‘केपी ओलीलाई ‘बा’ मान्छु, तर उहाँको निगाहमा अध्यक्ष भएको होइन’ (भिडिओ) – Nepal Press
नेपाल टक

‘केपी ओलीलाई ‘बा’ मान्छु, तर उहाँको निगाहमा अध्यक्ष भएको होइन’ (भिडिओ)

पछिल्लो समय नेपालका दुई ठूला कम्युनिस्ट पार्टीनिकट विद्यार्थी संगठनको नेतृत्वमा महिला चुनिएका छन् । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्वमा नेतृ सुनिता बराल चुनिएकी छन् भने माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रन्तिकारी)को नेतृत्वमा पञ्चा सिंह छनोट भएकी छन् । विद्यार्थी संगठनको नेतृत्वमा महिला नेतृ चयन हुनुलाई धेरैले सुखद पक्ष भनेका छन् । यद्यपि, नेपालमा विद्यार्थी राजनीतिको आवश्यकता, औचित्य र प्रभावकारिताबारे निरन्तर प्रश्न उठिरहेको छ ।

यसबीच एमाले अध्यक्ष केपी ओलीसँग निकट भएकै कारण नेतृत्वमा पुगेको आरोप खेपिरहेकी अखिल अध्यक्ष बरालसँग समग्र विद्यार्थी आन्दोलनसँगै महिलाले राजनीतिमा स्थापित हुन सामना गर्नुपर्ने चुनौतीलगायतका विषयमा गरिएको कुराकानी नेपाल टकमा–

विद्यार्थीको नेता भएकोमा गर्व लागेको छ कि पार्टी पोलिटिक्समा जाने बाटो खुल्यो भन्नेमा ?

मैले विद्यार्थी संगठनमा करिब २० वर्ष काम गरें । अब यहीं संगठनको नेतृत्वमा आइपुगेकी छु । त्यसैले म विद्यार्थीको नेतृत्व गर्ने ठाउँमा पुगेकैमा बढी खुसी छु ।

खासमा राजनीतिप्रति आमयुवाको धारणा गतिलो छैन । तर तपाईंले राजनीति रोज्नुको कारण ?

त्यस्तो होइन । पछिल्लो समय संविधानसभाबाट संविधान जारी भएपछि भएको तीन तहको निर्वाचनपछि युवा, विद्यार्थीमा राजनीतिप्रतिको आकर्षण झन् बढेको पाउँछु म त । अलि पहिला चाहिँ तपाईंले भनेजस्तै थियो, तर अहिले छैन । राजनीतिक दलका संगठन मात्रै होइनन्, स्थानीयदेखि संघीय सरकारमा समेत युवाले सहभागिता जनाइरहेका छन् । राजनीतिप्रति युवापंक्ति उत्साहित छ ।

राजनीति नै सबै नीतिहरुको मूल नीति हो । राजनीतिबिना समाज परिवर्तन सम्भव छैन । राजनीतिमा पनि विद्यार्थी राजनीति नै रोज्नुको मुख्य कारण चाहिँ, शिक्षा क्षेत्रको विकासबिना अरु विकास सम्भव छैन । र यहाँबाट नै राजनीति सुरु गर्नु पर्छ भन्ने मलाई लाग्यो । समृद्धिको आधार नै शिक्षा हो भन्ने चेतनाका कारण म विद्यार्थी राजनीतिमा लागें ।

केपी ओलीलाई ‘बा’ भन्दै रिझाएको भरमा सिनियरलाई उछिनेर अध्यक्ष बन्नुभएको चर्चा छ नि !

त्यस्तो होइन । म पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नजिक छु । म उहाँलाई ‘बा’ मान्छु पनि । तर म सर्वसम्मत नै अध्यक्ष चुनिएकी हुँ । अखिलमा कोही सिनियर–जुनियर भन्ने थिएन, छैन । अरुको टिप्पणीबारे केही भन्नु छैन ।

महाधिवेशनबिना अध्यक्ष बन्नुभएको तपाईं ‘टीके अध्यक्ष’ हो कि होइन ?

निर्वाचित भएपछि टीका लगाएँ हुँला । तर मलाई कसैले टीका लगाइदिएर अध्यक्ष बनाएको होइन । म विधिसम्मत रुपमा अध्यक्ष चुनिएकी हुँ ।

तपाईंको कार्यकाल कहिलेसम्म हो ? महाधिवेशनमा फेरि अध्यक्ष उठ्ने हो कि होइन ?

हामीले संगठनको महाधिवेशन चैतको २२, २३ र २४ गतेका लागि तोकिसकेका छौं । तोकिएको समयमा महाधिवेशन हुन्छ । त्यसपछिको नेतृत्वबारे अहिले केही नभनौं ।

५–६ सय जनाको भीमकाय केन्द्रीय कमिटी बनाउनुभएको छ । किन आवश्यक पर्यो यति ठूलो आकार ?

अनेरास्ववियुमा लाखौं साथीहरु हुनुहुन्छ । तीमध्ये छनोट गरेर अहिलेको कमिटी बनेको हो । लाखौं सदस्य भएको संगठनका लागि यो त्यति ठूलो कमिटी होइन । र अर्को कुरा विभिन्न कारणले लामो समयदेखि महाधिवेशन हुन सकेको थिएन, जसकारण अलि धेरै साथीलाई केन्द्रीय कमिटीमा समेट्नुपर्ने पनि थियो । सँगसँगै हाम्रो पार्टीमा आएको पछिल्लो परिस्थितिका कारण पनि कमिटी अलि ठूलो बनाउनु परेको हो ।

सबै केन्द्रीय सदस्यहरुलाई चिन्नुहुन्छ ?

चिन्छु, किन नचिन्नु ? कमिटीमा नभएका पनि धेरै साथीलाई चिन्छु ।

हरेक क्षेत्रमा महिलाहरुले ‘ह्यारेसमेन्ट’ खेप्नुपरेको कुराहरु आउँछन् । राजनीतिमा के अवस्था छ ?

निश्चय नै महिलालाई राजनीति गर्न बढी चुनौती छ । सुरुसुरुमा राजनीतिको मैदानमा धेरै महिला सहभागी हुनुहुन्छ । तर तीमध्ये थोरैले मात्रै चुनौतीको सामना गर्न सक्नुहुन्छ र नेतृत्वमा पुग्नुहुन्छ । प्राकृतिक र सामाजिक मनोविज्ञानका कारण महिलालाई राजनीतिमा टिक्न मुस्किल छ । धेरै चाहिँ सामना गर्न नसकेरै राजनीतिबाट पलायन हुनुहुन्छ । पितृसतात्समक सोचले महिला धेरै माथि पुगेको हेर्न चाहँदैन । महिलाको प्रगतिमा परिवारका सदस्य नै जति खुसी हुनपर्ने हो, त्यति नभएको पाउँछु ।

जहाँसम्म मैले हिंसा सहनु परेको सवाल छ– शारीरिकरुपमा त त्यस्तो सहनु परेको छैन, तर मानसिकरुपमा धेरैखाले हिंसाको सामना गरेको छु । पारिवारिकरुपमा मलाई खासै समस्या भएन, तर महिला भएकै कारण जिम्मेवारीबाट पन्छाउने खालका प्रयास पनि भए ।

राजनीतिमा लागेका युवा नेत्रीहरुको चरित्रमाथि पनि अनेक प्रश्न उठाउने गरिएको छ । तपाईंले यस्तो झेल्नुपरेको छ कि छैन ?

परेको छ । तर मैले कतै बेवास्ता गरें, कतै प्रतिवाद गरें । महिलाहरु अघि बढ्न खोज्दा चरित्रमाथि प्रश्न उठाउने हाम्रो सामाजिक चरित्र नै खराब छ ।

कामप्रति महिलाहरु बढी जवाफदेही, जिम्मेवार र इमानदार हुने कुरा प्रष्ट नै छ । यति हुँदाहुँदै पनि लाग्ने लाञ्छनाको प्रतिवाद गरेरै अघि बढ्नु पर्छ ।

माथिका नेतालाई हातमा नलिइकन, चाकडी नगरीकन विद्यार्थी राजनीतिमा अगाडि बढ्न सकिन्न भनिन्छ । कति सत्य हो ? तपाईंले यहाँसम्म आइपुग्न नेताहरुको कति चाकडी गर्नुपर्यो ?

म चाहिँ एउटा नेतासँग मात्रै जोडिएका कारण यहाँ आइपुगेको होइन, संस्थागतरुपमै अघि बढेको हुँ । म उपाध्यक्ष नै हुँदा पनि धेरै नेताले चिन्दैनथे, अखिलका साथीहरुले भने चिन्थे । यसअर्थमा म कसैको चाकडी गरेर यहाँ आइपुगेको होइन ।

अहिले कतिपयले मलाई एउटै भुगोलको भएका कारण पनि पार्टी अध्यक्षकै कारण अखिलको अध्यक्ष भएको भनिरहेका छन् । तर यतिसम्म हो कि, उपाध्यक्ष हुँदासम्म उहाँले मलाई चिन्नुहुन्थेन । अहिले चिन्नु हुन्छ, सम्बन्ध राम्रो छ । तर, उहाँको निगाहमा म अहिले नेतृत्वमा आएको होइन ।

तपाईंहरुले सँगै राजनीतिक गरेका सहयोद्धाहरुले साथ छोडेर समाजवादीतिर लागेका छन् । उनीहरुसँग भेटघाट कुराकानी कतिको हुन्छ ? उनीहरुलाई के भन्न चाहनुहुन्छ ?

केही साथीहरु अर्को पार्टीको विद्यार्थी संगठनमा लाग्नुभएको छ । कतिपय साथीहरु यतै फर्कदैँ हुनुहुन्छ । साथीहरुसँग भेटघाट, कुराकानी भइरहेकै हुन्छ ।

अन्य पार्टीका युवा–विद्यार्थी नेताहरुलाई कसरी मूल्यांकन गर्नुहुन्छ ? तपाईंको उहाँहरुसँग कस्तो सम्बन्ध छ ?

हुन्छ, भेटघाट कुराकानी । विद्यार्थीका साझा मुद्दामा छलफल पनि भइरहेकै हुन्छ ।

विद्यार्थीले राजनीति नगर्दा पनि हुँदैन ?

विद्यार्थी नै यस्तो पंक्ति हो, जसले देशको परिवर्तन गर्न सक्छ । यो समूह सचेत र जागरुक समूह पनि हो । त्यसैले विद्यार्थीले राजनीति गर्नुहुँदैन भन्ने होइन । सचेततापूर्वक राजनीतिक गर्नुपर्छ विद्यार्थीले । किनकि, देशको मूल नीति नै राजनीति हो । यसमा युवा, विद्यार्थीको सहभागिता महत्वपूर्ण छ ।

तपाईं विद्यार्थी पनि हो कि विद्यार्थी नेता मात्रै हो ? 

विद्यार्थी पनि हुँ । त्रिचन्द्र कलेजबाट थेसिसको काम गरिरहेको छु । तर नियमित कलेज चाहिँ गइरहेको छैनँ ।

राजनीतिमा तपाईंको लक्ष्य वा महत्वाकांक्षा के छ ?

निरन्तर राजनीति गरिरहँदा पार्टीकै मूल नेतृत्वमा पुग्ने लक्ष्य हुन्छ नि !

कतिले तपाईंको शारीरिक सुन्दरताको पनि चर्चा गर्छन् । राजनीतिमा सुन्दरताले कुनै महत्व राख्छ कि राख्दैन होला ?

बाहिरी सुन्दरताले कसैलाई झट्ट प्रभाव त पार्नसक्छ, तर त्यो मूल कुरा होइन । विचार र चेतनाले नै बढी महत्व राख्छ नि ।

ड्रेसअप र मेकअपमा कतिको मोह छ ?

ड्रेसअपमा ध्यान दिन्छु, मेकअपमा त्यति रुचि छैन ।

अहिलेसम्म अविवाहित हुनुहुन्छ । राजनीतिले गर्दा नभ्याउनुभएको कि खोजेजस्तो पुरुष नभेटिएको हो ?

अहिले विवाहबारे सोचेको छैन । घरपरिवार आफन्तबाट विहे गर्नुपर्ने कुरा आउँछ । परिस्थितिअनुसार विहे हुनसक्छ, नहुन पनि सक्छ । त्यो ठूलो कुरा होइन ।

प्रेममा पो हुनुहुन्छ कि ?

हाहा, त्यस्तो छैन ।

तपाईंको आदर्श नेता को हो ?

पार्टी अध्यक्ष केपी शर्मा ओली नै मेरो मूल आदर्श नेता हुनुहुन्छ । उहाँको दृष्टिकोण, सक्रियता, ज्ञानबाट म निकै प्रभावित छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर