प्रदेश १ : विश्वासको मतसम्बन्धी प्रस्ताव आजै टेबल हुने – Nepal Press

प्रदेश १ : विश्वासको मतसम्बन्धी प्रस्ताव आजै टेबल हुने

इटहरी । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार विश्वासको मत लिने भएका छन् । उनको विश्वासको मतसम्बन्धी प्रस्ताव आजै प्रदेशसभामा टेबल हुने भएको छ ।

मुख्यमन्त्री आचार्यले २५ असोजमा प्रदेशसभा सचिवालयमा विश्वासको मत प्रस्ताव दर्ता गराएका थिए ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले केहीबेरमा बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस हुने निर्णय गरेको छ । आज बस्ने प्रदेशसभाको बैठकमा प्रस्ताव टेबल हुने एमालेका सांसद लिलम बस्नेतले जानकारी दिए । मतदान कहिले हुने भन्नेमा भने टुंगो नलागिसकेको उनले बताए ।

बस्नेतले नेपाल प्रेससँग भने, ‘पक्ष विपक्षको मतदान भने कात्तिक ७ वा ११ गते हुने देखिन्छ ।’ गत भदौ १० गते आचार्य मुख्यमन्त्री बनेका थिए ।

प्रदेश १ मा नेकपा (एस) का संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने नेकपा (एस) र माओवादीमा सर्वसम्मत जस्तै छ । केन्द्रीय सत्ता गठबन्धनबीच पनि प्रदेश १ मा नेकपा एसलाई मुख्यमन्त्री दिने सहमति भइसकेको छ । तर, नेपाली कांग्रेसमा भने आफ्नै मुख्यमन्त्री बनाउनुपर्ने माग बढ्दो क्रममा रहेको छ ।

दसैँको शुभकामना कार्यक्रममा इटहरी आएका रक्षामन्त्री मिनेन्द्र रिजालले कांग्रेस संसदीय दलका नेता राजीव कोइराला मुख्यमन्त्री बन्नुपर्ने बताएका थिए । यस्तै शेखर कोइरालालगायतका ‘हेभिवेट’ कांग्रेस नेताहरू प्रदेश १ को मुख्यमन्त्री राजिव कोइराला हुनुपर्ने सार्वजनिक मन्तव्य दिदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर