महिला उपमेयर कप: राष्ट्रिय खेलाडीको प्रभावशाली प्रदर्शनमा वागमतीको विजयी सुरुआत – Nepal Press

महिला उपमेयर कप: राष्ट्रिय खेलाडीको प्रभावशाली प्रदर्शनमा वागमतीको विजयी सुरुआत

काठमाडौं । रश्मीकुमारी घिसिङको पाँच गोलप्रेरित सर्लाहीको वागमती नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा ललितपुरको महालक्ष्मी नगरपालिकालाई ९-० को नतिजामा पराजित गरेको छ । बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनमा एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा राष्ट्रिय टोलीका खेलाडीले शानदार प्रदर्शन गरे ।

वागमतीको जितमा राष्ट्रिय टोलीकी स्ट्राइकर रश्मीले ह्याटि्रकसहित ५ गोल गरिन् । यस्तै राष्ट्रिय टोलीकी कप्तानसमेत रहेकी रेणुका नगरकोटेले दुई गोल तथा वागमतीकी कप्तान अनु राई र सुदिपा भोलोनले समान १/१ गोल गरे ।

रश्मीले खेलको १६, २३, ३१, ६२ र ७५औं मिनेटमा गोल गरेकी थिइन् । यस्तै, रेणुकाले ३५ र ६८औं मिनेटमा गोल गर्दा सदिपाले ४७ र अनु राईले ६७औं मिनेटमा गोल गरे ।

महालक्ष्मीकी गोलरक्षक संगीता वाइबाले वागमतीको आधा दर्जनभन्दा बढी प्रहार विफल बनाएकी थिइन् । खेलको प्लेयर अफ दि म्याच वागमतीकी रश्मी घोषित भइन् । उनले ट्रफीसहित ५ हजार रूपैयाँ प्राप्त गरिन् ।

राष्ट्रिय टोलीका तीन खेलाडीप्रेरित वागमतीले योसँगै समूह ‘ए’ मा महत्त्वपूर्ण तीन अंक जोडेको छ । वागमतीमा रश्मि र रेणुकासहित राष्ट्रिय टोलीकी डिफेन्डर गीता राना छन् । यता, महालक्ष्मीमा भने कुनै पनि विभागीय वा राष्ट्रिय खेलाडी छैनन् ।

प्रतियोगितामा सहभागी ३१ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । समूह ए मा चार र अन्य समूहमा तीन टोली छन् । समूहका विजेता ‘नक आउट’ चरणमा प्रवेश गर्नेछन् ।

दिनमा तीन खेल आयोजना हुँदा समूह चरणको खेल १५ कात्तिकसम्म हुनेछ । २२ गते बाट प्रतियोगिताको नक आउट चरण सुरु हुनेछ भने फाइनल खेल २८ कात्तिकमा हुनेछ ।

गत सिजन राष्ट्रिय लिगमा उत्कृष्ट प्रदर्शन गरेका तीन विभागीय (नेपाल पुलिस, आर्मी, एपीएफ) सहित चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाले प्रतियोगितामा ‘बाई’ पाएका छन् ।

फाइनल पुग्ने दुई क्लब छनोट भएसँगै अर्को राष्ट्रिय लिग खेल्ने टोली आठ पुग्नेछन् । यसपटक छनोट खेलमा प्रत्येक टोलीले चार विभागीय खेलाडी खेलाउन पाउने प्रावधान छ ।

उपमेयर कपको विजेताले पाँच लाख र दोस्रो हुने टोलीले तीन लाख पाउनेछ । फेयर प्ले टिमले नगद ५० हजार रूपैयाँ पाउनेछ ।

यता, विधागततर्फ उत्कष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २० हजार प्राप्त गर्दा एक सर्वोत्कृष्ट खेलाडीले ५० हजार रूपैयाँ पाउनेछ । यस्तै प्रत्येक खेलको वुमेन्स अफ दी म्याचले पाँच हजार रूपैयाँ पाउनेछन् ।

राष्ट्रिय महिला लिगको साविक विजेता एपीएफ क्लब हो । डबल राउन्ड रोबिनको आधारमा भएको लिगमा एपीएफले दोस्रो स्थानको आर्मीभन्दा १० अंकको अग्रतासहित उपाधि हात पारेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *