टापुमै अड्किए पाँच स्थानीय, रुख चढेर ज्यान जोगाउँदै – Nepal Press
महाकाली बाढी अपडेट

टापुमै अड्किए पाँच स्थानीय, रुख चढेर ज्यान जोगाउँदै

कैलाली । महाकालीमा आएको बाढीका कारण नदीको बीच टापुमा पाँचजना स्थानीय अड्किएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा एकै परिवारका ५ जना महाकाली नदीको टापुमा फसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उनीहरू टापुमै बसोबास गर्दै आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेले बताए । प्रहरीको टोली अझै त्यहाँ पुग्न नसकेको बताए ।

उनले भने, ‘टापुमा पाँचजना स्थानीय फसेका छन् । हाम्रो टोली अझै त्यहाँ पुग्न सकेको छैन । कसरी उद्धार गर्ने भन्नेबारे छलफल गरिरहेका छौं ।’ उनीहरू अहिले रूपमा चढेर ज्यान जोगाइरहेको उनले बताए ।

महाकालीमा अहिले पनि पानीको सतह खतराभन्दा निकै माथि छ । १० बजे ४ लाख ९० हजार क्युसेक मापन गरिएको डिएसपी न्यौपानेले बताए । महाकालीमा एक लाख क्युसेक पानी पुगेमा खतरा मानिन्छ ।

अहिले नदी किनारका दुवैतर्फ करिब २ सय बढी घर डुबानमा समेत परेका छन् ।

भीमदत्त नगरपालिकाको वडा नम्बर ९, १२ र १३ तथा दोधारा चाँदनी नगरपालिका वडा नम्बर १० को कुतियाकबर क्षेत्रका दुई सय घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

बाढीले चार लेनको महाकाली पुललाई जोड्ने पहुँच मार्गका रूपमा निर्माण भइरहेको ६ लेनको सडकमा पनि क्षति पुर्‍याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर