सहारालाई पशुपति विकास कोषमा नियुक्त गर्न नेकपा एसका सम्मानित नेता खनालको दबाब – Nepal Press

सहारालाई पशुपति विकास कोषमा नियुक्त गर्न नेकपा एसका सम्मानित नेता खनालको दबाब

ओलीले राजदूत नबनाइदिएपछि भड्किएका खनाल प्रचण्ड-माधव गुट बनाउन खटिएका थिए

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूनिकट सहारा न्यौपानेलाई पशुपति विकास कोषको कोषाध्यक्षमा नियुक्त गर्न दबाब दिएपछि समाजवादीको राज्य व्यवस्था विभागका नेताहरू अप्ठेरोमा परेका छन् ।

राजकीय मामिला विभागको प्रमुखमा राजेन्द्र पाण्डे छन् । नेताहरूले सहारा न्यौपानेको नाममा आएको दबाबबारे पार्टी अध्यक्ष माधव नेपाललाई जानकारी गराइसकेका छन् ।

मन्त्रीमा भाग नपाएर असन्तुष्ट बनेका खनालले सहारालाई पशुपति विकास कोषमा नियुक्त गर्न दबाब दिइरहेका छन् । कोष पर्यटन मन्त्रालयअन्तर्गत पर्छ । पार्टीको विभागबाट औपचारिक सिफारिस आएपछि उनलाई नियुक्ति गरिने भएको छ ।

सहारा न्यौपाने तीनै महिला हुन् जसलाई खनालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा दुबईको राजदूत बनाउन दबाब दिएका थिए । सहारासँगै दुबई भ्रमणबाट फर्किएपछि खनालले राजदूतमा कोटा मागेका थिए ।

‌ओलीले उनको योग्यता नपुग्ने भन्दै राजदूत बनाउन अश्वीकार गरेपछि खनाल प्रचण्ड-माधव समूह निर्माणमा अग्रसर भएका थिए ।

खनालकै सिफारिसमा सहाराका श्रीमान् शिवशरण न्यौपानेलाई तत्कालीन पर्यटनमन्त्री दीपक अमात्यले नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा नियुक्त गरेका थिए ।त्यसबेला पतिलाई कार्यकारी अध्यक्ष बनाउन नमान्दा सहाराले खनालविरुद्ध नै पत्रकार सम्मेलन गर्न खोजेकी थिइन् ।

त्यसअघिका मन्त्री भीम आचार्यले न्यौपानेबाट निगम नचल्ने भन्दै झलनाथको दबाब अश्वीकार गरेका थिए । त्यसपछि तत्कालीन एमाले अध्यक्ष खनालले आचार्यलाई मन्त्रीबाट हटाएका थिए । न्यौपानेको निधन भइसकेको छ ।

पशुपति विकास कोषको सदस्य सचिवमा तान्त्रिक मिलनकुमार थापा नियुक्त भइसकेका छन् । स्रोतका अनुसार न्यौपानेको योग्यता नपुग्ने भन्दै नेकपा एसभित्रैबाट उनलाई नियुक्त नगर्न अध्यक्ष माधव नेपालसमक्ष दबाब परेको छ । नेपालले त्यही भएर मन्त्री प्रेम आलेलाई कुनै निर्देशन नदिएको नेपालको सचिवालय स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर