमङ्ग । ऊसँगको कुराकानीका लागि उत्पलाले कैयौँ महत्त्वपूर्ण समय चोरेकी छ । आफैलाई ढाँटेकी छ । कैयौँ रातको निद्रा माया मारेकी छ ।

राजनीतिक घटनाक्रम पातलो भएका बेला घाम र जून जस्तै केही पलको भेटघाट हुन्थ्यो उनीहरूबिच आक्कलझुक्कल । तर, कुनै पनि क्षण सम्झना सञ्चारबाट अलग हुन पाउँदैनथ्यो उमङ्ग । एक्लो हुँदा उमङ्गसँग बिताएका ती पल मात्रका स्मरणले पनि कैयौँ दिनको यात्रामा साथ दिने गरेका थिए उत्पलालाई ।

०००

“तिमी इमान्दार रहिछौ ।” छुट्टिने बेलामा भन्यो उमङ्गले ।

“तिमीसँग चाहिँ कहिलेकाहीँ बेइमान हुन सकिन्छ ।” उत्पलाले सान्निध्य दर्साई ।

पीएसओले गाडीको ढोका खोलिसकेको थियो । गाडीमा बस्दै उमङ्गले भन्यो— “प्रस्तुतिमा परिपक्वता र समझदारी कायम गर्नू !”

पीएसओ चालकसँगैको सिटमा गएर बस्यो । चालकले गाडी हुइँक्यायो ।

उत्पला धेरै कुरा भन्न चाहन्थी ।

छातीमा कहीँ, कतै अट्टहास भयो ।

मीठो दुखाइ थियो त्यो सुखको ।

दुखाइ ? अनि मीठो ?

परस्पर विरोधाभास अनुभूति कसरी एकसाथ हुन सक्छ ?

आँखाले देखुन्जेल गाडी गएतिर हेरिरही, अनि मुस्कुराई ।

०००

साँझको समय, चोक व्यस्त थियो । तरकारी किन्ने, कार्यालयबाट घर फर्कने, कार्यालय सकेर साथीभाइसँग बाहिरफेर निस्केका विभिन्न थरका मान्छेहरुको घुँईचोबीच उत्पला फुलिरहेकी थिई अन्तरमनबाटै । भित्र भित्रै कुत्कुतियो उसको मन । मीठो आभास पाएको थियो मनले ।

‘म परिपक्व ? त्यो पनि तिमीसँग ?’ आफैलाई प्रश्न गरी अनि आफै मक्ख परी ।

‘तिमीसँग जिस्किन मन छ । तिम्रा अगाडि केटौले भएर छिल्लिन मन छ । जिस्क्याउँदा तिमी लजाउँछौ । साह्रै आनन्द आउँछ तिमी लजाएको हेर्न । अचम्मको चाहना भन्दा हौ तिमी । अथवा, आफ्नो लजालु स्वभावलाई परिपक्वताको बिल्ला पनि भिराउन सक्छौ । मनभित्र शान्त तलाउ छ कि आँधी, बाहिर त्यसको कुनै छनक नदिने अद्भूत शक्ति छ तिमीभित्र । त्यही शक्तिका कारण सधैँ प्रतिक्रियाविहीन हुन्छौ तिमी । शून्यमा बस्छौ । सन्तुलनमा सन्तुष्टि तिम्रा वास्तविक गुण हुन् । तिम्रो व्यक्तित्व साँच्चै जटिल छ । म त्यही जटिलतालाई खोस्रिन चाहन्छु । सायद आममहिलाजन्य स्वभावभन्दा जब्बर छ मेरो सोच । अक्सर मान्छेहरू सरल स्वभावका व्यक्तिसँग सङ्गत गर्न रुचाउँछन् तर मेरो मन तिम्रो जटिलतासँग नजिकिन्छ । अचम्मको स्वभाव छ मेरो ।

कहिलेकाहीँ म आफ्नै मनका चाहनासँग दङ्ग पर्छु । अस्पष्ट, अदृश्य अनि धुमिल छायाभित्र प्रेमानुभूति गर्नुमा पनि कम्ती आनन्द छ र ? के गर्छौ ? मलाई यस्तै मन पर्छ । अनिश्चित समयको छोटो जीवनमा केको परिपक्वता ? केमा समझदारी ? मेरो यो स्वभावलाई तिमी विद्रोही चेतको संज्ञा दिन्छौ । मलाई स्वीकार्य छ । थोरै विद्रोही चेत जन्मजात थियो होला, त्यसलाई हुर्काउन उत्प्रेरणाको काम गर्ने तिमी नै हौ ।’ उत्पला आफैसँगको प्रश्नोत्तरमा घुमिरही ।

छुट्टिनुअघिको वार्तालापमा उसले भनेको थियो— “सायद अब विस्तार हुने मन्त्रीपरिषद्मा म पनि पर्छु होला !”

अनुहारभरि खुसीका तरङ्गसाथ उत्पलाले भनी— “साह्रै खुसी भएँ ।”

“मन कि मान्छे ?”

उमङ्गको व्यङ्ग्यात्मक जिज्ञासामा प्रतिप्रश्न गरी— “किन यस्तो प्रश्न ? मान्छे नि ।”

“मान्छे खुसी हुन धेरै कुरा चाहिन्छ । मनचाहिँ केही समयका लागि अनायासै खुसी हुन सक्छ ।”

हरेक विषयलाई क्लिष्ट बनाउने उमङ्गको स्वभावबारे भलीभाँती जानकार थिई उत्पला । त्यसैले सामान्य ढङ्गमा प्रस्तुत भई— “तिमी जस्तो मान्छे नेतृत्वमा आउनुपर्छ । राजनीतिमा आफ्नो छबि उत्कृष्ट प्रमाणित गर भन्ने चाहना हो मेरो ।”

“चाहना र व्यवहारिकता भिन्न विषय हुन् । चाहना स्वरैकल्पना हो भने व्यावहारिकता जीवन र जगत्को यथार्थ ।” उमङ्गले फेरि विषयवस्तुमा क्लिष्टता भर्‍यो ।

“जेसुकै भन । तिमी मन्त्रिमण्डलमा सहभागी भएको दिन सबैभन्दा बढी खुसी मै हुन्छु ।”

“केका लागि ? बिनाप्राप्ति ? म मन्त्री बन्दैमा तिमीलाई के फाइदा ?”

“सबै विषयलाई लाभहानि र प्राप्तिको नजरले हेरिँदैन ।” सामान्य भावमा जबाफ दिई उत्पलाले ।

“केही त अवश्य पाउनुपर्ला नि ?”

“तिम्रो कुशल नेतृत्व मुलुकले पाउनेछ ।”

“तिमीले ?” उमङ्गले उधिनिरह्यो उत्पलाको अन्तरमन ।

“सन्तुष्टि, आत्मसन्तुष्टि नै सबैभन्दा ठुलो प्राप्ति हो मान्छेको ।”

“भौतिक प्राप्तिबिना ?”

“आत्मानुभूति !” उत्पलाको संक्षिप्त जबाफ ।

उत्पलाको एकशब्दे जबाफभित्र प्रेम, स्नेह, समर्पण र सहकार्यको अपेक्षा थियो सायद । उसको मन यी सबै कुरा अनुभूत गर्न चाहन्थ्यो ।

वार्तालापलाई यही बिन्दुमा बिट मारेर उमङ्ग बाहिरिएको थियो । अनि, जाँदाजाँदै उत्पलाप्रतिको आफ्नो मूल्याङ्कन सुनाएको थियो उसले— “तिमी इमान्दार रहिछौ ।”

०००

आपसी मित्रतामा उत्पलाको बुझाइ, संयम अनि शालीन व्यक्तित्वलाई उमङ्गले ‘इमानदार’ को संज्ञा दिएको थियो, जुन उसलाई पटक्कै मन परेन । उमङ्गसँग इमानदार बन्नु नै छैन उसलाई । तर, नचाहेरै पनि जबरजस्त स्वीकारी उसले इमानदारीको पगरी ।

एक दिन उसले भनेको थियो— “हरेक विषयवस्तुलाई तिमी अंशमा हेछ्र्यौ, म समग्रता र बहुआयामिक ढङ्गले हेर्छु । तिमी मेरा कुरा ध्यानपूर्वक सुन्ने र ग्रहण गर्ने गर । मेरा सहयोगी भावनाका उदाहरणहरूलाई परख गर !”

“मलाई कक्षाकोठाको गुरु होइन, खेल मैदानको साथी आवश्यक छ, जो प्रतिस्पर्धा पनि गरोस् । लड्न लाग्दा समालेर अङ्कमाल गरोस् ।”

अभिव्यक्तिमा नआए पनि उत्पलाका नयनले यस्ता कैयौँ कुरा इसारा गरिरहेका थिए तर सुनाउने हिम्मत जुटाउन सकिन उसले । मनले अनेक आकाङ्क्षा राखे तर मनको स्वीकृतिबिनै उत्पलाले उमङ्गका ती कुरा ग्रहण गरी र स्वीकृतिको अल्प सूचना दिई— ‘हस्’ ।

त्यस दिन ऊ गम्भीर ढङ्गले प्रस्तुत भएको थियो । उत्पलाको मनले त्यस दिन पनि वार्तालाप सीमान्त उचाइमा पुग्न पाएन । हरेक पटक रोक्ने उही थियो ।

०००

“जिन्दगी छोटो छ यसलाई परिपक्व र इमान्दारीको नाममा बोझिलो नबनाऊ । जीवनको सत्य तिमी राख, प्रेम मलाई देऊ । तिमीले भनेको शाश्वत सत्यलाई आत्मसात् गरेर जीवन बोझिलो बनाउन चाहन्नँ म ।” साहस बटुलेर एक दिन उसले भनेकी उत्पलाले ।

“एउटा कुशल राजनीतिज्ञले प्रेमको भारी बोक्न सक्तैन, बिसाउन पनि सक्तैन । ऊ सधैँ जनताको सरोकारका मुद्दालाई प्रेम गरिरहन्छ । व्यक्तिगत प्रेम सधैँ ओझेलमा पर्छ । त्यसैले व्यावहारिक पक्ष तिमीले सोचे जस्तो सहज छैन उत्पला ।”

एक्कासी बादल लाग्यो, चट्याङ पर्‍यो । पृथ्वी के थर्कियो होला र ? उत्पलाको हृदयमा बेजोड कम्पन आयो उमङ्गको कुरा सुनेर ।

“याद छ तिमीलाई, मैले तिमीलाई सम्झनुभन्दा पहिले नै तिमीले मेरो मनको ढोका ढकढक्याएको ? तिनै यादहरूले मलाई अशान्त बनाउँछन् । बिनाअनुमति मस्तिष्कमा परेड खेल्छन् । ती यादहरूलाई न पुरस्कार दिन सक्छु न त दण्ड । यादहरूको भारीले थिचिएकी छु । साँच्चै तिमीले विश्वास गर्न नसक्ने गरी कमजोर बनाएका छन् मलाई ती अविस्मरीणय पलहरूले । जति बेला अन्जानमै पनि तिम्रो सामीप्यलाई निशब्द स्विकारेकी थिएँ । आत्मीय अनभूति भएको थियो । अवचेतनले तिम्रो साथ रोजेको निकै पछि मात्र मेरो चेतनाले स्विकारेको थियो ।” उत्पला सबै कुरा सुनाउन चाहन्थी तर हिम्मत जुटेन ।

‘सान्निध्यतामा पनि डर !’ अचम्म थियो । उसको व्यक्तित्व नै त्यस्तै थियो । प्रतिक्रियाविहीन उसको स्वभावले पनि उत्पला मनमा आएका सबै कुरा भन्न सक्तिनथी— डराउँथी सायद । सर्तक हुन्थी ।

‘मृग घाइते भएको खबर आएको थियो मसँग, जति बेला पहिलोपटक विदेश विभागको कार्यक्रममा हाम्रो भेट भएको थियो ।’ उमङ्गलाई प्रेमाक्षापूर्ण नजरले हेरी उसले ।

मुटुको ढोका खोलेको दिन थियो त्यो सायद प्रेमले । देखिने गरी खोल्ने समय थिएन । उसको अवचेतनले थोरै चर बाँकी नै राखेर ढोका अस्थायी रूपमा बन्द गरेको थियो किनकि चेतन मन भनिरहेथ्यो— प्रेम र गृहस्थी होइन, पूर्णकालीन राजनीतिमा लाग्नुपर्छ ।

जबाफमा उमङ्गले भन्यो— “त्यो सन्दर्भ बिर्सिएँछु ।”

उत्पलाका स्मृतिपटलमा अङ्कित मीठा अनुभूतिहरू उमङ्ग सधैँ बिर्सन्थ्यो । उत्पला प्राथमिकतामा थिइन तर यसलाई ऊ जबरस्त मान्दिनथी ।

उमङ्गसँगका भेटघाट सन्दर्भ र वार्तालापहरू सबै ताजा छन् उसको मानसपटलमा । समय, प्रसङ्ग अनि तात्कालिक परिवेशमा अभिव्यक्त शब्दहरू ।

‘किन यसरी ससाना, झिनामसिना प्रसङ्ग र भेटघाटका विषय पनि यति सम्झनायुक्त भएका ? महत्त्वपूर्ण भएर ?’ परीक्षाका नमुना प्रश्न र उत्तर जस्तो, जसलाई कण्ठस्थ गर्नुपर्ने बाध्यता हुन्थ्यो ।

उत्पला कहिलेकाहीँ सोच्थी— एसएलसी दिने बेला किन ज्यामितिका सिद्धान्तहरू यसरी स्मृतिमा बसेनन् ?

ज्यामितिको वृत्तचित्रभन्दा पनि कच्याककुच्चुक परेका मोड र घुम्तीहरु अनि ओरालो र भिरालोका प्रसङ्ग किन निरन्तर आइरहन्छन् स्मृतिपटलमा । मन परेका अनि मन नपरेका, खुसीका अनि दुखका, चित्त बुझेका अनि चित्त दुखेका सबै कुरा सम्झनामा खात परेर बसेका छन् ।

‘मुलुकका राजनीतिक घटना क्रम, विपक्षी पार्टी र नेताका कर्तुतहरू, उनीहरूका नराम्रा कुराहरू यसरी नै फटाफट सम्झने गरेर दिमागमा बस्नु नि ? अनि न विपक्षीलाई ठाउँका ठाउँ ठहरै पार्ने गरी भाषण ठोकिन्थ्यो ।’ कहिलेकाँही आफैसँग रिसाउँथी ऊ ।

प्रेम गर्ने बेलामा राजनीति गरी । राजनीति गर्ने बेलामा प्रेम गर्ने मन छ । १३ वर्षकी किशोरी राजनीतिमा होमिएकी थिई । जवानीसँगै आएका अनेक प्रेम प्रस्तावहरू पर राखेर गृहस्थी अस्वीकार गर्दै राजनीतिलाई काखी च्यापी । प्रेरणाको स्रोत थियो उमङ्ग । राजनीतिको आदर्श कति बेला प्रेममा परिणत भयो, पत्तोसम्म पाइन उसले । सायद पहिलो भेटमै उसको अवचेतनमा उमङ्गप्रतिको प्रेम अङ्कुराएको हुनुपर्छ । तर, ऊ यो कुरा पटक्कै स्वीकार्दिन ।

महिलालाई राजनीति गर्न कम्ता गाह्रो थिएन । कति बेला, कसको, के माग आउने हो ? कति बेला कसका पछाडि आफ्नो नाम जोडिने हो ? अनि कति बेला प्रतिस्पर्धी र विरोधीको चक्रव्यूहमा परिने हो ? राजनीतिक व्यक्तित्व भएकाले सबैसँग समदूरीमा बस्नुपर्ने बाध्यता भए पनि उसको मनले कुनै पुरुषलाई यति नजिक अनुभूत गर्न दिएको थिएन, जति उमङ्गलाई छुट थियो ।

हाँसेर बोलिदिँदैमा आफूलाई अधिनायकत्वको रूपमा अघिसार्ने पुरुषहरूको जमातभन्दा भिन्न थियो उमङ्ग । आममहिलालाई हेर्ने उसको दृष्टिकोण र व्यक्त सम्मानबाट उत्पला निकै प्रभावित थिई— कोही पुरुष महिलालाई यतिबिघ्न सम्मानको नजरले हेर्न सक्छ ?

सुरु सुरुमा उसलाई पनि विश्वास लागेन । अनुभवी माझी रहेछ भन्ने पनि सोची तर ऊ बिस्तारै फरक निस्कियो । आमपुरुषभन्दा भिन्न स्वभावकै कारण उमङ्ग उत्पलाको नजरमा आदर्श व्यक्तिमा परेको थियो ।

लामो राजनीतिक यात्रामा उसले कहिल्यै आफू अपमानित भएको, हेपिएको महसुस गरिनँ । सहयोगी भावले उद्वेलित उमङ्गसँगको राजनीतिक यात्राको भविष्य सुनौलो अनि थप सुरक्षित महसुस गर्न थालेकी थिई । वडादेखि केन्द्रीय तहसम्म आउँदा आपसी मित्रता र सहकार्यको गोरेटो विस्तार हुँदै थियो । तर, कुनै पनि विषयमा तत्काल प्रतिक्रिया नदिने उमङ्गको अन्तरमुखी स्वभावले उत्पलालाई कहिलेकाहीँ निकै दुखी बनाउँथ्यो । कैयौँ रात आँखा झिमिक्क नगरीकनै कटाएकी छे उसले । जब उमङ्ग अगाडि आइपुग्थ्यो, ऊ सम्पूर्ण असन्तुष्टि र गुनासाहरू बिर्सन्थी ।

०००

‘मलाई समय दिने भनेको कति दिन भो ?’ दुई दिनसम्म रेस्पोन्स नआएपछि उत्पलाले फेरि म्यासेज गरी ।

‘बाँकी दश दिन छ । मात्रै दुई दिन भयो ।’

‘त्यतिन्जेल कोरोना नलागी बाँचिएला ?’

‘बाँच्नुपर्छ ।’

‘गाह्रो छ ।’

उत्पला केही दिनदेखि ज्वरोले थलिएकी थिई । आत्मविश्वास कमजोर हुँदै थियो । खोकी पनि त्यस्तै । सासै फुस्केला जस्तो निरन्तर खोकी तर वार्तालापलाई निरन्तरता दिइरहेका थिए उसका औँलाहरूले । मोबाइलको किप्याड थिचिरहे स्वचालित रूपमा ।

‘ईश्वरले भनेको, अब कोरोनालाई लिभिङ टुगेदरमा लैजानु रे !’ उमङ्गले व्यङ्ग्य गर्‍यो ।

‘कम्युनिस्टको ईश्वर फेक हो । जहाँ कम्युनिस्ट शासन छ, त्यहाँ ईश्वर छैन । तर, तिमीले मेरो म्यासेजको रिप्लाई गर्न किन यतिका समय लाएको ? एक महिनामा रिप्लाई आउँछ यार !’ दिक्दारी पोखी उत्पलाले ।

‘मान्छेहरू ६ महिनासम्म रिप्लाई पाउँदैनन् उमङ्गको । तिमीले अहिलेसम्म तत्काल पाएकी छौ ।’

‘है ? कस्तो लभ्ली मान्छे !’ अन्तरस्करणमा सुषुप्त चाहनाको थोरै पोयो फुकाई उसले ।

‘यस्तो भन्दा त कस्तो आफ्नो जस्तो लाग्ने !’ उमङ्ग पनि मुडमा थियो क्यारे । रोमान्टिक शैलीमा जबाफ दियो ।

‘लाग्ने मात्रै । होचाँहि होइन । केयरफुल !’ उत्पलाले व्यङ्ग्य हानी । प्रतिक्रिया शून्य, उसको स्वभावका अगाडि यस पटक पनि उत्पलाले मज्जाको घुर्की तेछ्र्याई ।

‘आई नो, फेक न्युज जस्तो । न्युज जस्तो तर होइन….’ उमङ्गले हाँसेको इमोजी पठायो ।

उमङ्गले तुरुन्तै एक–दुइटा समाचारका लिङ्क पठायो— ‘२१ औँ शताब्दीका समाचार यस्ता हुन्छन् । तिमी जस्तै ।’

‘म फेक ?’ उत्पलाले प्रश्नवाचक इमोजी पठाई ।

‘होइन, तिमीलाई आफ्नो जस्तै लाग्नु फेक ।’

‘तिम्रो कुराले आज मै जिल खाएँ ।’ उमङ्गसँगको कुराकानीमा ऊ सक्रिय हुँदै गएकी थिई । पूरै स्वस्थ भएको अनुभूति गरी ।

‘पर्खिनुपर्छ, यस्ता समय अझै धेरै आउँछन् । अझै कैयौँ पटक तिमीले जिल खानुपर्छ ।’ जबाफसँगै उमङ्ग अफलाइन भयो ।

केही बेअघि पूरै स्वस्थ भएको अनुभूति गरेकी उत्पलाको टाउको अचानक टनटनी दुख्न थाल्यो । ज्वरो पनि ह्वात्तै बढ्यो । एकछिन विश्राम लिएको खोकीले फेरि आफ्नो रूप देखाउन थाल्यो ।

झन्डै दुई साता थला परेकी उत्पला अलि तङ्ग्रिएकी छ । कमजोर भए पनि चुनाव हो, गाउँ त आउनै पर्‍यो । त्यस दिनदेखि उमङ्गसँग कुराकानी पनि भएको छैन । प्रत्यक्ष भेट त के, भर्चुअल संवाद पनि टुटेको थियो ।

ऊ आफ्नो क्षेत्रमा आउँदा पनि जानकारी गराउन पाएकी थिइन । पछि थाहा भयो— उमङ्ग पनि गाउँ आउँदै छ । ‘भोलि गाउँमा ठूलो सभा छ, सभालाई उमङ्गले सम्बोधन गर्दै छ’ भन्ने खबरले ऊ त्यसै त्यसै दङ्ग परेकी थिई । तर आज पनि उसका कैयौँ म्यासेजहरूले उमङ्गको सम्बोधन कुरिरहेका थिए ।

‘पर्खिनुपर्छ यस्ता समय अझै धेरै आउँछन् । अझै कैयौँ पटक तिमीले जिल खानुपर्छ !’ उमङ्गको अन्तिम जबाफले उसलाई बिथोलिरहन्छ घरी घरी । तर, हृदयमा घर बनाइसकेको उमङ्गको छायाले उसलाई कहीँ गए पनि छोड्न सकेको छैन । आफ्ना म्यासेजको जबाफ नआउँदा हिनताबोध भयो उसलाई — यस्तो अपमान कसैले गरेको थिएन । हुन त ऊ सामाजिक सञ्जाललाई आफ्नो अनुकूलतामा प्रयोग गर्थी । कैयौँ म्यासेजहरूको वर्षौंसम्म पनि जबाफ दिन्नथी । वास्तवमा आफ्नो आवश्यकता र सरोकारवालाको म्यासेज मात्रै सम्बोधन गर्ने गर्थी ऊ ।

‘सामाजिक सञ्जाल मेरो सहजताका लागि हो, अरूको चासो र जिज्ञासा सम्बोधनका लागि होइन ।’ उसको बुझाइ यही थियो तर उमङ्गको म्यासेजको तत्काल रिप्लाई गर्थी जतिसुकै व्यस्त भए पनि ।

एकपटक पार्टीको विदेश विभागको कार्यक्रम चलिरहेको थियो । कार्यक्रममा सहजकर्ताको भूमिका निर्वाह गरिरहँदा पनि अलिकति समय चोरेर उससँगको च्याटलाई निरन्तरता दिएकी थिई । कार्यक्रमको बिचमा चोरेको समयमा भएको वार्तालापले उसलाई बिथोलेको थिएन बरु ऊर्जा थपेको थियो । उत्साह र ऊर्जाका साथ उसले कार्यक्रम सम्पन्न गरेकी थिई । उमङ्ग उत्पलाबाट सबै गोप्य सूचना, जानकारी लिन्थ्यो तर आफू भने केही फुत्किन दिँदैनथ्यो । आफ्ना कुरा लिनका लागि ऊ घण्टौँ कुरा गथ्र्यो उत्पलासँग । विषय र प्रसङ्गहरू कोट्याइरहन्थ्यो, जबसम्म आफूले खोजेको कुरा पाउँदैन्थ्यो । तर, उत्पलाको सरोकारलाई भने कहिल्यै वास्ता गर्दैनथ्यो ।

०००

सम्बोधन सकेर उमङ्गको लावालस्कर उत्पलाको अगिल्तिरैबाट बाहिरियो ।

वरपरकाहरू कानेखुसी गर्न थाले—

‘उत्पलासँग त बोल्दै नबोली गए त मन्त्री !’

‘मञ्चमा पनि बोलेको देखिएन ।’

‘हो त, उत्पलातिर छड्के नजरसम्म पुर्‍याएनन् ।’

ठूलो सभामा भएको कानेखुसी कानकानमा मात्र सीमित रहेन । हावामार्पmत ठोक्कियो उत्पलाको कानसम्म ।

अनायासै उत्पलाको मनमा पहिरो खस्यो, जब उसका नजर उमङ्गका ओठमा परे । जरोले थलिएको बिरामीका जस्ता उसका ओठमा गएर उत्पलाका आँखा अडिए । सुक्खा, पूरै शुष्क । कतै पाप्रा उप्किएका त कतै बाक्ला पाप्रा बसेको । त्यस्ता कलकलाउँदा ओठ किन यसरी सुक्खा ? पानीको अभावमा धान रोपेको खेत बिच बिचमा चर्किए जस्तो देखी उसले । विक्षिप्त मन चिसियो अनि एकैछिनमा जम्यो हिउँजसरी ।

उमङ्गका ओठ सधैँ रसिला देख्थी ऊ । चिस्यान र आद्र्रता महसुस गर्न भने पाएकी थिइन ।

‘दुनियाँ जितौला तर मलाई जित्न सक्तैनौ किनकि तिम्रो जितका लागि म सधैँ हार स्वीकार्न उद्यत छु ।’ भित्रभित्रै फुसफुसाई ऊ— ‘पतिपत्नीको प्रेममा साहित्य लेखिएन । पतिपत्नीको प्रेममा गाथा रचिएन । साहित्य सिर्जना हुन्छ गोप्य प्रेमबारे । प्रेम वियोग अमर गाथा बन्छ ।’

बेपरवाह उमङ्ग गएको दिशामा हेर्दै मन्द मुस्कुराई रही उत्पला ।

‘पार्टीले दिने टिकट होइन मेरो प्रेम, जहाँ तिम्रो स्वीकृति आवश्यक परोेस् । औपचारिक बन्धन छैन । जसलाई प्रेम गर्छु, उही अनभिज्ञ छ । न प्राप्तिको लालसा छ, न त सम्बोधन र प्रतिक्रियाको नै । सायद यसैलाई प्रेम भनिन्छ । लुकीछिपी गर्ने प्रेमले कम्ती आनन्द दिन्छ र ! मेरो प्रेम, मेरो ऊर्जा, मेरो उत्साह, मेरो प्रेरणा, सब थोक हौ तिमी । फेरि पनि मेरो प्रेम आत्मनिर्भर छ अनि शक्तिशाली पनि । मेरो प्रेमबारे तिमी जानकार भएको भए यति आनन्द कहाँ आउँथ्यो ? सूर्यलाई कहाँ थाहा हुन्छ र उसको न्यानो स्पर्शको महत्त्व । ऊ सधैँ सोचिरहन्छ— मेरो तापले मानिस र पृथ्वीलाई पोल्छ, सबै प्राणी आत्तिन्छन्, छटपटाउँछन् । तर, सत्य यो पनि हो कि सूर्यको न्यायो स्पर्शका लागि मानिसहरू तड्पिरहेका हुन्छन्, छटपटाइरहन्छन् ।’

सुनसान सभास्थलमा उत्पलाको हृदय भने आँधीबेहरीमा लपेटिन थाल्यो । वरपर कोही थिएन तर उत्पलाको मन भने मन्त्री उमङ्गलाई होइन, घाइते मृगलाई खोजिरहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *