एमालेले ७८ औं जिल्लामा महाधिवेशन गरेर दिन खोजेको सन्देश – Nepal Press

एमालेले ७८ औं जिल्लामा महाधिवेशन गरेर दिन खोजेको सन्देश

काठमाडौं । असोज १९ गते गोदावरीमा विधान महाधिवेशन समापन गर्ने क्रममा विष्णु पौडेलतिर फर्किएर अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए-दशौं राष्ट्रिय महाधिवेशन बुटवलमा हुनेछ ।

एमालेको आधारक्षेत्र नै मानिने लुम्बिनीको बुटवलमा २०६५ मा सम्पन्न आठौं महाधिवेशनमा ओली झलनाथ खनालसँग अध्यक्षमा पराजित भएका थिए । यद्यपी लुम्बिनी र अझ बुटवल एमालेको आधारभूमि हो र अझ ओलीको शक्तिकेन्द्र । महाधिवेशन आयोजना बुटवलमा हुँदा बिष्णु पौडेल बढि खटिनुपर्‍यो ।

तर काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनबाट अध्यक्ष बनेका ओलीले बुधवार वागमती प्रदेश कमिटीको बैठकमै दशौं महाधिवेशन चितवनमा हुने संकेत दिए । प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले दशौं महाधिवेशन वागमतीले आयोजना गर्न पाउनुपर्ने प्रस्ताव राखेका थिए ।

नभन्दै बिहीवार बसेको स्थायी कमिटी बैठकले चितवनमा दशौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यतिमात्र होइन चितवनबाटै एकपटक माओवादी उम्मेदवार बनेर जितिसकेका रामबहादुर थापा बादललाई महाधिवेशन मूल व्यवस्थापन समितिको संयोजक समेत बनाएर ओलीले एकैसाथ तीन मुख्य सन्देश दिन खोजेका छन् ।

सामान्य अवस्थामा चितवनमा महाधिवेशन आयोजना हुनु आफैंमा ठूलो चर्चाको विषय नहुन सक्थ्यो । तर पछिल्लो राजनीतिक घटनाक्रम र नेकपा विभाजन तथा एमाले विभाजनपछिको अवस्थामा एमालेले चितवनलाई नै रोज्नु र बादललाई नै संयोजक बनाउनुको भने अर्थ छ ।

चितवनमै महाधिवेशन गर्दा एमालेका प्रभावशाली नेता र नवौं महाधिवेशनमा महासचिव पराजित चितवनबाटै निर्वाचित सुरेन्द्र पाण्डेलाई मूल व्यवस्थापन समितिको संयोजक बनाउन सकिन्थ्यो । तर बादललाई नै किन ? एमालेले नभने पनि बुझ्न सकिने तर्क भनेको यो एमाले नेकपा एकताको निरन्रतता हो, पूरानो एमालेमात्र होइन भनेर सबैले बुझ्ने र सुन्नेगरि बताएको हो ।

एमालेले महाधिवेशन स्थल चितवन छान्नु र मूल व्यवस्थापन समिति संयोजक बादललाई बनाउनुको मुख्य तीन सन्देश बुझ्न सकिन्छ ।

१: नेकपाको निरन्तरता, माओवादीलाई सम्बोधन- केपी ओली र ईश्वर पोखरेलसहित एमालेका नेताहरुले भन्दै आएका छन् कि यो एमाले २०७५ जेठ २ अघिको जस्ताको तस्तै फर्किएको पार्टी होइन । यो भनेको २०७५ जेठ ३ गते एमाले र माओवादी एकीकरणपछि बनेको नेकपा एकताको मूलधार हो ।

एमालेमा रहेका तत्कालीन माओवादीका नेताहरुले पनि यहि भन्दै आएका छन् र प्रभु साहको शर्त नै त्यही छ । एमालेमा वडादेखि केन्द्रसम्मको एउटा ठूलो माओवादी पंक्ति नेकपा एकतापछि तत्कालीन ओली समूहको लिगेसीसहित बसेको छ । त्यसलाई सम्बोधन गर्न बादललाई संयोजक बनाइएको बुझ्न सकिन्छ ।

पहिलो संविधानसभा निर्वाचन चितवनबाटै जितेका बादलले केही दिनअघि भरतपुर पुगेर पार्टीले जिम्मा दिए आगामी निर्वाचनमा प्रचण्डसँग आफू चुनाव लड्न तयार रहेको बताएका थिए । त्यो अर्थमा पनि बादललाई महाधिवेशन मूल व्यवस्थापन समितिको जिम्मा दिएर एमालेले एकातिर माओवादी पंक्ति एमालेमा सुरक्षित छ भन्ने सन्देश छाडेको छ भने अर्कोतिर बादलको मैदान बनाउन खोजेको छ ।

चितवनमा प्रकाश खनाल लगायत बादलसँग पूर्व माओवादीका जिल्ला तहका उल्लेख्य नेताहरु एमालेमा रहेका छन् । ओली आउने चुनावसम्म तल्लो तहका माओवादी पंक्तिलाई एमालेमा थप समेट्न चाहान्छन् र त्यसका लागि बादललाई महाधिवेशन व्यवस्थापनको नेतृत्व दिएर एमालेमा आउने माओवादीको राजनीतिक भविष्य सुरक्षित छ भन्ने सन्देश दिइएको हो ।

२: प्रचण्डका बाबुछोरीलाई झस्काउने- पछिल्लो समय चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठ मूलधारका मिडियादेखि टिकटकसम्म भाइरल छन् । उनले प्रचण्डका बाबु छोरीलाई चितवनबाट लखेट्ने भन्दै अब केन्द्रमा गठबन्धन बने पनि चितवनका कांग्रेसले प्रचण्ड र रेनु दाहाललाई भोट नहाल्ने भनेर गरेको भाषणको भिडियो भाइरल छ ।

त्यसमाथि रामचन्द्र पौडेलले समेत अब कांग्रेस कार्यकर्ताले रुखमामात्र भोट हाल्ने बताएपछि प्रचण्डमात्र होइन माओवादी केन्द्र नै झस्किएको छ । गठबन्धनबिना प्रचण्डले सांसद र रेनुले मेयर माओवादीको एकल शक्तिमा जित्ने अवस्था चितवनमा छैन । गठबन्धनमै रहेको कांग्रेसले झस्काइरहेका बेला एमालेले दशौं राष्ट्रिय महाधिवेशनमा देशभरको पार्टी शक्ति चितवनमा केन्द्रित गर्दा अवश्य पनि प्रचण्ड परिवारलाई चस्का पस्ने नै छ ।

ओली लगायत एमाले नेताहरुले गठबन्धनबिना चितवनमा सांसद त के वडा अध्यक्ष जितेर देखाउन प्रचण्डलाई चुनौति दिइरहेका छन् । आगामी फागुनदेखि वैशाख जेठसम्म स्थानीय चुनाव हुँदैछ । लगत्तै आम चुनाव हुनेछ । यी सबै चुनाव र प्रचण्ड परिवारलाई लक्षित गरेर एमालेले आफ्नो महाधिवेशन चितवनमा गर्न लागेको बुझ्न सकिन्छ ।

प्रचण्ड सबै दलहरुको गठबन्धन बनाएर एमाले र मुख्यतः ओलीसँग बदला लिन चाहान्छन् । गठबन्धन कायमै राखेर चुनावमा जान सके एमालेलाई परास्त गर्न सकिने र आफू फेरि नेपाली राजनीतिको निर्णायक पात्र बन्ने आकांक्षा प्रचण्डमा कायम छ ।

तर ओली प्रचण्डलाई आफ्नो शक्ति देखाउन चाहान्छन् । मूलतः प्रचण्डलाई सत्ता राजनीतिको खेलाडीबाट उनी दर्शकदीर्घामा पुर्याउन चाहान्छन् । चितवनमा महाधिवेशन आयोजना गरेर एमालेलाई प्रचण्डको गृहजिल्लामा अझ बलियो बनाउने र कांग्रेससँग मिले पनि हराउन सकिने शक्ति आर्जन गर्ने उद्देश्य पनि त्यसभित्र छ ।

३: ७८ औं जिल्ला, समृद्धिको सन्देश- देशको लगभग मध्यभागमा पर्ने चितवनलाई ७६ औं जिल्ला पनि पनि भनिन्थ्यो । ७५ जिल्ला भएको बेलाको त्यो नाम अब ७८ औं जिल्ला भएको छ । किनकी चितवनमा देशका प्रायः सबै जिल्लाका मान्छेहरुको बसोबास छ । चितवन तराई, पहाड र भित्री मधेशको संगम पनि हो । तीनै तहका चुनावको तयारीका रुपमा एमालेले चितवनलाई महाधिवेशनस्थलका रुपमा रोजेको बुझ्न सकिन्छ ।

त्यसो ओलीले चितवनलाई उसै पनि आफू प्रधानमन्त्री भएका बेला निकै महत्व दिए । हुन त प्रचण्डले चितवनको विकासको बाधक ओली नै भएको आरोप लगाएका छन् । चितवनमा केन्द्र सरकारबाट अर्बौको बजेट गएको छ । तर त्यसको जस लिन भने ओली र प्रचण्डबीच हानाथाप छ ।

ओलीले भने आफू प्रधानमन्त्री भएका बेला रणनीतिक ढंगले चितवनलाई चर्चामा ल्याए । चाहे ठोरीमा राम जन्मिएको प्रसंग होस वा माडीको विकास । रामसीता मूर्ति स्थापना होस् वा अन्य विकास निर्माण । यतिसम्मकी भरतपुरका सभाहल उद्घाटन मेयर रेनुले बहिस्कार समेत गरेकी थिइन् । राजमार्ग फराकिलो बनाउने लगायतका पुर्वाधार विकासमा ओलीले प्रचण्डलाई एउटै पार्टीमा हुँदा पनि झस्काउने र बाइपास गर्नेगरि काम गरेका थिए ।

ओली दशौं महाधिवेशनको उद्घाटन समारोहबाट चितवनबासीसहित पूरै देशलाई सुनाउन चाहान्छन्, चितनवको विकासमा मैले के गरेँ र प्रचण्डले के गरे ? उनले महाधिवेशन उद्घाटन समारोहलाई प्रचण्डको भोट घटाउने प्रचारसभाको रुपमा उपयोग नगर्लान् भन्न सकिन्न ।

त्यसैले पनि एमालेको दशौं महाधिवेशन चितवनमा हुनुको अर्थ रहनेछ र चितवनबाट ओलीले केही ने केही तरंग छेड्नेछन् । जसले तीनै तहका चुनावलाई कहिँ न कहिँ प्रभाव पार्नेछ ।


प्रतिक्रिया

One thought on “एमालेले ७८ औं जिल्लामा महाधिवेशन गरेर दिन खोजेको सन्देश

  1. हावा बिस्लेसन । हुनत आफ्नै मुखपत्र ले पार्टीको लाइन लाई राम्रो देखाउन खोज्नु स्वाभाविक हो । बुटवलमा बिश्नु पौडेल लखेटिनु, मेयरले मुक्का खानु लगाएत का कारण छन । चितवन मा भात सस्तो, प्रतिनिधि लाई कार्यकर्ताकै घर मा सुत्न पठाउनमिल्ने, हल ब्यबस्थापन लगाएत का सबल पक्ष छन । बिकास को गफ नहान्नुस हजुर, स्मार्ट सिटि को योजना बाट भरतपुर लाई हटाएर गुण्डा बस्नेत को गुन्डु स्तनान्टरन गरेको त्यहि तुक्के ले हो ।

Leave a Reply to ५० लाखे चीज किल्लोर Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर