दसैँको सर्वस्वीकार्यताः तीन तस्वीरले दिएको सन्देश – Nepal Press

दसैँको सर्वस्वीकार्यताः तीन तस्वीरले दिएको सन्देश

काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो चाड हो बडा दसैँ । मुलरुपमा हिन्दु धर्मावलम्बिले मनाउने यो पर्वलाई पनि विवादित बनाउन प्रयास पछिल्ला दिनमा एउटा अतिवादी समूहबाट हुन थालेको छ । तर, ठिक उल्टो, दसैँको सर्वस्वीकार्यता भने बढ्दो क्रममा छ ।

माथिका तीन तस्वीरमा तपाईं गैरहिन्दु धर्म मान्ने गर्ने तीन व्यक्तिहरुलाई देख्नुसक्नु हुन्छ । उनीहरु तीनैजना नेपाली पनि होइनन् । तर, उल्लासपूर्वक दसैँ मनाइरहेका छन् ।

अमेरिकी राजदूत र्‍यान्डी बेरी नेपालमा आएदेखि नै नेपाली कला–संस्कृतिसँग एकाकार भएर बसेका छन् । नेपालका ठूला चाडपर्व र दिवसमा उनी शुभकामना मात्रै दिने होइन, सक्रियरुपमा भाग लिने गर्दछन् । यसपालीको दसैँको आगमनसँगै उनले चंगा उडाएर शुभकामना दिएका थिए ।

हिजो टिकाको दिन उनले दूतावासका कर्मचारी र उनीहरुका परिवारलाई विधिपूर्वक टिका र जमरा लगाइदिएका थिए । अमेरिकी दूतावासले ट्विटरमा राखेको तस्वीरमा राजदूत बेरी नेपाली ढाकाको टोपीमा ठाँटिएको देखिन्छ ।

उक्त तस्वीरमा क्याप्सन लेखिएको छ, ‘तपाईंको दसैँवाला पारिवारिक फोटो एल्बम कस्तो छ ? राजदूत बेरी, यूएसएड मिसनका निर्देशक र परिवारका सदस्यहरुको भने यस्तो छ ।’

राजदूत बेरीले दसैँको अवसरमा भिडियो सन्देशसमेत दिएका छन् । सन्देशमा उनले भनेका छन्, ‘आफ्नो नेपाल बसाइका क्रममा धेरैवटा दसैँ यहाँहरुकै बीचमा मनाउन पाएकोमा म अत्यन्तै हर्षित छु । वर्षभरिमा यो मेरो मन पर्ने समय हो, जतिखेर हामीसबै मिली असत्यमाथि सत्यको जितको उत्सव मनाउँछौं ।’

चाडबाडको खुशीयाली साट्ने क्रममा एक–अर्काको स्वास्थ्य सुरक्षा एवं भनाइको बारेमा ध्यान पुर्याउनुपर्नेमा उनले जोड दिएका छन्  ।त्यसअघि अष्टमीका दिनमा उनले आफ्नो परिवारका लागि खसीको मासु बनाउने प्रयास गरेको भन्दै भिडियो पोष्ट गरेका थिए ।

नेपालको छिमेकी देश चीनकी राजदूत होउ यान्छीको शैली पनि अमेरिकी राजदूतको जस्तै नै छ । बेरीजस्तै सामाजिक सञ्जालमा सक्रिय रहेर उनी पनि नेपाली कला–संस्कृतिप्रति आफ्नो प्रेम दर्शाइरहन्छिन् ।

यान्छीले पनि हिजो दसैँको चिनीया दूतावासमा दसैं मनाइन् । उनले दूतावासमा नेपालीहरुलाई टिका र जमरा लगाइदिएकी थिइन् । यान्छीले लेखेकी छन, ‘मैले नेपाली सहकर्मीहरुसँग दसैंं मनाउन पाएकोमा खुशी छु । सबै नेपाली साथीहरुलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

नेपालकी राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अहिले अत्यधिक चर्चामा छन् । नेपाललाई पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा पुर्याउने सफलता कमाएका अल्मुताइरी पनि नेपाली संस्कृतिसँग भिज्ने क्रममा छन् । उनले माल्दिभ्समा नेपाली फुटबल टिमसँगै दसैँको खुशीयाली साटे ।

अल्मुताइरीले ढाका टोपीमा सजिएर टिका र जमरा लगाइरहेको तस्वीर एन्फाले सार्वजनिक गरेको थियो । तस्वीरमा उनी निकै प्रफुल्लित मुद्रामा देखिएका छन् । मुस्लिम धर्म मान्ने अल्मुताइरीले दसैँको टिका र जमरा लगाउन कुनै संकोच मानेनन् । नेपालमा रहेका मुस्लिमहरुले पनि पछिल्ला दिनमा हिन्दु धर्माबलम्बिका चाडपर्वमा साथ दिँदै आएका छन् । साथै हिन्दुहरुले पनि उनीहरुका धर्ममा शुभकामना साट्ने गरेका छन् । यसले देशमा धार्मिक सहिष्णुताको भावनालाई बलियो बनाइरहेको छ ।

एकथरि अतिवादीहरुले नेपालको कला–संस्कृति र रितिरिवाजसँग जोडिएका प्रत्येक चिजरुमाथि प्रश्न उठाइरहँदा यी तीन पात्रहरुले दिएको सन्देश निकै गहकिलो छ । त्यो सन्देश हो– कुनै पनि धर्मले अर्को धर्मका रितिरिवाजलाई सकारात्मकरुपमा आत्मसात गर्न रोक्दैन ।

 


प्रतिक्रिया

2 thoughts on “दसैँको सर्वस्वीकार्यताः तीन तस्वीरले दिएको सन्देश

Leave a Reply to Teknarayan Dhakal Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर