नेपालबारेको पुस्तकपछि विवादमा परेका रञ्जित रे काठमाडौं आउँदै – Nepal Press

नेपालबारेको पुस्तकपछि विवादमा परेका रञ्जित रे काठमाडौं आउँदै

काठमाडौं । नेपालको सार्वभौमिकतामाथि प्रश्न उठाउने गरि पुस्तक लेखेका पूर्वभारतीय कूटनीतिज्ञ रञ्जित रे आगामी साता काठमाडौं आउने भएका छन् । रेद्वारा लिखित पुस्तक ‘काठमाण्डू डिलेमा : रिसेटिङ इन्डिया-नेपाल टाइज’ पुस्तकमाथि बहस गर्न नेपाल-भारत मैत्री समाजले कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा स्वयम रे सहभागी हुने जनाइएको छ ।

उक्त कार्यक्रमका लागि नेपाली राजनीतिज्ञ, कूटनीतिज्ञ लगायतलाई निम्तो दिइएको छ । उक्त पुस्तकले नेपालमा तरंग सिर्जना गरेको र विवाद पनि खडा गरेको पृष्ठभूमिमा रे स्वयम सहभागी हुने कार्यक्रमलाई लिएर पनि टिप्पणी सुरु भएको छ ।

रेले उक्त पुस्तकको पृष्ठ नम्बर १२९(२१४ मा नेपाल किन भुटानीकरण नहुने वाक्यांश र अनुच्छेद रहेको छ । यस विषयमा वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी लेख्छन् -‘नेपाल-भारत सम्बन्धबारेको रणजीत रायको अङ्ग्रेजी पुस्तकः सम्बन्धलाई भुटानको ढाँचामा लैजान ढिलो भएकोमा आश्चर्य जनाइएको छ (पृष्ठ १२९-२१४)। अरू तपसीलका कुरा।’

रेको उक्त कार्यक्रममा हुने भोजका लागि समाजले निम्तो पठाइसकेको र राजदूत विनयमोहन क्वात्रा स्वयम सक्रिय रहेको स्रोतहरुले जनाएका छन् । रेले उक्त पुस्तकमा आइजीपी नियुक्त गर्न तत्कालिन गृहमन्त्री लगायतका प्रहरी अधिकारीले आफूसँग परामर्श गरेको लगायतका सन्दर्भ उल्लेख गरेका छन् । तर, यसलाई सम्बन्धित व्यक्तिहरुले पूर्णतः गलत बताएका छन् । रे नेपालका लागि पूर्वभारतीय राजदूत समेत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर