जोगले हुन्छ भेट : ३७ वर्षपछि काठमाडौंले जुरायो अनुपम र फेलोसिटीको भेट ! – Nepal Press

जोगले हुन्छ भेट : ३७ वर्षपछि काठमाडौंले जुरायो अनुपम र फेलोसिटीको भेट !

काठमाडौं । सन् १९८४ मा मुम्बइमा छायांकन भैरहेको अनुपम खेर अभिनित फिल्म ‘जीवनसन्ध्या’को सुटिङ सेटमा पुगेर एक विदेशी केटीले आफूलाई सुहाउने भूमिका दिन आग्रह गरेकी थिइन् ।

ती १९ वर्षे ठिटीलाई अभिनेता खेरले आगामी फिल्महरुमा सुहाउने भूमिकामा रोल दिने भन्दै फकाएका थिए । त्यसपछि ती ठिटी र खेरबीच भेटघाट भएन ।

३७ वर्षपछि तिनै ठिटीलाई अभिनेता खेरले यसैसाता काठमाडौंमा भेटे । ती ठिटी यतिबेला नेपालका लागि अष्ट्रेलियाली राजदूत पदमा छिन् । उनी अर्थात फेलोसिटी भल्क ।

राजदूत भल्क र अभिनेता खेरले यसैसाता भएको काठमाडौं भेटमा ‘जीवनसन्ध्या’ फिल्म छायांकन बेलाको मुम्बइ सम्झिए अनि नोस्टाल्जिक भए । दुबैले झन्डै चार दशक पुरानो त्यो क्षण सम्झिए अनि भावुक बने ।

‘निकै खुशि महसुस भयो’ भल्कलाई भेटेपछि खेरले ट्वीट गरेका छन् । राजदूत भल्कका दुई पुस्तक पनि प्रकाशित छन् । अनुपम खेरको अटोबायोग्राफी पनि प्रकाशित छ । यी दुई पुस्तक प्रेमीले पुस्तकबारे पनि गफगाफ गरे ।

राजदूत भल्कले अनुपमको पछिल्लो फिल्म ‘उचाइ’ हेर्न आफूलाई निकै आतुर भएको बताएकी छिन् । यही फिल्मका लागि अनुपम दुई सातादेखि नेपालमा छन् । लुक्ला, नाम्चेपछि चामेमा अहिले फिल्म सुटिङ भैरहेको छ ।

भेटमा राजदूत भल्कले अनुपमलाई आफूद्वारा लिखित पुस्तक पनि उपहार दिएकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *