अनेरास्ववियु र राष्ट्रिय युवा संघद्वारा कैलालीका बाढी पीडितलाई राहत वितरण – Nepal Press

अनेरास्ववियु र राष्ट्रिय युवा संघद्वारा कैलालीका बाढी पीडितलाई राहत वितरण

कैलाली । लगातारको वर्षापछिको आएको बाढीले विस्थापित भएकाहरूलाई एमाले भातृ सङ्गठन अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताहरूले राहत वितरण गरेका छन् ।

कैलालीको टिकपुर नगरपालिका ८ बनगाउमा १५० घरपरिवारलाई राहत उपलब्ध गराएको हो । बाढीले हुलाकी सडक कटान गरेपछि उनीहरूले बोकेरै गाउँ सम्म पुगेर राहत हस्तान्तरण गरेका थिए ।

कैलालीमा सबै भन्दा धेरै क्षति पुराएको स्थानमा राहत वितरण गरिएको अनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाहले बताए ।

‘तत्कालको लागि स्थानीयलाई समस्या नहोस् भन्नको लागि हामीले राहत उपलब्ध गराएका हौं’ उनले भने, ‘कसैबाट पनि राहत नपाएको स्थानमा हामीले राहत वितरण गरेका हौं।’

उनले राहत पाउँदा स्थानीय निकै खुसी भएको बताए ।

‘त्यहाँ कसैले पनि अहिले सम्म पानी सम्म पाएका छैनौं भनेका थिए’ उनले भने, ‘हामीले दिएको राहतले उनीहरूलाई तत्कालको लागि भोक मेटिएको छ । ’

बाढी प्रभावित क्षेत्रमा स्वच्छ पिउने पानीको सबै भन्दा ठुलो समस्या रहेको छ । घरबार विहीन भएकाहरू दुई दिन सम्म भोकै रहेका बताएका थिए ।

अनेरास्ववियु र राष्ट्रिय युवा संघले उनीहरूलाई पिउने पानी, चाउचाउ, चिउरा, बिस्कुट र भुजा वितरण गरेको हो ।

‘विपद्को बेलामा सधैँ हामी अग्रपङ्क्तिमा हुन्छौं’ राष्ट्रिय युवा संघ कैलालीका अध्यक्ष गणेश महराले भने, ‘यस पटक पनि निकै समस्या भएका पीडितहरूलाई राहत उपलब्ध गरायौं ।’

आफ्ना नेता कार्यकर्ताहरूसँग रकम सङ्कलन गरेर पीडितलाई राहत उपलब्ध गराएको उनले बताए ।

गत आइतबार रातिबाट अविरल रूपमा परेको बेमौसमी वर्षाका कारण देशका विभिन्न ठाउँमा जनधनको क्षति भएको छ । कैलाली कञ्चनपुरमा बाढी र र पहाडी सात जिल्लामा पहिरोले ठुलो क्षति पुराएको छ ।

कैलालीमा सबै भन्दा धेरै टीकापुर, जानकी र भजनीमा बाढीले क्षति पुराएको छ । कर्णाली नदीको बहाव बढेर उक्त नदी बढी बस्तीमा पसेर कयौँ घरहरू डुबानमा परेका छन । घरहरू डुबानमा परी टिकापुर क्षेत्रमा धान खेत पनि नष्ट भएको छ भने किसान बिचल्लीमा परेका छन् ।

बाढी प्रभावितहरूको निरीक्षण गर्न सुदूरपश्चिम आएका प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरूको समस्याबारे चासो नदिएको भन्दै पीडितहरूले आक्रोश व्यक्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *