प्रशिक्षक अब्दुल्लाह भन्छन्– भविष्य निश्चित छैन, समर्थकलाई ठूलो सरप्राइज हुन सक्छ (भिडिओ) – Nepal Press

प्रशिक्षक अब्दुल्लाह भन्छन्– भविष्य निश्चित छैन, समर्थकलाई ठूलो सरप्राइज हुन सक्छ (भिडिओ)

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल फर्किने वा नफर्किने भन्नेबारे निश्चित नरहेको प्रतिक्रिया दिएका छन् । नेपाललाई ऐतिहासिकरुपमा साफ च्याम्पियनसिपको फाइनलसम्म पुर्याएका अब्दुल्लाले यसअघि फाइनल नै आफ्नो अन्तिम खेल हुने बताएका थिए ।

नेपालको एक मिडियाका कारण आफू नेपाल नफर्किने र साफ च्याम्पियनसिपको फाइनल नै नेपालबाट आफ्नो अन्तिम खेल हुने बताएका अब्दुल्लाले फाइनलपछि फर्किन सक्ने संकेत भने पक्कै दिएका छन् । शनिबार राति माल्दिभ्सको मालेमा भएको फाइनलमा भारतसँग ३–० गोलको नतिजामा पराजित हुँदै नेपालले प्रतियोगिता टुङ्ग्यायो ।

अघिल्ला दुई खेलमा पहेँलो कार्ड पाएर टच लाइनमा प्रतिबन्धित प्रशिक्षक अब्दुल्लाहले खेलपछि पत्रकारसँग कुरा गर्दै भविष्य अझै अनिश्चित गरेको प्रतिक्रिया दिए ।

‘भविष्यको बारेमा थाहा छैन, हेरौं के हुन्छ,’ उनले भने, ‘अहिले मलाई एकदमै आवश्यक कुरा भनेको आराम हो । मलाई धरै आराम चाहिएको छ ।’

पछिल्लो ६ महिनादेखि धेरै पसिना बगाएको बताउँदै अब्दुल्लाहले यो अवधि आफ्ना लागि एकदमै कठिन रहेको सुनाए ।

‘कम्तिमा पनि एक–दुई हप्ता आराम गरेर के गर्दा राम्रो हुन्छ भन्ने सोच्छु’ उनले भने, ‘भविष्य के हुन्छ भन्ने विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि के के गर्छ । नेपाली समर्थकका लागि एउटा ठूलो सरप्राइज हुनसक्छ ।’

तर त्यसका लागि समर्थकले प्रतीक्षा गर्नुपर्ने उनले बताए ।

‘हो, म आफ्नो टोली (नेपाल)लाई माया गर्छु । मेरा खेलाडीहरु, मेरा बच्चाहरु, मेरो परिवार र सबै स्टाफलाई पनि माया गर्छु,’ उनले भने, ‘म सबै नेपालीलाई माया गर्छु । म नेपालीलाई के भन्न चाहन्छु भने उनीहरु म मेरो अन्तिम अवस्थासम्म नेपाललाई माया गरिरहन्छु भन्नेमा सतप्रतिशत निश्चिन्त हुनुपर्छ ।’

नेपाली समर्थकले आफूलाई समर्थन र एकदमै माया गरेकाले आफूले सधैं नेपाललाई माया गरिरहने उनको भनाई थियो ।

‘उनीहरुले सबै राम्रा कुरा दिए । यदि त्यहाँ केही खराब मान्छे पनि छन् भने पनि सबै खराब छैनन्,’ उनी भन्छन्, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा नेपालीले मलाई दिएको माया हो । जब मलाई कसैले समर्थन गरेका थिएनन् । उनीहरुले समर्थन गरे । म सम्पूर्ण नेपालीलाई धन्यवाद भन्न चाहन्छु ।’

नेपालले शनिबार भएको फाइनल हारे पनि आफू माफी नमाग्ने बताउँदै उनले भने– ‘आज हामी फाइनलको अनुभव नभएर हार्यौ । जब फाइनलमा एक मिनेटमा टीमले दुई गोल खान्छ, त्यो एकदमै कठिन हुन्छ । तर त्यसपछि हामीले दुई डिफेन्डरलाई बाहिर निकालेर आक्रामक फुटबल खेल्यौं ।’

‘यदि पानी परेको हुँदैन थियो भने रोहित चन्द नचिप्लिन सक्थ्यो । तर, त्यसले केही महत्व राख्दैन,’ अब्दुल्लाह भन्छन्, ‘यदि नेपालीले साँच्चै नेपाली फुटबल टोलीलाई माया गर्छन् भने १८ अक्टोबरमा विमानस्थलमा गएर समर्थन गर्न आग्रह गर्छु । यो स्तरमा राम्रो प्रदर्शनलाई निरन्तरता दिनका लागि उनीहरुलाई माया गर्नु समर्थन गर्नु आवश्यक छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर