१० बुँदेको विवादमाथि आज कार्यदलमा छलफल, भोलि स्थायी कमिटीबाट निर्णय हुने – Nepal Press

१० बुँदेको विवादमाथि आज कार्यदलमा छलफल, भोलि स्थायी कमिटीबाट निर्णय हुने

काठमाडौं । एमाले अध्यक्ष केपी शर्माको पछिल्लो अभिव्यक्तिले १० बुँदेका सन्दर्भमा उब्जिएको विवादमा भोलि छलफल हुने भएको छ । ओलीले १० बुँदेको सान्नदभिकता सकिएको अभिव्यक्ति दिएपछि उपाध्यक्ष भीम रावल लगायतका ‘१० भाइ’ नेता असन्तुष्ट छन् ।

त्यसबारे आजको स्थायी समिति बैठकमा छलफल हुने ठानिएको थियो। तर, त्यसलाई स्थायी समितिमा प्रवेश गराउनुअघि कार्यदलमा छलफल भएको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आज कार्यदलमा छलफल भएको र भोलिको स्थायी कमिटीको बैठकमा कार्यदलको सुझाव पेस हुने जानकारी दिए।

‘आज १० बुँदे कार्यन्वयन गर्न बनेको कार्यदलको पनि बैठक बसेको छ र, त्यो कार्यदलले स्थायी कमिटीको बैठकमा भोलि केही सुझाव पेस गर्ने छ,’ पत्रकारहरुसँग ज्ञवालीले भने, ‘हामी त्यसमा छलफल गर्ने छौं ।’

बुधबार एमाले वागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले अब १० बुँदेको ट्यान्ड्याङ धैरै नबजाउन भनेका थिए । ओलीकै शैलीमा उपाध्यक्ष रावलले पनि जवाफ फर्काएका थिए। उनले १० बुँदे सहमति ‘एकतारे’ नभइ पार्टी एकता बचाउन बजाइएको ११ तारे विगुल भएको बताएका छन् ।

अध्यक्ष ओलीले १० बुँदे अस्वीकार गरेको हो भन्ने प्रश्नमा प्रवक्ता ज्ञवाली भन्छन्, ‘१० बुँदे सिंगो पार्टीको प्रस्ताव हो । त्यसलाई पार्टीले अपनत्व लिएर त्यसलाई कार्यन्वयन गर्ने निर्णय गरिसकेको छ र ९५ प्रतिशत ठाउँमा यो कार्यान्वयन भइसकेको अवस्था छ। केही ठाउँमा कार्यान्वयन भएको छैन् भने पहिले कार्यदलले छलफल गर्छ । थप निर्णय गर्नुपर्‍यो भने स्थायी कमिटीले सुझावका आधारमा गर्छ ।’

ओलीको भनाइलाई थप प्रष्ट्याउँदै उनले भने, ‘ अध्यक्षले भन्नु भएको के मात्रै हो भने यो त हामीले पहिले नै कार्यान्वयनमा लगिसक्यौं । अब कही समस्या छ भने छलफल गर्न सकिन्छ तर यही विषयलाई नै अल्झाइ रहने भन्दा पनि त्यसको स्प्रीटमा पार्टी काममा एकतावद्ध भएर अघि बढ्नुपर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *