‘बोक्सी’ को आशंकामा देवरले गरे भाउजुको हत्या, केरा खुवाएर गर्भ तुहाएको आरोप – Nepal Press

‘बोक्सी’ को आशंकामा देवरले गरे भाउजुको हत्या, केरा खुवाएर गर्भ तुहाएको आरोप

जनकपुरधाम । महोत्तरीको महोत्तरी गाउँपालिका- ३ मडैका ४२ वर्षीय संजय कुमार झा अन्धविश्वासको कारण आफ्नै भाउजुको हत्या गरेको रहस्य खुलेको छ ।

अनुसन्धानको क्रममा यस्तो रहस्य खुलेपछि संजयलाई महोत्तरी प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । प्रहरीका अनुसार संजयले असोज २७ गते राति भाउजु ४२ वर्षीया शिलादेवी झाको हत्या गरेका हुन् । टाउकोमा हतौडा प्रहार गरी हत्या गरिएको अवस्थामा शिलादेवीको शव असोज २८ गते घरमै फेला परेको थियो ।

तुनामुना गरी केरा खुवाएर श्रीमती रिंकु देवी झाको गर्भ तुहाएको र मार्ने प्रयास गरेको आरोपमा संजयले भाउजु शिलादेवीको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका इन्सपेक्टर रंजन मिश्रले जानकारी दिए ।

०७८ असारमा संजय र रिंकुवीच विवाह भएपछि शिलादेवीसंगै संगोलमा बस्थे उनीहरु । सो क्रममा एकदिन शिलादेवीले दिएको केरा रिंकुले खाइन् । सोही राति रिंकुको गर्भ तुहियो र बिरामी भइन् ।

घरमा निको हुने अबस्था नदेखेपछि संजयले श्रीमती रिंकुलाई उपचार गराउन जनकपुर लगे । तर अस्पतालमा उपचार गराउदा पनि उनी निको भइनन् । त्यसपछि धामी झाक्रीको सहारा लिए ।

झाक्री लगाउदा रिंकुले काम्दै भनिन्, ‘म कृष्णा हुँ । आमा शिलादेवीले म र मेरो बुवा लालकिशोरलाई मारेकी छन् । अब संजयको श्रीमती रिंकुलाई मार्छु ।’रिंकुले झाक्री अगाडी यसरी बोलेपछि शिलादेवी बोक्सी रहेको निश्कर्षमा पुगे उनका श्रीमान् संजय ।

शिलादेवीले केरा खुवाएको कारण श्रीमतीको गर्भ तुहिएको र विरामी परेको भन्दै संजय आक्रोशित बने । र आफ्नो परिवार सुरक्षित बनाउन शिलादेवीलाई मार्ने योजना बनाए ।

प्रहरीका अनुसार संजयले शिलादेवीलाई १२ लाख ३९ हजार रूपैया सापटी समेत दिएका थिए । आफ्नो श्रीमतीलाई नै मार्न खोजेको अन्धविश्वासमा परेपछि रुपैया फिर्ता मागे । तर रूपैया पनि फिर्ता गर्न आलटाल गरेपछि आक्रोस थाम्न सकेनन् ।

भाउजु शिलादेवीको हत्या गर्ने योजनाका साथ संजय असोज २७ गते जनकपुरबाट मडै पुगेर घरमा बसे । सोही राति हतौडाले टाउकोमा हानेर शिलादेवीको हत्या गरे, अनी फरार भए । पक्राउ परेपछि संजयले अपराध स्वीकार गरिसकेको प्रहरीको दावी छ ।

संजयमाथि प्रहरीले थप अनुसन्धान तथा कारबाही अगाडी बढाएको जनाएको छ । तर उनीमाथि कुन मुद्दा चलाएको कुरा प्रहरीले उल्लेख गरेका छैन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर