सीके राउतका कार्यकर्ताविरुद्ध प्रदर्शन, जनकपुर तनावग्रस्त (तस्बिरहरू) – Nepal Press

सीके राउतका कार्यकर्ताविरुद्ध प्रदर्शन, जनकपुर तनावग्रस्त (तस्बिरहरू)

जनकपुरधाम । भ्रष्टाचार गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले खानेपानीका हाकिमलाई दुर्व्यवहार गरेको विरोधमा जनकपुरमा प्रदर्शन गरिएको छ ।

खानेपानी तथा ढल निकास आयोजना प्रमुख राजेश्वर कुशवाहामाथि सार्वजनिक स्थलमा दुर्व्यवहार गरेपछि सामाजिक सञ्जालमा विरोध बढको छ । जनकारवाहीको नाममा आतंक मच्चाएको भन्दै जनमत पार्टीविरुद्ध इञ्जिनियरहरूको संगठन नेशनल इञ्जिनियर्स एसोसिएसन नेपालले सडकमा जुलुस निकालेको छ ।

हिजो र आज इञ्जिनियरहरूले जनकपुरधाममा प्रदर्शन गर्दै डा. राउतको इञ्जिनियर काउन्सिल सदस्यता खारेजको माग गरेका छन् । प्रमुख कुशवाहालाई दुर्व्यवहार गर्ने राउतका कार्यकर्तामाथि कारवाही गर्न स्थानीय प्रशासनसँग उनीहरूको माग छ ।

प्रमुख कुशवाहामाथि दुर्व्यवहारको आरोपमा जनमतका ६२ कार्यकर्तालाई पक्राउ गरिएको थियो । तीमध्ये १७ जनालाई धनुषा प्रहरीले मुद्दा चलाएको छ ।

आफ्ना कार्यकर्तालाई छाड्नुपर्ने माग गर्दै राउतका कार्यकर्ताहरूले हातमा भाटा लिएर प्रदर्शन गरेका छन् । राउतका कार्यकर्ताहरु र ईन्जिनियरहरु आमने-सामने भएपछि अवस्था तनावग्रस्त बनेको थियो । तर, सुरक्षाकर्मी धेरै परिचालन भएका कारण झडप भएन ।

पछि राउतका कार्यकर्ता जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगे । सो क्रममा उनीहरूमाथि प्रहरीले लाठी चार्ज गरेको छ । प्रहरीको लाठीबाट एक दर्जन प्रदर्शनकारी घाइते भएको बताइएको छ । प्रदर्शनकारीले बोकेको बाँसको भाटा र व्यानर समेत प्रहरीले खोसेका छन् ।
अहिले जनकपुरको विभिन्न चोकमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । प्रदर्शन गर्न गाउँघरबाट आएका राउतका कार्यकर्ताहरुको दर्जनौं मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर