शोभित बस्नेतको प्रश्न : ‘महानायक’ का म्युजिक भिडिओ खोइ ट्रेन्डिङमा ? – Nepal Press

शोभित बस्नेतको प्रश्न : ‘महानायक’ का म्युजिक भिडिओ खोइ ट्रेन्डिङमा ?

‘डाँडाको बरपिपल’ ले ओटीटी प्लेटफर्मबाट कमाउँछ’

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका एक चिरपरिचित अनुहार हुन् शोभित बस्नेत । पछिल्लो समय ‘महानायक काण्ड’ ले त उनलाई सामाजिक सञ्जालमा भाइरल नै बनाइदिएको छ ।

नेपाली चलचित्रका महानायक राजेश हमाल नभएर भुवन केसी हुन् भन्दै अन्तरर्वार्ता दिएपछि हमालका फ्यानहरुको निशानामा परे बस्नेत । उनीमाथि चौतर्फी आक्रमण मात्रै सुरु भएन, यसको गहिरो असर उनले निर्देशन गरेको फिल्म ‘डाँडाको बरपिपल’ मा पर्न गएको छ । युट्यूवमा दर्शकले यो चलचित्रका हरेक सामग्रीमा डिस्लाइकको अभियानै चलाएका छन् ।

दसैँ छेकोमा यो चलचित्र हलमा रिलिज गरिएको थियो । तर, फिल्मले पानी पनि भन्न पाएन । चलचित्र हेर्न आएका दर्शक औंलामा गन्न सकिने संख्यामा थिए । हलबाट खासै आम्दानी भएन । लामो समयपछि खुलेका हलमा दर्शक पर्खाउनका लागि ‘डाँडाको बरपिपल’ ले ढोका खोल्ने अपेक्षा गरिएको थियो । तर, यस चलचित्रको असफलताले अझै लामो समय चलचित्र क्षेत्र बौरिन नसक्ने संकेत गरेको छ ।

के महानायक काण्डको असरले नै फिल्म सुपरफ्लप भएको हो त ? निर्देशक बस्नेत स्वीकार्दैनन् । यो चलचित्र हलमा चल्दैन भन्ने आफूलाई पहिल्यै थाहा भएको उनको भनाइ छ ।

‘डाँडाको बरिपपल’को ठाउँमा ए बी सी जुनसुकै चलचित्र रिलिज गरिएको भए पनि अवस्था यही हुने थियो,’ बस्नेतले ठोकुवा गर्दै भने, ‘अझै एक वर्षसम्म दर्शकहरु चलचित्र हेर्न हलमा आउँदैनन् । अब रिलिज हुने फिल्महरुको अवस्था पनि यही नै हुने हो ।’

महानायकको आतंक फैलाएर आफ्नो चलचित्रविरुद्ध माहोल बनाउनेलाई भविष्यमा राजेश हमालको हिट बनाएर देखाउन उनले चुनौति दिए । ‘यस्तै कन्डिसनमा राजेश हमालका फिल्म हेर्न दर्शक हलमा आउनुभयो भने मान्छु,’ उनले भने, ‘तर, महानायकले खेलेका म्युजिक भिडियो ट्रेन्डिङको टप ५० मा पनि किन नआएका ? उहाँले चलाएका टेलिभिजन प्रोग्राम किन सुपरहिट नभएका ?’

कोरोनाको कहर पुर्णरुपमा शान्त भएर जनजीवन सामान्य भएपछि मात्रै दर्शक हलमा आउने उनको भनाइ छ ।

दर्शकले हेर्दैनन् भन्ने थाहा हुँदाहुँदै किन चलचित्र बनाएको त भन्ने प्रश्नमा बस्नेतले जवाफ दिए, ‘खासमा यो चलचित्र हलका लागि भएर ओटीटी प्लेटफर्मका लागि बनाइएको हो । लामो समयदेखि ठप्प रहेको चलचित्र क्षेत्र चलायमान बन्न थालेको सन्देश दिनका लागि मात्रै हामीले हलमा लगाएका हौं । र, यो सन्देश दिन हामी सफल पनि भएका छौं ।’

डाँडाको वरपिपलको निर्माण बुढासुब्बा डिजिटलले गरेको हो । चलचित्रमा करिब ७५ लाख लगानी भएको बस्नेतले जानकारी दिए । साथै, चलचित्रलाई नेपाल चलचित्र विकास बोर्डले करिब ७ लाख रुपैयाँ निर्माण अनुदान समेत दिएको उनले बताए ।

हलबाट भएको आम्दानीबारे उनले जानकारी दिन चाहेनन् । ‘हलबाट केकति भयो भन्ने रिपोर्ट आइसकेको छैन, तर दर्शक नै नआपपछि उल्लेख्य आम्दानी हुने कुरा भएन,’ उनले भने, ‘हलबाट जति आउँछ, त्यो बोनस हो ।’

हलबाट कमाइ नभए पनि ओटीटीबाट लगानी रिकभर हुन सक्ने उनको दावी छ । ‘बुढासुब्बाले नै मलाई अर्को चलचित्र बनाउनका लागि प्रस्ताव गरेको छ र मैले तयारी पनि गरिसकेको छु,’ उनले सुनाए, ‘यदि फाइदा नभएको भए किन फेरि अर्को चलचित्र बनाउन तम्सिन्थ्यो होला र रु’

आफूले बनाउने नयाँ चलचित्रमा डाँडाको वरपिपलकै जोडी सलोन बस्नेत र रुबिना थापालाई दोहोर्याउने उनले बताए । महानायक काण्डपछि शोभितका छोरा सलोनको करिअर पनि धरापमा परेको चर्चा भइरहेको छ । तर शोभित स्वीकार्दैनन् ।

उनले भने, ‘सलोनलाई केही असर गर्दैन, उसले २–३ वटा नयाँ चलचित्र साइन गरिसकेको छ ।’ महानायक काण्ड अझै सेलाइसकेको छैन । यो बीचमा शोभित बस्नेतले हमालका फ्यानहरुबाट कति गाली खाए कति । उनीहरुलाई फकाउनका लागि बस्नेतले हमाललाई महानायक स्वीकार्दै उनको फोटोलाई प्रमुख अतिथि बनाएर कार्यक्रम पनि गरे । तर, पनि हमालका फ्यानको क्रोध शान्त भएको छैन ।

बस्नेत यसलाई ‘आतंक’ को संज्ञा दिन्छन् । ‘यो काण्ड-सान्ड भन्दा पनि आतंक हो, तर मलाई यस्तो कुराले डग्मगाउँदैन,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *