आयो दसैं ढोल बजाइ, गयाे दसैं ऋण बोकाइ ! – Nepal Press
चाडबाडको अर्थतन्त्र

आयो दसैं ढोल बजाइ, गयाे दसैं ऋण बोकाइ !

काठमाडौं । यस वर्षको बडा दसैं सकिएको छ । नेपालीहरुको सबैभन्दा ठूलो यो चाडका अनेक आयामहरु छन् । जसमध्ये अर्थतन्त्रमा पार्ने प्रभाव पनि एक हो ।

दसैं, तिहार र छडपर्व लगायतका चाडपर्वहरुमा नेपालीले अत्यधिक वस्तु तथा सेवाको उपभोग गर्छन् । वर्षभरी रकम जोहो गरेर, त्यसबाट नपुग्नेले ऋण गरेर भए पनि खुशीयालीपूर्वक दसैं मनाइन्छ । तर, जब दसैं सकिन्छ, त्यसको हिसाबकिताब सल्टाउन धेरै समय लाग्छ । त्यसैले त उखानै बनेको छ- ‘आयो दसैं ढोल बजाइ, गयौं दसैं ऋण बोकाइ ।’

हरेक परिवारलाई दसैंले आर्थिक दवाव थोपर्छ नै । परिवारलाई मात्र होइन, सिंगै देशकै अर्थतन्त्रलाई हल्लाउँछ दसैंले । दसैंमा प्रयोग हुने अधिकांस वस्तुहरु विदेशबाट आउँछन् । अत्यधिक सामानको आयातले नेपालको यसै पनि असन्तुलित नेपालको वैदेशिक व्यापारलाई थप असन्तुलित बनाइदिन्छ । आयात र निर्यातको अन्तराल झन् बढाइदिन्छ ।

दसैंमा मुलतः मासुका लागि खसी, बोका, च्याङ्ग्रा, भेडा र राँगा, नयाँ लत्ता कपडा र दक्षिणाका लागि नयाँ नोट उपभोग हुने गरेको छ । नेपाल राष्ट्र बैंकले दसैंमा मात्रै १ खर्ब हाराहारीमा नयाँ नोट वितरण गर्ने गरेको छ ।

हुनेखानेहरुले दसैंको समयमा सम्पति तथा विलासी वस्तुहरुको खरिद बढी गर्छन् । दसैंमा आउने विभिन्न स्किमको उपयोग गर्दै कार, मोटरसाइकल र सुन, चाँदीका गरगहना जोड्ने होड चल्छ । यसैगरी विभिन्न ब्राण्डका मोबाइल लगायतका ग्याजेटहरु पनि दसैंमा बढी विक्री हुन्छन् ।

पछिल्लो समय दसैको मौंका छोपेर विदेश घुम्न जानेको संख्या बढ्दै गएको छ । विश्वव्यापी महामारी कोभिड–१९ का कारण गत वर्ष नेपालीहरु विदेश भ्रमणमा जान पाएनन् । यसैगरी देशको अर्थतन्त्र कोभिडका कारण ठप्प हुँदा चाडपर्वलक्षित अर्थतन्त्र खासै चलायमान हुन सकेन । कोभिड १९ को सतर्कताका लागि भन्दै ६ महिना लामो लकडाउन तथा निषेधज्ञाका कारण मानिसहरुको आवतजावत ठप्प रह्यो ।

पछिल्लो समय कोभिडको प्रभाव कम हुँदै गएपछि दसैंमा गत वर्षको भन्दा बढी व्यापार भयो । मानिसहरु विदेशबाट फर्कने क्रम बढ्यो भने काठमाडौंबाट धेरै संख्यामा मानिसहरु गाउँघर फर्किए । दशैलक्षित विभिन्न अफर सहितका दसैं बजार तथा सेल्सहरु लागे । काठमाडौं उपत्यकामा मासुका लागि भेडाच्यांग्रा, राँगा तथा खसीवोकाहरु धेरै भित्रिए ।

विगतका वर्षहरुमा पनि दसैं तिहार तथा छड लगायतका चाडपर्वको समयमा सबैभन्दा धेरै व्यापार हुने गरेको तथ्याङ्कहरुमा देखिन्छ । यही समयमा नेपालमा सबैभन्दा बढी रेमिट्यान्स भित्रिन्छ भने रोजगारीमा संलग्नहरुले पनि दसैभत्ता प्राप्त सहित दोब्बर तलबभत्ता पाउने गरेका छन् ।

मध्यम आय भएका रोजगारीमा संलग्न व्यक्तिहरुले दसैंको समयमा बढी तलबभत्ता प्राप्त गर्ने भएकाले उपभोग क्षमता पनि बढ्छ र बढी खर्च गर्दछन् । सरकारले पनि दसैंमा तलब भत्ताबापत दोब्बर खर्च गर्दछ । यसले उपभोक्ताको क्रयशक्ति बढाउने भएकाले दसैंमा बढी बस्तु तथा सेवाको ब्यापार दोब्बर हुने गर्दछ । यसले उद्योगी व्यवसायीको आम्दानी बढाउँछ र सरकारलाई यही समयमा राजस्व पनि बढी प्राप्त हुन्छ ।

यसैगरी लगानीकर्ताले पनि सेयर विक्री गरेरै भए पनि दसैंका लागि रकम जोहो गर्ने गर्दछन् ।

करिब ८ खर्बको दसैं

नेपालमा दसैंमा ठ्याक्कै कति खर्च हुन्छ भन्ने सरकारले यकिन तथ्यांक राखेको पाइँदैन । यद्यपी नेपाल कुल गार्हस्थ्य उत्पादनमा उपभोगको अंश र आर्थिक वर्षको पहिलो चार महिनामा हुने खर्च आयात र उपभोगको प्रवृत्तिलाई हेरर विष्लेषण गरेको पाइन्छ ।

आर्थिक वर्ष २०७७/७८ मा नेपालको कुल गार्हस्थ्य उत्पादन करिब ४२ खर्ब ६६ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ । आर्थिक सर्वेक्षण तथा केन्द्रीय तथ्यांक विभागको तथ्यांकअनुसार कुल गार्हस्थ्य उत्पादनको ९० प्रतिशत उपभोगमा खर्च हुने गरेको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अर्थशास्त्री डा.गुणाकर भट्ट आर्थिक वर्षको पहिलो ४ महिनामा ४० प्रतिशत खर्च हुने गरेको बताउँछन् । त्यसमा पनि साउन र भदौको तुलनामा असोज र कात्तिकमा दसैं तिहार लगायतका चाडवर्ष पर्ने भएकाले सबैभन्दा बढी खर्च उक्त दुई महिनामा हुने उनको भनाई छ ।

‘दसैंमा खर्च अंकमा भन्न नसकिए पनि सबैभन्दा धेरै खर्च दसैं तिहार लगायतका समयमा हुन्छ भन्न चाहीँ सकिन्छ,’ उनले भने, ‘नेपालको कुल गार्हस्थ्य उत्पादनमध्ये ९० प्रतिशत उपभोगमा खर्च हुने गरेकोमा ४० प्रतिशत खर्च पहिलो ४ महिनामा हुने गरेको देखिन्छ ।’

कुल गार्हस्थ्य उत्पादन ४२ खर्ब ६६ अर्ब ९० खर्बको ९० प्रतिशत अर्थात ३८ खर्ब ३९ अर्ब ४० करोड रुपैयाँ उपभोगमा खर्च हुने गरेको छ । कुल उपभोगको ४० प्रतिशत करिब १५ खर्ब ४५ अर्ब रुपैयाँ आर्थिक वर्षको पहिलो चारमा महिनामा खर्च हुने डा.भट्टले बताए । उक्त खर्चको पनि ६० देखि ७० प्रतिशत अर्थात ८ देखि १० खर्वको हाराहारीमा दसैं तिहार लगायतका चाडवर्षमा खर्च हुने उनको भनाई छ ।

रेमिट्यान्सको भरथेग

नेपालमा असोज कात्तिक महिनाको समयमा सबैभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ । उक्त दुई महिनामा चाडवर्ष पर्ने भएकाले आफन्तजनले अरु समयमा भन्दा बढी विप्रेषण वापत रकम आउने गरेको देखिन्छ ।

गत वर्ष नेपाल राष्ट्र बैंक तथ्यांक हेर्ने हो उक्त दुई महिनामा १ खर्ब ५१ अर्ब रुपैयाँ बिप्रेषण भित्रिएको देखिन्छ । यसैगरी आर्थिक वर्ष २०७६÷७७ मा १ खर्ब ३६ अर्ब ३१ करोड रुपैयाँ यसै समयमा रेमिट्यान्स भित्रिएको थियो ।

चालू आर्थिक वर्ष पनि गत वर्षको भन्दा बढी रेमिटान्स दसैं तिहारकै समयमा बढेको देखिन्छ । गत वर्षको साउन महिनामा विश्वव्यापी लकडाउनका कारण रेमिटान्स घटेकाले उक्त तथ्यांकसँग तुलना गर्दा रेमिटान्स घटेको देखिएको छ । तर अंकमा हेर्ने हो भने गत वर्ष भन्दा बढी रेमिट्यान्स आएको छ । गत आर्थिक वर्षको साउन महिनामा ७५ अर्ब ४० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ७५ अर्ब ९६ करोड रुपैयाँ भित्रिएको छ ।

यसैले यो वर्षको दसैं पनि खर्चको अधिकांश रकम रेमिट्यान्सबाटै भरथेक भएको छ ।

आयातमा आधारित दसैं

दसैं लगायतका चाडवर्षमा माग तथा खरिद हुने अधिकांश बस्तुहरु भारत, चीन र तेस्रो मुलुकबाट आयात हुने गरेको छ । खसी बोका समेत यो समयमा स्थानीय उत्पादनले नपुगेर भारतबाट आयात हुने गरेका छन् ।

दसैं तिहारमा उपभोग हुने भान्साजन्य सामग्री, इलेक्ट्रिक बस्तुहरु, लत्ताकपडा, चामल, दाल, लसुन ब्याज अदुवा जिरादेखि सवारी साधन, मोबाइलसम्मका वस्तुहरु विदेशबाटै आयात हुने गरेका छन् । गत आर्थिक वर्ष असोज र कात्तिक लगायतका दुई महिनामा मात्रै २ खर्ब २४ अर्ब रुपैयाँको वस्तुको आयात भएको छ । उक्त आयात आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिकको ५६ प्रतिशत हो । आर्थिक वर्ष २०७६/७७ मा पनि उक्त अवधिको दुई महिनामा मात्रै २ खर्ब २१ अर्बको वस्तु आयात भएको थियो ।

दुई महिनामा नै करिब ३ खर्ब १४ अर्ब रुपैयाँको बस्तु आयात भइसकेको छ । उक्त तथ्यांकमा आधारमा हेर्ने हो भने यो वर्षको दसैं तिहार लागायतका चाडपर्वमा गत वर्षको भन्दा बढी वस्तु तथा सेवाको माग हुने भएकाले बढी आयात हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर