गृहमन्त्री भएपछि पहिलोपटक गृहजिल्ला पुगेका खाँड विवादमा – Nepal Press

गृहमन्त्री भएपछि पहिलोपटक गृहजिल्ला पुगेका खाँड विवादमा

विमानस्थलको सुरक्षामाथि प्रश्न, ९९ सय किलोको माला पनि विवादित

रूपन्देही । असार २९ मा गृहमन्त्री बनेका बालकृष्ण खाँण कात्तिक १ गते गृहजिल्ला रूपन्देही आउँदा विवादमा तानिएका छन् । स्वागतका लागि भैरहवा विमानस्थलमा कार्यकर्ताको भीड लगाएर विमानस्थलको सुरक्षा व्यवस्थाको धज्जी उडाएको भन्दै उनको आलोचना भएको हो ।

सरकारले जारी गरेको कोरोना संक्रमणबाट बँच्न कायम गर्नुपर्ने भौतिक दूरीको समेत बेवास्ता गर्दै विमानस्थलको रनवे मै कार्यकर्ता पुगेपछि गृहमन्त्रीको आलोचना भएको हो ।

गृहमन्त्री भएपछि पहिलोपटक रुपन्देही आएका खाँणलाई स्वागत गर्न रुपन्देहीका काँग्रेस कार्यकर्ताहरु विमानस्थलको सबै सुरक्षा घेरा पार गर्दै रन–वेमा नै पुगेका थिए । सर्वसाधारणलाई मेटल डिक्टेक्टर र छामछुम गर्ने सुरक्षाकर्मीहरु गृहमन्त्रीका कार्यकर्ताका अगाडि निरीह बनेका थिए । गृहमन्त्री खाँणलाई स्वागत गर्ने नाममा विमानस्थलको सुरक्षा व्यवस्थामाथि ठूलो खेलबाड भएको भन्दै त्यहाँ उपस्थित यात्रुहरुले टिप्पणी गरेका थिए ।

वर्षाले पूर्वनिर्धारित कार्यक्रम ढिलाइ भएपनि रूपन्देहीमा ८ घण्टा बिताएका गृहमन्त्री खाँणको सम्मानमा प्रयोग गरिएको ठूलो माला पनि आलोचनाको अर्को विषय बनेको छ । यसमा पनि कार्यकर्ताको दोष बढी रहेको भन्दै सामाजिक सन्जालमा आलोचना बढेको छ ।

गृहमन्त्री खाँणलाई उनकै निवासमा बधाई तथा स्वागत कार्यक्रममा सहभागी हुने क्रममा ९९ किलोको माला पहिराइएको भन्दै आलोचना थपिएको छ । सामाजिक सन्जालमा आलोचना बढेपछि आयोजक नेपाली काँग्रेस तिलोत्तमा नगर समितिले माला १५ किलोको मात्र रहेको दावी गरेको छ । गृहमन्त्री खाँणले माला पहिरिएको तस्बिर आलोचित बन्दै सामाजिक सञ्चालहरुमा फैलिएका छन् ।

सोमबार बिहान पौने १० बजे भैरहवा विमानस्थल आइपुग्ने कार्यसूची भएपनि वर्षासँगै मौसममा आएको खराबीका कारण दिउँसो साढे १ बजे गृहमन्त्री खाँण भैरहवा ओर्लिएका थिए । उनलाई स्वागत गर्न बसेको ठूलो भीडसँगै विमानस्थलबाट बाहिरिएका उनले नेपाली काँग्रेस रुपन्देहीले आयोजना गरेको कार्यक्रममा सहभागी भए ।

काँग्रेस नेता स्व. प्रेम खरेलको शोकसभामा सहभागी हुन रुपन्देही आएका उनले बुटवलको ज्योतिनगर पहिरोको अवलोकन गरेका थिए । साँझपख ज्योतिनगर पहिरो हेर्न पुगेका उनले करिब १ घण्टा सोही ठाउँमा विभिन्न पक्षसँग छलफल गरे । अँध्यारोमै पहिरो अवलोकन गरेर फर्किएका खाँणलाई काँग्रेस तिलोत्तमा नगरसमितिले आफ्नै निवासमा माला लगाएर स्वागत गरेको थियो ।

उनलाई गरिएको स्वागतमा प्रयोग भएको माला नै आलोचनाको थप कारण बन्न पुगेको छ । तिलोत्तमाको कार्यक्रमपछि गृहमन्त्री खाँण राति नै काठमाण्डौं फर्केका हुन् ।


प्रतिक्रिया

One thought on “गृहमन्त्री भएपछि पहिलोपटक गृहजिल्ला पुगेका खाँड विवादमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर