‘१३ वर्षदेखिको सपना पूरा भयो, नेपालका लागि केही गर्छु भन्ने छ’ – Nepal Press

‘१३ वर्षदेखिको सपना पूरा भयो, नेपालका लागि केही गर्छु भन्ने छ’

काठमाडौं । इटलीबाट ए डिभिजन लिग खेल्न काठमाडौं आएका विकास मेराग्लीयाले नेपाल आउने १३ वर्षदेखिको सपना पूरा भएको भन्दै खुसी व्यक्त गरेका छन् । नेपालमा फुटबल खेल्नका लागि आफू उत्साहित रहेको उनले प्रतिक्रिया दिए ।

नेपाल प्रेससँग कुरा गर्दै विकासले भने, ‘फ्लाइट थकानपूर्ण भयो । यति लामो होला जस्तो लागको थिएन । अहिले चाहिँ स्वतन्त्र भएको महसुस गरेको छु ।’

नेपालको राष्ट्रिय टोलीबाट खेल्ने अवसर मिल्यो भने तयार हुनुहुन्छ ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘यस्तो अवसर आयो भने खुशी हुनेछु । यहीँ बसेर यो गर्छु, त्यो गर्छु भन्ने सोचेको छैन । केही निर्णय लिएको छैन । यहाँको वातावरण हेरेर निर्णय गर्नेछु ।’

आफू बसिरहेको देश इटाली मनपर्ने भए पनि मुटुमा नेपालका लागि केही गर्नुपर्छ भन्ने भाव आइरहेको उनले बताए । ‘१३ वर्षअघि मुटुमा नेपाललाई लिएर इटली गएको थिएँ । त्यहाँ पुगेदेखि नै कसरी नेपाल फर्किन सक्छु भन्ने सोचिरहन्थेँ,’ उनले भने ।

अहिले नेपाली फुटबल आफूले हेर्ने गरेको विकासले बताए ।

उनले भने, ‘पहिले नेपाली फुटबल कसरी हेर्ने भन्ने थाहा थिएन । तर अहिले हेरिरहेको छु । खुसी लागेको छ ।’ उनले आफू फुटबल खेल्नकै लागि अहिले नेपाल आएको स्पष्ट पारे ।

‘त्यो बाहेक मेरो अर्को उद्देश्य पनि छ, त्यो अहिले म खुलाउन सक्दिन । उचित समयमा खुलाउने छु,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर