‘एमालेसँग चुनाव लड्न आऊ, एनआरएनसँग होइन’


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) विवादमा टिप्प्णी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले एनआरएन अभियानलाई क्षतिविक्षत तुल्याउन लागिपरेको आरोप लगाएका छन् ।
नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको पहिलो बैठकमा बुधबार बोल्दै ओलीले सरकारले एनआरएन हुन नदिएर फाटो पार्ने काम गरिरहेको समेत बताए ।
परराष्ट्र मन्त्रालय आदेशलाई तामेली गर्ने अड्डामा रुपान्तरण भएको टिप्पणी गर्दै ओलीले सरकारले एनआरएनले ल्याउन लागेको १० अर्ब लगानीलाई रोकेकोे समेत बताए ।
‘यस्तै हुन्छ लोकतन्त्र, सरकार र पार्टी ? अरुलाई लाज नलागेपनि कांग्रेसलाई लाज लाग्नुपर्ने हो’ ओलीले भने, ‘कांग्रेस र अन्य दुई पिछलग्गु पार्टी एनआरएन अभियानलाई क्षतविक्षत बनाउन लागिपरेका छन् ।’
ओलीले भने, ‘सक्छौ भने एमालेसँग लड्न आऊ, एनआरएनसँग हैन ।’ परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि एनआरएनको दशौं विश्व सम्मेलन र महाधिवेशन स्थगित भएको छ । आगामी ६ महीनाभित्र चुनाब गर्ने एनआरएनको तयारी छ ।
जापान लगायतका केही राष्ट्रिय समन्वय समितिमा संस्थापनले धाँधली गरेको भन्दै आफूकहाँ उजुरी परेपछि परराष्ट्रले विवाद साम्य नभएसम्म चुनाव नगर्न निर्देशन दिएको छ ।