यु-२३ फुटबल: इन्डोनेसियासँग २-० ले हार्यो नेपाल


काठमाडौं । नेपाली यु-२३ राष्ट्रिय फुटबल टोली इन्डोनेसियाको यु-२३ टोलीसँग २-० गोलको नजितामा पराजित भएको छ ।
एएफसी यु-२३ एसियन कप छनोटको तयारी स्वरुप ताजिकिस्तानमा शुक्रबार साँझ भएको खेलको पहिलो हाफमा गोल रहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा दुई गोल खायो ।
खेलको ५०औं मिनेटमा हानिस साघराले गोल गर्दै इन्डोनेसियालाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुआतमै गोल खाएको नेपालले निर्धारित ९० मिनेटसम्म बराबरीका लागि प्रयास गरेको थियो ।
तर, इन्जुरी समयमा विटान सुलेमानले दोस्रो गोल गर्दै इन्डोनेसियाको अग्रता दोब्बर पारे । गोलका केही अवसर सृजना गरे पनि सदुपयोग गर्न नसक्दा नेपाली टोलीले पराजित हुनुपर्यो ।
एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्दै छ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा प्रतिस्पर्धा गर्दा समूह को अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्ने छ ।
छनोटका ११ समूहको शीर्ष टोली सहित उत्कृष्ट चार टोलीले एएफसी यु-२३ एसियन कप खेल्ने मौका पाउनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म आयोजना हुँदैछ ।
नेपाली टोलीमा अर्पण कार्की, विशाल सुनार, अविशेक बराल, सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, रन्दीप पौडेल, अनिल महर्जन, अविशेक लिम्बु, नितिन थापा, सुरज जेउ ठकुरी, आयुस घलान, शेशेहाङ आङ्देम्बे, राजिब लोप्चन, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहरी, ऋतिक खड्का, मनिष डाँगी, अविशेक रिजाल, दर्शन गुरुङ, एरिक विष्ट छन् ।