सुर्खेतमा अन्तरपालिका फुटबल प्रतियोगिता हुने – Nepal Press

सुर्खेतमा अन्तरपालिका फुटबल प्रतियोगिता हुने

सुर्खेत । काँक्रेबिहार युबा क्लब सुर्खेतले कात्तिक १० गतेदेखि सुर्खेतमा अन्तरपालिका फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । सुर्खेत जिल्लाका नौवटै स्थानीय तहको टोलीको सहभागिता रहने आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

प्रतियोगिताको विजेता टोलीले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । कर्णालीमा फुटबल संस्कृतिको विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष चन्द्र प्रकाश शाहीले बताए ।

‘सुर्खेत जिल्लाका खेलाडिलाई पहिलो प्राथमिकता दिन र क्षमता अभिबृद्वी गर्न मिनि गोल्डकपको रुपमा प्रतियोगिता सुरु गर्न लागेका हौं,’ उनले भने, ‘यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि खेलकुदबाट सहयोग गर्न लागेका हौं ।’

कात्तिक १० देखि १४ गतेसम्म आयोजना हुने प्रतियोगिताका लागि ७ गतेसम्म टिम दर्ताको समय तोकिएको छ । ६ वटा टोलीले सहभागिता निश्चित गरिसकेको अध्यक्ष शाहीले जानकारी दिए ।

टिम दर्ताका लागि १० हजार रुपैयाँ तोकिएको छ भने प्रतियोगिताभर खाने/बस्ने व्यवस्था टिम आफैंले गर्नुपर्नेछ । सोही व्यहोरासहितको पत्र सबै स्थानीय तहमा पठाइएको पत्रकार सम्मेलनमा शाहीले बताए ।

प्रतियोगिताका लागि ६ लाख खर्च लाग्ने अनुमान क्लबले गरेको छ । त्यसका लागि वीरेन्द्रनगर नगरपालिकाको दुई वडा, नपरपालिका, कर्णाली खेलकुद परिषद, जिल्ला फुटबल र खेलकुद विकास समिति तथा सामाजिक विकास मन्त्रालयले सहयोगको आश्वासन दिएका छन् ।

वीरेन्द्रनगर रंगशालामा आयोजना हुने प्रतियोगिता हेर्न आउने दर्शकका लागि पनि टिकटको व्यवस्था गरिएको छ । टिकट शुल्क २० रुपैयाँ निर्धारण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *