महाधिवेशनस्थलमा एमालेको पत्रकार सम्मेलन, उदघाटन समारोहमा ५ लाख जनता उतार्ने – Nepal Press

महाधिवेशनस्थलमा एमालेको पत्रकार सम्मेलन, उदघाटन समारोहमा ५ लाख जनता उतार्ने

चितवन । नेकपा एमालेको १०औं महाधिवेशन चितवनमा गर्ने निर्णय भएलगत्तै स्थान छनोट कार्य तीव्र पारिएको छ । एमाले चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले एक हप्ताभित्र स्थान छनोट गरी केन्द्रमा सिफारिस गरिने बताए ।

‘भरतपुर महानगर आसपसकै ठाउँमा महाधिवेशन स्थल छनोट हुनेछ, उदघाटन सत्रमा कम्तिमा ५ लाख जना सहभागी बन्नेछन्,’ उनले भने, ‘उद्घाटन सत्र र बन्दसत्रका लागि उपयुक्त ठाउँ खोज्ने काम भइरहेको छ ।’

उनका अनुसार महाधिवेशनमा विधान महाधिवेशन सहभागी भएकामध्ये करिव ५० प्रतिशत प्रतिनिधि सहभागी हुनेछन् । ‘वागमती कमिटीले ३ गते चितवनमै गर्न सिफारिस गरेका थियौं, ४ गते स्थायी कमिटीले निर्णय ग¥यो,’ उनले भने, ‘बागमती प्रदेश र चितवनको सम्मान भएको छ, हामी महाधिवेशन सफल पार्न लाग्ने छौं ।’

उनले एमालेले एक्लै संसदीय चुनावमा बहुमत ल्याउने दावीसमेत गरे । ‘सत्ताधारी ५ दलीय गठबन्धनसँगै चुनावमा जाने कुरा सुनेका छौं, उहाँहरु नै एमाले कमजोर छैन भनिरहनुभएको छ,’ उनले भने, ‘भविष्यको राजनीति र सरकारको नेतृत्व गर्ने गरी बहुमत ल्याउनेछौं ।’

सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी अलग बनेकाले अब एमाले एक्लै चुनावमा जाने उनले बताए । ‘२०७४ मा संयुक्त वामगठबन्धनले जुन नतिजा ल्याएको थियो, अब एमालेले एक्लै त्यो भन्दा बढीको हैसियतका साथ निर्वाचनमा उपस्थिति जनाउने छ,’ उनले भने, ‘कम्युनिष्ट आन्दोलन जोगाउने कामको नेतृत्व पनि हामिले लिनेछौं ।’

एमालेको महाधिवेशन यहि मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुनेछ । एमाले चितवनका इन्चार्ज काशीनाथ अधिकारीले अनेक धक्का, विश्वासघात बाबजुत पनि एमाले शशक्त ढंगले अगाडि बढ्ने सन्देश महाधिवेशनले दिने बताए । देश बनाउने र समाजवादको यात्रामा जाने सामार्थ्य एमालेसँग मात्रै भएकाले जनताको विश्वास जित्ने दावी गरे ।

एमाले चितवनकी अध्यक्ष पार्वती रावलले चितवनका ९८ वडामा यहि ६ गते र ७ स्थानीय तहमा ९ गते पालिकास्तरको नेतृत्व सर्वसम्मत चयन गर्न लागिएको बताइन् । एमाले बागमती प्रदेश कमिटी सदस्य कृष्णभक्त पोखरेलले महाधिवेशन सफल पार्न जिल्ला कमिटी प्रतिवद्ध रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर