रुसले गर्‍यो तालिबानलाई स्वागत, अफगान संकटबारे छलफल गर्न मस्कोमा बैठकको आयोजना – Nepal Press

रुसले गर्‍यो तालिबानलाई स्वागत, अफगान संकटबारे छलफल गर्न मस्कोमा बैठकको आयोजना

मस्को । अफगानिस्तानमा क्षेत्रीय स्थायित्व तुल्याउने तालिबानको प्रयासलाई रुसले समर्थन गर्ने रुसी विदेशमन्त्री सर्जेइ लाभ्रोभले बताएका छन् । रुसले अफगानिस्तानबारे छलफल गर्न बुधबार मस्कोमा अन्तर्राष्ट्रिय बैठकको आयोजना गरेको छ ।

‘अहिले शक्तिमा नयाँ प्रशासन आएको छ’ लाभ्रोभले भने, ‘सैनिक र राजनीतिक परिस्थितीलाई स्थिर तुल्याउन तालिबानले गरेको प्रयत्नलाई हामीले नियालेका छौं । हामी तालिबानसँग मिलेर काम गर्न चाहन्छौं ।’

अफगानिस्तानको भविष्यबारे छलफल गर्न बोलाइएको उक्त बैठकमा चीन र पाकिस्तानसहित १० मुलुकका नेताहरु सहभागी हुँदैछन् । भारत, इरान, कजाकस्तान, किर्गिस्तान, ताजिकिस्तान, तुर्केमिनिस्तान र उज्वेकिस्तान पनि बैठकमा सहभागी हँुदैछन् ।

विदेशमन्त्री लाभ्रोभले बैठकमा वासिङ्टनको उपस्थिती नहुनु दुःखद भएको बताए । अमेरिकाले यसअघि नै केही प्राविधिक कारणले आफूले मस्कोमा आयोजना हुने बैठकमा भाग नलिने तर, निकट भविष्यमा हुने अर्को बैठकमा भाग लिने जवाफ दिएको छ ।

बैठकमा तालिबान डेलिगेसनको नेतृत्व तालिबान नेतृत्वको अफगानिस्तान सरकारका उपप्रधानमन्त्री तथा वरिष्ठ तालिबान नेता अब्दुल सलाम हनाफीले गर्नेछन् । उनले गतसाता अमेरिका र युरोपेली युनियनसँग पनि वार्ताको नेतृत्व गरिसकेका छन् । तर, तालिबानलाई वैधानिकता दिनेबारे आफूले हतार नगर्ने मस्कोले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर