एसियाली छनोटका लागि महिला टोलीको तयारी सुरु (भिडिओ) – Nepal Press

एसियाली छनोटका लागि महिला टोलीको तयारी सुरु (भिडिओ)

काठमाडौं । आईसीसी महिला ट्वान्टी–२० विश्वकपको एसियाली छनोट खेलका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आजबाट अभ्यास थालेको छ । २४ खेलाडीलाई समावेश गरि मुख्य प्रशिक्षक जगत टमाटाले टोलीलाई अभ्यास सुरु गरेका हुन ।

नोभेम्बर महिनामा युएईमा आयोजना हुने एसियाली छनोट खेलबाट नेपाली टोली अघिल्लो चरण पुग्ने लक्ष्यका तयारी थालेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेका २४ खेलाडीलाई समावेश गरेर मुख्य प्रशिक्षक जगत टमाटाले युएईमा हुने छनोट प्रतियोगिताको अभ्यास सुरु गरेका हुन् ।

कीर्तिपुर स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा थालनी गरिएको अभ्यासमा पहिलो दिन टोलीले फिटनेसका लागि विशेष ध्यान दिइएको छ । विभिन्न तीन क्षेत्रमा गरिएको छनोट पश्चात अभ्यास काठमाडौंमा केन्द्रित बनेको छ ।

घोषणा भएका २४ खेलाडी उत्साहित भएको र लामो समय देखी क्रिकेट खेलिरहेका खेलाडीमा आफ्नो देशलाई विश्वकप सम्म पुर्‍याउने लक्ष्यका साथ मिहिनेत गर्न खेलाडी आतुर रहेका मुख्य प्रशिक्षक जगत टमाटाले बताए ।

पुरुष क्रिकेटको तुलनामा कमै मात्र आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा महिला टोलीको अनुभव कम नै रहेको छ । घरेलु क्रिकेट प्रतियोगितामा सिमित भएका खेलाडीमा विगतमा फिटनेसको समस्या पनि हुने गरेको थियो ।

खेलाडीले फिटनेसका लागि व्यक्तिगत तरिकाले मिहिनेत गरिरहेका थिए । यद्यपि प्रतियोगितामा राम्रो प्रदर्शन गर्न फिटनेसलाई ध्यान दिएर तयारी थाल्दा अभ्यास सार्थक हुने प्रशिक्षक टमाटले विश्वास लिएका छन् ।

एसियाली छनोटमा ८ टोली भए पनि अन्तिम समयमा चीनले सहभागिता जनाउने छैन । चीन बाहेक मलेसिया, भुटान, हङकङ, कुवेत, म्यानमार, युएई र नेपालले छनोटमा प्रतिस्पर्धा गर्दैछन् । छनोट खेल नेपाली टोलीका लागि ठूलो अवसर भएको खेलाडीले बताएका छन् । टोलीमा अहिले युवा र अनुभवि खेलाडीको संयोजन रहेको छ ।

नयाँ खेलाडीको आगमन र देशलाई विश्वकप सम्म पुर्‍याउने पाका खेलाडीको आकांक्षा गर्दा टोली कडा मिहिनेत गर्नेछ । त्यसो त प्रतियोगितामा सहभागि भएका टोलीसँग यस अघि नेपालले प्रतिस्पर्धा गरेर सुखद नतिजा पनि निकालेको छ ।

नतिजा निकाल्दै अनुभव लिइसकेकाले अघिल्लो चरण पुग्नका लागि नेपाललाई मौका हुने छ । नयाँ र पुराना पाका खेलाडीको संयोजन भएकोले टोलीले छनोट हुने लक्ष्य लिएको छ । त्यसमा खेलाडी पनि छनोट हुनेमा आशावादी छन् ।

क्यानले छनोट खेल अघि केही अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्रबन्ध मिलाउने आश्वासन पनि दिएको छ । दुई वर्ष देखी अन्तर्राष्ट्रिय खेलमा सहभागि हुन नपाएको नेपाली महिला क्रिकेट टोली पनि केही अन्तर्राष्ट्रिय म्याच आयोजना भएको अवस्थामा छनोट खेल अघि कमीकमजोरी थाहा पाउने र सोही कमीकमजोरीलाई सुधार गर्दै छनोट खेल खेल्न अपेक्षा राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *