विकासले च्यासलबाट ‘ए’ डिभिजन लिग खेल्ने – Nepal Press

विकासले च्यासलबाट ‘ए’ डिभिजन लिग खेल्ने

काठमाडौं । नेपाली मूलका इटालीयन फुटबलर विकास मेराग्लियाले च्यासय युथ क्लबबाट आसन्न शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने भएका छन् । इटालीयन क्लब एटलान्टालगायत टोलीबाट युरोपेली फुटबलको स्वाद लिइसकेका विकास यसै साता नेपाल आएका थिए ।

च्यासल युथ क्लबका अध्यक्ष रमेश व्यन्जनकार र विकासले हस्ताक्षर गरे । च्यासल मैदानमा आयोजिक पत्रकार सम्मेलनमा हस्ताक्षर सम्पन्न गरिएको हो ।

हुनत, विकास नेपाल नआउँदै उनीसँग सम्बन्धित ‘रुमर’ले नेपाली फुटबल जगतमा तरंग पैदा भएको थियो । र, त्यो अझै जारी छ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूले ओभरसिज खेलाडीसँग कुरा गरेको भन्दै विकासतर्फ संकेत गरेपछि उनको बहस सामाजिक सञ्जालमा छताछुल्ल भएको थियो ।

त्यसैबीच विकास नेपाल आएसँगै उनले राष्ट्रिय टोलीबाट खेल्ने वा नेपालको यु-२३ टोलीबाट एएफसी एसियन कप खेल्ने चर्चा पनि चलेको थियो । तर, ती सबै ‘रुमर्स’विपरित च्यासल युथ क्लबले उनलाई विदेशी खेलाडीको रूपमा सार्वजनिक गरेसँगै उनी नेपाल आउनुको वास्तविक कारण सतहमा आएको छ ।

विभिन्न अड्कलबाजीविपरीत च्यासलले उनलाई क्लबको खेलाडीको रूपमा सार्वजनिक गरेको हो । विकास मंगलबार राति इटालीबाट काठमाडौं आइपुगेका थिए । फ्लाइ दुबईमार्फत काठमाडौं आइपुगेका विकासलाई च्यासल युथ क्लबका पदाधिकारीले स्वागत गरे पनि सार्वजनिक गरिएको थिएन ।

सन् २००८ मा इटालीयन एक दम्पतीले विकासलाई इटाली पुर्‍याएका थिए । ६ वर्षको उमेरमा इटाली पुगेका विकासले त्यहाँको शीर्ष डिभिजनको क्लब- एटलान्टासम्मका फुटबल यात्रा तय गरिसकेका छन् । त्यहीँ रहेर इटालियन उमेर समूहबाट युरोपियन च्याम्पियसिप खेलिसकेका विकासलाई केही समयअघि नेपाल सुपर लिग (एनएसएल)का लागि नेपाल बोलाउने चर्चा पनि चलेको थियो । तर, त्यो समय विकास आउने चर्चा चर्चामै सीमित भएको थियो ।

ट्रान्सफर मार्केटको डेटाअनुसार विकासले सन् २०१७ को अक्टोबर १७ मा इटालियन यु-१६ टोलीमा डेब्यु गरेका थिए । सन् २०१८ देखि २०२१ सम्ममा विकासले इटालीका एटलान्टा युथ, एटलान्टा यु-१७, एटलान्टा यु-१९, भेनेजिया यु-१९, एटलान्टा यु-१९ र क्याटोलिका, मेरिग्लियान्सबाट खेलेका छन् ।

मंगलबार काठमाडौं आइपुगेका विकासले केहीबेरपछि फेसबुकमा पोस्ट गर्दै आफूलाई माया गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

‘मप्रति देखाउनु भएको मायाका लागि सबैलाई धन्यवाद,’ उनले लेखेका छन्, ‘म यो क्षणको बयान गर्न सक्दिन । म १३ वर्षपछि नेपाल फर्किएको छु ।’

शहीद स्मारक ‘ए’ कात्तिक २९ गतेदेखि सुरु हुँदैछ । यसका लागि क्लबहरूले लगातार खेलाडीहरू भित्र्याइरहेका छन् । च्यासलबाट आगामी सिजन पूर्वराष्ट्रिय टोलीका कप्तान विराज महर्जनले खेल्ने निश्चित भइसकेको छ ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *