सीमावर्ती सेतो भीरको पुलमा ठोरीका युवाले गाडे राष्ट्रिय झण्डा (भिडियाेसहित)


चितवन । सीमा क्षेत्र नजिकको पुलमा पर्साको ठोरी गाउँपालिकाका युवाहरुले नेपाली झण्डा फहराएका छन् । नेपालको पहिचान दिदै ठोरीको पर्यटन प्रवद्र्धनका लागि ठुटे खोला पुलको दायाँबायाँ राष्ट्रिय झण्डा राखेका हुन् ।
ठुटे खोला क्षेत्रमा बेलाबखत सीमा विवाद हुदै आएको थियो । पर्साको ठोरी गाउँपालिका २ अन्र्तगत सेतो भिर (परेवा भित्ता) को फेदीमा रहेको ठुटे खोलामा एक दर्जन झण्डा फरफराउन थालेका छन् ।
यो क्षेत्र ४३५ नम्बर सीमा स्तम्भ नजिकै पर्छ । केही पर भारतीय सीमा सुरक्षा बलको क्याम्प पनि छ । ठुटे खोलामा रहेका तीन नहरमध्ये एउटा नहर ठोरीको बुद्धनगर, ओढार लगायतका ठाउँ, र अन्य दुईवटा नहर भारततर्फका वस्तीमा सिँचाईका लागि प्रयोग हुदै आएका थिए । नहर पुरिने भएपछि तत्कालिन अवस्थामा भारतीय पक्षले अवरोधले पुल निर्माणमा ७ वर्ष र सञ्चालनमा ४ वर्ष ढिलाई भएको थियो ।
झण्डा राख्ने कामका अभियान्ता सुदिप थापाले ठोरीको पहिचान दिन झण्डा राखिएको बताए । ‘वीरगञ्जबाट ठोरी आउँदा होस् वा ठोरीबाट बाहिरिदा मनमा नेपाल रहोस् भनेरै झण्डा राख्यौँ’, उनले भने, ‘भारतीयहरु पनि ठोरी आउँदा नेपाललाई सम्झिनेछन्, यो नेपालको ऐतिहासिक भूमि हो ।’ करिब २०२५ सालदेखि नै भारतले ठुटे खोलाको पानी नहरमार्फत लैजाने गरेको अनुमान छ । पुलको करिब २० मिटर दक्षिणतर्फ ४ सय ३५ नम्बरको सीमा स्तम्भ छ ।
ठुटे खोलाको पुल २०६८ वैशाखदेखि बन्न थालेको थियो । संयुक्त सीमा सर्भे टोलीद्वारा २०७२ मा सर्वेक्षणपछि सीमा स्तम्भ राखिएको थियो । त्यसपछि बल्ल पुल निर्माणले गति पाएको थियो ।
‘ठोरी केही वर्ष पहिले भारतीय पक्षबाट निकै प्रताडीत क्षेत्र थियो, अहिले विवाद छैन’, उनले भने, ‘दुई देशबीचको सुमधुर सम्बन्ध कायम गराउन पनि आवश्यक छ ।’ प्रदेश–२ को पर्यटकीय क्षेत्रका रुपमा ठोरी चिनिएपनि आवश्यक पूर्वाधार विकासमा पछि परेको छ ।
राईधारा, रानीवन, रेडहिल, सेतो डाँडा, सीता गुफा, सिने पर्वत लगायतका गन्तव्यहरु ठुटे खोला आसपासमै छन् । ‘ठोरीका गन्तव्य प्रचारको पहिलो प्रयास पनि हो’, उनले भने, ‘नेपाली झण्डाले सबै नेपालीको राष्ट्रियता झल्काउने छ ।’