अफगानिस्तानको कान्दाहारमा भएको हमलामा ३२ को मृत्यु, ६८ जना घाइते – Nepal Press

अफगानिस्तानको कान्दाहारमा भएको हमलामा ३२ को मृत्यु, ६८ जना घाइते

सिन्ह्वा । अफगानिस्तानको कान्दाहार शहरमा रहेको एउटा मस्जिदमा शुक्रबार भएको बम विस्फोटमा परी ज्यान जानेको संख्या ३२ पुगेको छ । सिया मुस्लिम समुदायका नागरिकको सो मस्जिदमा शुक्रबारको प्रार्थनाका बेलामा सो विस्फोट भएको थियो । शुक्रबार अपराह्न एकै पटक तीन वटा विस्फोट भएको थियो ।

विस्फोटमा परेर कम्तीमा ३२ जनाको ज्यान गएको छ भने अरु कम्तीमा पनि ६८ जना घाइते भएका छन् । उक्त मस्जिदका झ्यालका सिसाहरू फुटेको र शवहरू भुइँमा देखिएका तस्बिरहरु सञ्चारमाध्यमहरुले दिएका छन् । तीनजना हमलाकारीले आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले एक स्थानीय पत्रकारलाई बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार एकजना आक्रमणकारीले सो मस्जिदको प्रवेशद्वारमा विस्फोट गराएको हो ।

अरु दुई जना भने मस्जिदको भित्रै प्रवेश गरेर आक्रममण गरेका थिए । त्यस समयमा सो मस्जिदमा शुक्रबारको प्रार्थना भइरहेको थियो । शुक्रवारको साप्ताहिक प्रार्थना भएकाले मस्जिद पूरै भरिभराउ रहेको थियो ।

सोही मौका छोपेर यस्तो हमला गराइएको अनुमान गरिएको छ । तालिबानका सशस्त्र लडाकूहरुले पनि घटनास्थलमा सुरक्षा दिइरहेको बताएको छ । साथै यहाँका मस्जिदमा हिंसात्मक हमला हुने गरेकाले सुरक्षाकर्मीहरुले पनि मस्जिदमा सुरक्षा दिइरहेको बताइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *