चार वर्षपछि इटहरीमा दोहोरियो बाढीको विपद (तस्बिरहरु) – Nepal Press

चार वर्षपछि इटहरीमा दोहोरियो बाढीको विपद (तस्बिरहरु)

इटहरी । इटहरीको सहरी स्मृतिमा सबैभन्दा धेरैले ज्यान गुमाएको बिपत २०७४ साउन २७ को मध्यरात हो । इटहरी र सुन्दरहरैँचाको सिमा खोला बुढिखोलामा आएको बाढीमा ६ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेहरुमा इटहरी-४ को गौरीगाँउका स्थानीयहरु थिए ।

त्यो घटनाको ठीक चार वर्षपछि फेरि इटहरीलाई मंगरबार बाढीले दुख दिएको छ । निरन्तरको वर्षाले ल्याएको बाढि र डुबानका कारण इटहरीमा तीन जनाले ज्यान गुमाएका छन् । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार ज्यान गुमाउनेमा इटहरी-२ का २८ वर्षिय सन्तोष तिवारी र २१ वर्षिय रोशन बुढाथोकी रहेका छन् । ज्यान गुमाउनेहरुमा इटहरी ५ का ७२ वर्षिय चन्द्रमणी काफ्ले समेत रहेका छन् ।

यस्तै इटहरी ४ को पानधारेमा एक वेवारिसे लाश फेला परेको छ । लाशको पहिचान हुन नसेकको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

यसैबिच बुधबार बसेको इटहरी उपमहानगरपालीकाको बिपद् व्यवस्थापन समितिको बैठकले मृतकको परिवारलाई २५ हजार सहयोग गर्ने निर्णय गरेको छ । सबैभन्दा धेरै मानविय क्षति भएको इटहरी-२ का वडा अध्यक्ष हर्क मगरले मृतकको सबै पहिचान भएपछि रकम प्रदान गर्ने निर्णय भएको बताए ।

बाढी र डुबानले प्रताडित इटहरीमा लामो समय विद्युत अवरुद्ध भएको थियो । सुनसरीको दुहबी सबस्टेसनबाट सञ्चालन हुने बिद्युत ३६ घन्टापछि सुचारु भएको छ । तर, इटहरीका केही क्षेत्रहरुमा भने विजुली आउन झन्डै ४८ घन्टा लाग्यो ।

इटहरीका डुबान क्षेत्रका स्थानीयकै आग्रहमा बिद्युत कटौती भएको र पानी सुकेको निस्कर्ष निकालेपछि मात्रै बिजुली चालु गर्नु प्रमुख कारण भएको विद्युत प्राधिकरणको इटहरी कार्यालयले जनाएको छ ।

इटहरीको पूर्वतर्फ बुढिखोला, मध्यशहरमा खेती, सेरा, तथा ट्ङ्याग्रा खोला लगायतका छन् । यीनै खोलाहरुमा बर्षामा आउने पानी र डुबानले धेरै जनधनको क्षति हुने गरेको स्थानिय बताउँछन् । नागरिक समाज इटहरीका अध्यक्ष तथा इटहरीका वंशज रैथाने राजु केसी अव्यवस्थित सहरीकरणपछि इटहरीमा बाढी र डुबानबाट धेरै ज्यान जान थालेको बताउँछन् ।

उनी भन्छन्, ‘२०७२ साल अगाडि बाढी र डुबानले मान्छे मरेको याद छैन ।’

केसीका अनुसार इटहरीमा पहिला-पहिला खुल्ला क्षेत्र र खेतहरु धेरै थिए र बर्षातको पानी त्यहीँ धेर सोसिन्थ्यो । बाँकी बग्थ्यो । त्यसको असर कम हुनथ्यो । खेतमा घडेरी र कंक्रिट आएपछि समस्या बढ्यो ।

समस्या अझ बढ्नुमा खोला पैनी मिचिनु, पैनीलाई ड्रेन बनाउनु र ड्रेनको उचित व्यवस्थापन नहुनु मुख्य कारण भएको केसी बताउँछन् । उनी भन्छन्, ‘खोलाको सतह बढेर जंगलमा आएको छ । जब बाढी आउँछ खोलाको बाटो मात्रै आउँदैन जंगल हुँदै सिधै सहरमा आउँछ । ड्रेनको अन्त्य खेतमा छ । त्यसले थप समस्या पारेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर