प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल फर्किन तयार – Nepal Press

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल फर्किन तयार

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल फर्किन सकारात्मक देखिएका छन् । गत चैतमा नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका अब्दुल्लाहको नेतृत्वमा नेपाल हालै पहिलोपटक साफ च्याम्पिनसीपको फाइनलसम्म पुगेको थियो ।

यद्यपि, मैदानबाहिरका विभिन्न कारणले विवादित र सर्वत्र चर्चाको शिखरमा रहेका अब्दुल्लाले माल्दिभ्सबाट नेपाल नफर्किने बताएका थिए । बंगलादेशविरुद्धको बराबरीसँगै नेपाललाई इतिहासमै पहिलो पटक साफको फाइनलमा पुर्‍याएका अब्दुल्लाहले पत्रकार सम्मेलनमा आक्रोशित हुँदै नेपालबाट फाइनल नै अन्तिम खेल हुने घोषणा गरेका थिए ।

र, सोमाबार बिहान नेपाली टोली साफको उपविजेता बनेर स्वदेश फर्किँदा अब्दुल्लाह आएनन् । अहिले कतारमा रहेका अब्दुल्लाहसँग अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षलगायतले कुराकानी गरेसँगै उनी नेपाल फर्किन सकारात्मक देखिएका हुन् ।

‘आजको छलफलपछि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल फर्किन सकारात्मक देखिएका छन्’ अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाल प्रेससँग भने, ‘नेपाल आउँछु भनेका छन् ।’

नेपालको राष्ट्रिय टोलीको प्रशिक्षकको रूपमा सार्वजनिक हुँदै आफ्नो प्रमुख लक्ष्य नेपाललाई साफ च्याम्पियनसीपको फाइनलमा पुर्‍याउने रहेको बताएका थिए । र, पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई उसैको मैदानमा हराउँदै प्रतियोगितामा शानदार सुरुआत गरेको नेपालले २८ वर्षको प्रतीक्षा पूरा गर्दै फाइनलमा पुगेको पनि थियो ।

आफ्ना प्रमुख लक्ष्यमा नेपाललाई एसियन कपमा छनोट गराउनेसमेत रहेको अब्दुल्लाहले बताएका थिए । नेपाल अहिले एसियन कपको अन्तिम चरणको छनोटको तयारीमा छ । नेपाली टोलीमा रहेका खेलाडीबाट १३ खेलाडी परिवर्तन गर्दै युवा खेलाडीलाई मौका दिएका अल्मुताइरीको नेतृत्वमा नेपालको गोल गर्ने क्षमतामा स्पष्ट सुधार आएको देखिन्छ । र, उनको नेतृत्व नेपाली टोलीले पनि मन पराइरहेका छन् ।

साफ च्याम्पियनसीप खेलेर नेपाल फर्किँदै गर्दा नेपाली राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङ लगायतका खेलाडीले विमानस्थलमा प्रशिक्षक अब्दुल्लाह फर्किए आफूहरू खुसी हुने प्रतिक्रिया दिएका थिए ।

 

यसअघि अब्दुल्लाहले भविष्यबारे केही निश्चित नभइसके पनि समर्थकलाई ठूलो सरप्राइज हुन सक्ने बताएका थिए ।

‘भविष्यको बारेमा थाहा छैन, हेरौं के हुन्छ,’ उनले भनेका थिए, ‘अहिले मलाई एकदमै आवश्यक कुरा भनेको आराम हो । मलाई धरै आराम चाहिएको छ ।’

पछिल्लो ६ महिनादेखि धेरै पसिना बगाएको र त्यो अवधि आफ्ना लागि एकदमै कठिन रहेको बताउँदै उनले आराम गरेर के गर्दा राम्रो हुन्छ भन्ने विचार गर्ने सुनाएका थिए ।

‘कम्तिमा पनि एक–दुई हप्ता आराम गरेर के गर्दा राम्रो हुन्छ भन्ने सोच्छु’ उनले भनेका, ‘भविष्य के हुन्छ भन्ने विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि के के गर्छ । नेपाली समर्थकका लागि एउटा ठूलो सरप्राइज हुनसक्छ ।’

तर त्यसका लागि समर्थकले प्रतीक्षा गर्नुपर्ने उनले बताएका थिए ।

र, बुधबार नै एन्फा अध्यक्ष शेर्पाले फेसबुकमा अब्दुल्लाहसँगको तस्वीर पोस्ट गर्दै लेखेको क्यापसनले पनि सकारात्मक सन्देश दिएको छ ।

‘नेपाली राष्ट्रिय फुटबल टिमलाई थप मजबुत बनाउने सम्बन्धमा आजको हाम्रो छलफल,’ अध्यक्ष शेर्पाले लेखेका छन् ।

प्रशिक्षक अब्दुल्लाहले नेपाली टोलीलाई खेलाडीहसँगै सबै स्टाफलाई माया गर्ने बताएका थिए ।

‘म सबै नेपालीलाई माया गर्छु । म नेपालीलाई के भन्न चाहन्छु भने उनीहरु म मेरो अन्तिम अवस्थासम्म नेपाललाई माया गरिरहन्छु भन्नेमा सतप्रतिशत निश्चिन्त हुनुपर्छ,’ उनले भनेका थिए, ‘नेपाली समर्थकले आफूलाई समर्थन र एकदमै माया गरेकाले आफूले सधैं नेपाललाई माया गरिरहने छु ।

तस्वीरहरू: एन्फा ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *