‘बा’संस्कृति, ओली र ‘गोकुल–महेशधन्दा’ – Nepal Press
ब्लग

‘बा’संस्कृति, ओली र ‘गोकुल–महेशधन्दा’

अहिले नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई शक्तिशाली बनाउने निहुँमा गैरमाक्र्सवादी चिन्तन मौलाउन थालेको छ । पार्टीमा बीच–बीचमा यस्ता गैरमाक्र्सवादी चिन्तनहरु निरन्तर बिजाङ्कुर भइरहने र विकृत ऐंजरु बनेर दक्षिणपन्थतिर लैजाने काम काम भइरहन्छ ।

यसर्थ बिजाङ्कुर भइरहेको समयमा यसलाई सानो कुरा भनेर नजरअन्दाज गर्न मिल्दैन । पार्टीभित्र उम्रिरहने यस्ता झारपातहरु हामीले समय समयमा गोडमेल गर्नुपर्छ । यसबाट पार्टीमा असल पक्ष शक्तिमा रहिरहने र कमसल पक्ष सुषुप्त अवस्थामा रहने हुुन्छ र पार्टी बलियो हुन्छ ।

पार्टीमा सकारात्मक पक्ष शक्तिमा रह्यो र नकारात्मक पक्ष सुषुप्त रह्यो भने पार्टी अग्रगमनतिर जान्छ । सुषुप्त पक्ष जाग्रित भएर सकारात्मक पक्षलाई थकेल्दै आफू शक्तिशाली बन्दै गयो भने पार्टी ‘अधगमन’तिर जान्छ । जसरी शरीरमा मरणशील पक्ष र जीवनशील पक्ष एकै ठाउँमा आपसमा भिडिरहेका हुन्छन्, त्यसरी नै एउटै पार्टीमा दुवै पक्ष हुन्छ । दुवै पक्ष भिडिरहन्छन् । यही नै द्वन्द्ववादको नियम हो ।

ओली द्वन्द्ववाद मन पराउँदैनन् । उनले फरक पक्षसँग वाद, प्रतिवाद, संवाद होइन कि, प्रतिपक्षलाई सिधै निषेध गरिदिन्छन् । प्रतिपक्षलाई एकता र संघर्षको आधारमा व्यवस्थित गरी वाद प्रतिवाद संवाद हुँदै अघि जानु पर्छ । वाद, प्रतिवाद, संवादले सकारात्मक दिशातिर अभिमूख बनाउँछ । त्यसले प्रतिपक्षसँग एकता र संघर्षको विधिबाट अघि बढ्न सिकाउँछ । तर आश्चर्य ओली प्रतिपक्ष बीचको संघर्षमा जान चाहन्नन् ।

प्रतिपक्षविहीनको अवस्थामा गएर आफूलाई शक्तिशाली बनाउँछन् । केही समय व्यक्ति शक्तिलशाली बन्ला कालान्तरमा व्यक्तिको आधार पार्टी कमजोर बन्दै जान्छ । यसको लागि धैर्यता आवश्यक छ । त्यो धैर्यता ओलीसँग छैन । यदि प्रतिपक्षलाई निषेध नगरिदिएका भए र धैर्यतापूर्वक वाद, प्रतिवाद, संवादमा गएको भए दुईतिहाईको बहुमत कायम रहने थियो ।

द्वन्द्ववाद लागू गर्ने सवालमा त ओली परिपक्व देखिएनन् । बरु नेपाली कांग्रेस अरु परिपक्व देखियो । २०३६ सालदेखि अहिलेसम्म फरक मत रहिरहने वाद, प्रतिवाद, संवाद पनि कायम रहिरहने तर नफुटेको अवस्था कांगे्रसमा देखिएको छ । शेरबहादुर देउवाको कारण एकपटक समस्या देखिए पनि त्यो अहिले छैन । यस विषयमा रामचन्द्र पौडेल धेरै अघि रहेछन् ।

एमिवाले टुक्रिएर संख्या बढाउँछ । अरुले जन्माएर बढाउँछन् । मोहन विक्रम सिंह पनि द्वन्द्ववादी हैनन् । उनी व्यक्तिवादी हुन् । उनी पनि एमिबाइक सिष्टममा छन् । ओली पनि त्यही पुगेका छन् । जन्माएर हैन कि टुक्रिएर फुट्ने सिस्टम एमिबाइक सिष्टम हो ।

अब पार्टीमा परक मत राख्नेहरुलाई ओलीले समाप्त पारिदिन्छन् । निषेध नै गरिदिन्छन् । १० बुँदे सम्झौता गरेर अडिएका नौ भाइमध्ये घनश्याम भुसालले जसको विचार उसको नेतृत्व भन्ने नैतिक नाराका साथ आफूले केन्द्रीय अध्यक्षमा दाबी गर्ने कुरो सुन्दा अहिले घनश्यामले पार्टी फुटाल्न थाल्यो भन्दै कोकोहोलो मच्याउन थालिसकिएको छ ।

महाधिवेशनमा जित्न त ओलीले जित्छन् । त्यसमा द्विविधा छैन तर फरक मत खेल्न दिनु पर्छ । त्यसलाई गुटको रुपमा नभइ विचारको रुपमा एकता र संघर्षको विधिबाट अघि लैजानु पर्छ । त्यस्तो गरिएन भने भोलि फेरि पनि एमिबा चोइटिएर नयाँ एमिबा भएझैं नयाँ दल जन्मन्छ । यो क्रम फेरि फेरि पनि चलिरहन्छ । पार्टी कमजोर बन्दै जान्छ । यो कुरा मोहन विक्रम सिंहबाट सिक्नु पर्छ ।

अहिले एमालेमा ‘गोकुलधन्दा’ चलेको छ । पार्टीमा अनुशासनको नाममा अराजकता आएको छ । गोकुल ओलीका ‘पोष्यपुत्र’ सरह हुन् । उनले बालकोटमा ओलीका घरमा डेरा बस्दा उनलाई ‘बा’ भन्न थाले । त्यो अभियानमा महेश बस्नेतसँग जोडियो । महेश बस्नेत र गोकुलले अरु नेतालाई निष्क्रिय र तटस्थ बनाउँदै सहरका युवाहरु, विद्यार्थीहरु, किशोर किशोरीहरुमा ‘बा’ संस्कार भरे ।

धेरैले ओलीलाई श्रद्धापूर्वक ‘बा’ भने । केन्द्रीय कमिटीका समकालीन कमरेडहरुले ‘बा’ भन्दा के फरक पर्ला र भन्ने गरी हल्का–हल्का मुस्कुराउँदै तटस्थ बने । उनीहरुले यो ‘बा’ संस्कृतिलाई नजरअन्दाज गरिदिए । बालकोटमा ओलीलाई साना साना बच्चा लगेर ‘बा’ भन्न सिकाइयो । काठमाडौंमा ठूलै संख्यामा ‘बा’ संस्कृतिको जग बसालियो । केही भाटहरुले ‘बा’ कविता लेखे । कोही झोलेहरुले ‘बा’ लेख लेखेर प्रचार गरे । उता ओली खुसीले भुइँमा टेकेनन् । काठमाडौंमा ‘बा’ संस्कृतिको जग बसाल्न सकेकोमा गोकुल, महेशहरु खुसीले उफ्रे ।

अहिले ‘बा’ संस्कृति माक्र्सवाद भित्र ठीक हो कि हैन भन्ने बहस चलाइँदै छ । काठमाडौंमा विधान अधिवेशन भएपछिको एमाले अलि संगठित देखियो । उनीहरु ‘बा’ संस्कृतिको पक्षमा पूरै बंकर खनेर युद्धको तयारीमा जुटेजस्तै देखिए ।
‘बा’विरुद्ध बोल्यो कि एक भएर स्याल हुइँया चलाए । आश्चर्य यो बहसमा जिम्मेवार नेताहरु पनि ‘बा’ संस्कृतिको पक्षमा देखिए । उनीले ओलीलाई लोकप्रिय र शक्तिशाली नेता बनाउनु पर्छ भन्न थालेका छन् । एकपटक मोहन विक्रमले पनि एक्लै क्रान्ति गर्छु भनेर फरक विचारलाई विस्थापन गरेका थिए । तर उनी झन् कमजोर भए ।

त्यसैले ‘बा’ संस्कृति वास्तवमा सही हो त ? पिता, बा, बाबा, बुवा आदि शब्दहरु पर्यायवाची शब्द हुन् । पिता, बुबा, बा बुवा जन्मदातालाई भनिन्छ । पिता माताका भाइहरु, दाजुहरु, देवर जेठाजुहरुलाई पनि ‘बा’ जोडेर सम्बोधन गरिन्छ । माहिला बा, काहिला बा, ठूला बा पनि भनिन्छ । आमाका भिनाजु र बैनी ज्वाइँलाई पनि साना बा ठूला बा भनिन्छ । त्यो भन्दा पर ‘बा’ भने पनि ‘बा’ भन्ने नातो हैन । जन्मदाता बाको आनुवांशिक सम्बन्धलाई ख्याल नगरी सबैलाई सम्बोधन गर्न हुँदैन । बाको सम्बन्ध सिधै आमासँग हुन्छ । यो आनुवांशिक सम्बन्ध हो । अरु बाको सम्बन्ध पनि आमा र बाको सम्बन्धबाट नै हुन्छ । त्यसैले ‘बा’ शब्द कसैलाई नभन्दा राम्रो हुन्छ ।

नाताहरु धेरै छन् । बादेखि सोल्टीसम्म, भिनादेखि सैनासम्मका नाताहरु बनेका छन् । हरेकलाई नातासम्बन्धबाटै सम्बोधन गरिन्छ । यस्तो अवस्थामा कमरेड शब्द विस्थापन गर्नका लागि अहिले एमालेमा ‘बा’ संस्कृति ल्याइएको छ ।
एमालेमा ओलीलार्ई मात्र ‘बा’ हैन, पचास वर्ष माथिका सबै नेतालाई नयाँ पंक्तिले सहजै ‘बा’ भन्छ । अब एक दशकभित्र ‘बा’ शब्द राम्रोसँग स्थापित हुन्छ । हुँदाहुँदै यो ‘बा पार्टी’ बन्छ । नयाँ किशोर किशोरीहरुले ओलीलाई मात्र हैन, त्यो उमेरका सबैलाई ‘बा’ भन्छन् । ‘बा’ नभन भनेर विज्ञाप्ति जारी गर्नु पनि भएन, मन परेको पनि छैन ।

हाम्रा केही बसका सहचालकहरुले भाडा असुल्दा ‘बा–आमा’ भन्छन् । उनलाई त्यो भन्न राम्रो लाग्छ होला । तर सबै यात्रुले आफूलाई बा–आमा भनेको राम्रो ठान्दैनन् । त्यसको ठाउँमा अंकल, दाजु, दिदी, बहिनी, सर मेडम आदिभन्दा अलि सहज ठान्छन् । बा भनेर प्रचार गर्नेहरु पनि सहचालक जस्तै हुन् । जसले न त राम्रोसँग शिष्टाचार जानेको छ न त समाजशास्त्र नै जानेको छ । स्वमनोविज्ञान थाहा छ तर परामनोविज्ञान थाहा छैन ।

अनि माक्र्सवादीहरुलाई बा सँस्कृति कति राम्रो होला ? यो त गैरमाक्र्सवादी क्याम्पबाट आएको हो । नेपालमा ओलीको वरिपरि घुम्ने र उनलाई प्रभाव र विश्वासमा पारेर राज्य धुत्नेहरुको फौजको रणनीति हो । यसले उट्पट्याङ गर्छ । कहिले बाँदर जुलुस निकाल्छ । कहिले जयजयकार गर्दै ओलीलाई बालकोट पुराउँछ र बार्दलीबाट भाषण गर्न लगाउँछ ।

विपक्षीहरुलाई गाली गरेको छ, सरापेको छ । गाली संस्कृतिमा मलजाल गरेको छ । यसले ओम्नी काण्डमा नजरअन्दाज गर्न बाध्य बनायो । सत्तरी करोडको हल्ला चलायो । यस समूहले नागरिकमा नेताप्रति विश्वास घटायो ।

ओलीले पनि मच्ची मच्ची गाली गर्छन् । उनका भाषणहरु गालीका कारण चोपिला हुन्छन् । हल्का ठट्टा प्रहसन गालीको कारण भाषण नयाँ नयाँ युवाहरु, किशोर किशोरीहरुले ठीक ठान्छन् । तर समाजमा त्यसको गम्भीर प्रभाव पर्छ । ओलीले आफै पनि गाली बन्द गर्नुपर्छ । ओली पनि आफ्नो प्रशंसा गर्नेहरुलाई मात्र ठीक ठान्छन् । आलोचना खप्नै सक्दैनन् । बा शब्दले उनलाई हल्का र उपहासको पात्र बनाएको छ । यो उनलाई थाहा छैन । बा गरिममामय शब्द हो ।

ओली आफैं राजनेता बन्न सकेका छैनन् । राजनेता बन्नको लागि मधेस, थारु, जनजाति, कर्णाली, दलित, मुस्लिम, महिला अपाङ्गता, अल्पसंख्यक यौनिक समुदाय, विपन्न सबैले स्वीकार गर्नुपर्छ । आफू सत्तामा आउँदा सत्ता टिकाउन विश्वास दिएर मधेस फुटाल्ने उता आफू प्रतिपक्षी बन्दा संसद जाम गरेर नागरिकता विधेयक पारित गर्न दिएनन् ।

संविधान दिवसको दिन मधेसलाई कटाक्ष गरे । ओली खुराफात र ट्रिकमा चल्छन् । यसले समाजलाई राम्रो गर्दैन । उनी आरक्षणको विषयमा पनि स्पष्ट छैनन् । संघीयताप्रति पनि उनको सकारात्मक भावना छैन ।

यसर्थ उनी हल्का उत्ताउला र अपरिपक्व आसेपासेको घेराबाट मुक्त हुनु पर्छ । बा शब्दको प्रयोगले आफ्नो वजन घटाएको बुझ्न सक्नु पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *