दसैं मानेर कर्मथलो फर्कने चटारो – Nepal Press

दसैं मानेर कर्मथलो फर्कने चटारो

रुपन्देही । दसैं मान्न जन्मथलो फर्किएपछि केही दिनबाट सुनसान बनेका रुपन्देहीका मुख्य बजारहरुमा आइतबारदेखि भने चहलपहल शुरु भएको छ ।

दसैंअघि गाउँ गाउँ जाने सवारी साधनमा बढेको भीड अहिले बजार फर्कने सवारी साधनमा देख्न सकिन्छ । विभिन्न पेशा व्यवसाय तथा रोजगारीका लागि बजारमा बसेकाहरु दसैंको टीका लगाउन आफ्नो पुख्र्यौली थलो, आफन्त तथा मान्यजनकहाँ गएपछि विगत ४÷५ दिनयता मुख्य बजार सुनसान बनेको थिए । तर आइतबारदेखि भने दसैंको लागि बिदा गरिएका सरकारी तथा गैरसरकारी संस्थाका कार्यालयहरु खुलेपछि मानिसहरुको आवतजावत बाक्लो बनेको छ ।

दसैंका ३/४ दिन खाली बनेका सडकमा पनि आज सवारीसाधनको आवतजावत बाक्लोगरी संचालन भएका छन् । गाउंघर गएका सर्वसाधारण बुटवल फर्किएपछि औषधि, खाद्यान्न, दूध तथा तरकारीका पसलहरु पनि खुलेका छन् ।

बसपार्क तथा बजारका चोकहरुमा दसैं मनाउन गाउँघर गएर फर्किएका सर्वसाधारणको भिडभाड देखिन्थ्यो । दसैं अगाडि बुटवलबाट बाहिरिने यात्रुहरुले बसपार्क खचाखच भरिने गरेकोमा अबका केही दिन भने बुटवल फर्किनेहरुले बसपार्क र सडक भरिने गर्छ ।

बुटवलमा पेशा व्यवसाय तथा जागिरको लागि बस्नेहरु अधिकांश यसक्षेत्रका पहाडी जिल्लाहरु गुल्मी, पाल्पा, अर्घाखांची, प्युठान, बाग्लुङ, स्याङजालगायतका जिल्लाबाट आई बसोबास गरेकाहरु रहेकोले उनीहरु आफ्नो जन्मथलो फर्किएपछि चाडपर्वको समयमा बुटवल सुनसान बन्ने गर्छ । तर चाडपर्व मनाएर सर्वसाधारण फर्किन थालेपछि भने सुनसान बनेको बुटवल पुरानै लयमा फर्किन थालेको छ ।

यस क्षेत्रको मुख्यबजार भएको र पहाडी जिल्लाबाट बुटवल आएपछि अन्य गन्तव्य स्थानमा पुग्न सजिलो हुने भएकाले पनि यहाँबाट सवारी साधन बढी चल्ने गरेका हुन्छन् ।

गतवर्ष कोरोना महामारीको त्रास बढी भएका कारण धेरैले दसैं नमनाएका कारण यसपटक कोरोना अगाडिकै जसर्री नै दसैंमा चहलपहल देखिएको थियो ।

सरकारी कार्यालय खुलेपनि आएनन् सेवाग्राही

दसैं मनाउन बन्द गरिएका सरकारी कार्यालय आजदेखि संचालनमा आएपनि लुम्बिनी प्रदेशको अस्थायी मुकाम रहेको बुटवललगायत रुपन्देहीका अधिकांश सरकारी कार्यालयमा सेवाग्राहीको कम उपस्थिति रहेको थियो ।

पहिले घटस्थापनादेखि पूर्णिमासम्म १५ दिन सरकारी कार्यालय बन्द हुने गरेकोमा गणतन्त्र स्थापनापछि भने फूलपातीको दिन सप्तमीदेखि एकादशीसम्म ५ दिन मात्र दसैंको विदा दिन शुरु गरिएको थियो ।

सोहीअनुसार आइतवारदेखि सरकारी कार्यालयहरु संचालनमा आएका हुन् । आज सरकारी कार्यालय खुल्ला भएपनि कार्यालयमा कर्मचारी र सेवाग्राहीको उपस्थिति भने शून्यजस्तै थियो । बुटवलका अधिकांश सरकारी कार्यालयहरु आज खुल्ला गरिएको भएपनि सुनसान देखिन्थे । कार्यालय सहयोगीले कार्यालय खुल्ला गरेपनि न त माथिल्लो तहका कर्मचारी कार्यालयमा उपस्थित भएका थिए, न त सेवाग्राही नै सेवा लिन कार्यालय पुगेका देखिन्थे ।

सेवाग्राहीको उपस्थिति शून्य भएपछि कर्मचारीहरु पनि कार्यालय खोलेर दसैंका गफमा व्यस्त देखिन्थे । कतिपय क्षेत्रमा पूर्णिमासम्म नै दसैंको टीका लगाउने प्रचलन रहेको कारण आफ्नो जन्मथलो गएकाहरु कार्यक्षेत्रमा अझै फर्किएका छैनन् । जसले गर्दा आजदेखि सरकारी कार्यालय खुलेपनि अझै केही दिन कार्यालयमा कर्मचारी र सेवाग्राहीको उपस्थिति भने न्यून हुनेछ ।

बुटवलमा लुम्बिनी प्रदेशको मुकाम रहेको कारण सरकारी कार्यालयका सवारी साधनको संचालन भने केही बाक्लो देखिन्थ्यो । सेवामूलक कार्यालयहरु नेपाल विद्युत् प्राधिकरण, खानेपानी संस्थान, नेपाल टेलिकमलगायतका फाट्टफुट्ट सेवाग्राही पुग्ने गरेको भएपनि बुटवल उपमहानगरपालिका, नापी कार्यालय, मालपोत कार्यालय, यातायात कार्यालय तथा प्रदेश सरकारका मन्त्रालय र मन्त्रालय मातहतका निकायहरु सुनसान देखिन्थे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर