च्याम्पियन्स लिगः मेस्सीको २ गोलमा पीएसजीको पुनरागमन जित – Nepal Press

च्याम्पियन्स लिगः मेस्सीको २ गोलमा पीएसजीको पुनरागमन जित

एजेन्सी । लियोनल मेस्सीले २ गोल गर्दा च्याम्पियन्स लिगमा पीएसजीले आरबी लाइपजिगमाथि ३–२ गोलअन्तरको जित हासिल गरेको छ ।

केलियन एम्बाप्पेले सुरुआतमै गोल गरी घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनको काउन्टर एट्याकमा गोल गरेका हुन् ।

तर आन्द्रे शिल्भा र नोर्डी मुकिलेले एन्जेलिनोको क्रस सदुपयोग गरी गोल गरेपछि जर्मन टोली लाइपजिङले अग्रता बनायो ।

त्यसपछि मेस्सीको एउटा प्रहार पोलमा लागेर फकिँदा रिबाउण्ड बलमा उनैले ट्यापिङ गरी गोललाइनबाट गोल गर्न सके । खेल बराबरीमा आयो । त्यसको सात मिनेटपछि मेस्सीले पेनाल्टीमार्फत गोल गरे ।

पीएसजीले खेलको इन्जूरी समयमा अर्को पेनाल्टीको अवसर पायो । ह्याट्रिकको अवसरमा रहेको मेस्सीको सट्टा एम्बाप्पेले सो पेनाल्टी प्रहार गर्न अघि सरे । उनको प्रहार बाहिरियो ।

पीएसजीका लागि पछिल्लो ११ पेनाल्टी प्रहार गरेका एम्बाप्पेले मेस्सीकै आग्रहमा आफूले पेनाल्टी प्रहार गरेको बताएका छन् । उनले यसलाई सामान्य रुपमा लिएको र सम्मानको रुपमा ग्रहण गरेको बताए ।

‘उनी संसारकै सबैभन्दा उत्कृष्ट खेलाडी हुन् र मैले पहिलेदेखि नै भन्दै आएको छु उनीसँग खेल्न पाउँदा धन्य छु । पहिलो पेनाल्टीमा उनले प्रहार गरे र दोस्रोमा उनले मलाई हान्न भने,’ एम्बाप्पेले भने ।

यो जितपछि फ्रेन्च टोली पीएसजी ७ अंकसहित च्याम्पियन्स लिगको समूह ए मा शीर्ष स्थानमा पुगेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६ अंक छ ।

यही सिजन बार्सिलोनाबाट पीएसजी पुगेका मेस्सीले १२३औं च्याम्पियन्स लिग गोल गरेका छन् । लाइपजिगसमेत गर्दा उनले च्याम्पियन्स लिगमा ३७ टोलीविरुद्ध गोल गरेका छन् । उनले यो सिजन आफ्नो गोलसंख्या ३ पु¥याएका छन् । यसअघि म्यानचेस्टर सिटीलाई पराजित गर्दा पनि उनले १ गोल गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *