फाइनलमा ममाथि प्रतिबन्ध लगाएर साफले अन्याय गर्‍यो : प्रशिक्षक अब्दुल्लाह (भिडिओ) – Nepal Press

फाइनलमा ममाथि प्रतिबन्ध लगाएर साफले अन्याय गर्‍यो : प्रशिक्षक अब्दुल्लाह (भिडिओ)

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आफू र नेपालमाथि अन्याय गरेको बताएका छन् ।

समूह चरणका दुई खेलमा पहेँलो कार्ड पाएको भन्दै साफले प्रशिक्षक अब्दुल्लाहलाई टच लाइनमा प्रतिबन्ध लगाएको छ । यद्यपि, साफको प्रतियोगिता नियमावलीमा खेलाडीबाहेक अफिसियलको हकमा त्यो उल्लेख नभएको भन्दै प्रशिक्षक अब्दुल्लाहले आलोचना गरेका छन् ।

प्रतियोगिताको १३औं संस्करणमा प्रशिक्षक अब्दुल्लाहले नेपाललाई इतिहासमै पहिलो पटक फाइनलमा पुर्र्याएका छन् । र शनिबार राति पौने ९ बजे नेपालले निकटतम प्रतिद्वन्दी भारतसँग उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

यसअघि माल्दिभ्सविरुद्धको खेलका दौरान रातो कार्डको सामना गरेका भारतीय प्रशिक्षक इगोर स्टिम्याकभने स्वतः आजको खेलमा टच लाइनमा हुने छैनन् । यद्यपि, प्रतियोगिता नियमावलीमा भने खेलाडीबाहेक अन्य अफिसिलयको हकमा दुई फरक खेलमा पहेँलोका कार्ड पाउँदा प्रतिबन्ध हुने उल्लेख छैन ।

साफले नेपाली प्रशिक्षकलाई हुँदै नभएको निमय लगाएर अन्याय गरेको र भारतीय टोलीसँग सन्तुलन बनाउनका लागि आफूलाई प्रतिबन्ध लगाएको मुख्य प्रशिक्षक अब्दुल्लाहको आरोप छ ।

‘भारतीय प्रशिक्षक नभएर मलाई पनि बाहिर राख्न खोजिएको छ,’ अब्दुल्लाहले भने, ‘यदि आफैँले नियम बनाएर नमान्ने हो भने नियम किन बनाउने ?’ ‘उनीहरु मसँग रिसाएका हुन सक्छन्,’ शनिबार आयोजित भर्चुअल पत्रकार सम्मलेनमा अब्दुल्लाहले भने, ‘नेपालको रिजल्टबाट उनीहरु खुशी नहुन सक्छन् । तर म चुप बस्दिन, एएफसीसँग मिटिङ गर्छु ।’

अब्दुल्लाले आफू र नेपालमाथि अन्याय भएकाले आफू चुप नबस्ने चेतावनी दिँदै भने– ‘अब्दुल्लाह अल्मुताइरी नभए पनि नेपाली टोलीले नतिजाका लागि फाइट गर्छ । मलाई लाग्छ उनीहरू (साफ पदाधिकारी)लाई नेपालले नजितोस् भन्ने लाग्छ । मलाई त्यो महसुस भइरहेको छ ।’

प्रशिक्षक अब्दुल्लाहले फुटबल खेल फिल्डमा हुनुपर्ने र बाहिर विभिन्न तनाव दिएर खेलिनु नहुने बताए । ‘उनीहरुसँग भारतीय प्रशिक्षक रिसायो भनेर नेपालको प्रशिक्षकलाई पनिस गर्ने ?’ उनले भने, ‘मेरो एउटा प्रश्न– बंगलादेशविरुद्धको खेलपछि बंगलादेशीले रेफ्रीमाथि आक्रमण गरेका थिए । उनीहरुलाई के सजाय भयो ?, तर उनीहरुले मलाई पनिस गरे किनभने उनीहरु भारतले जितोस् भन्ने चाहन्छन् ।’

‘यदि उनीहरु खेलको सम्मान गर्न सक्दैनन् भने फुटबल किन रुल गर्छन् ?,’ अब्दुल्लाहले भने, ‘साफले अब्दुल्लालाई मात्रै सस्पेन्ड गरेको होइन, नेपालको मुख्य प्रशिक्षकलाई सस्पेन्ड गरेको हो ।

प्रतियोगिता नियमावलीमा उल्लेख नै नभएको कारण देखाएर आफूलाई कारबाही गरेपछि अब्दुल्लाले आफू चुप बसे अर्को प्रतियोगितामा १० जना खेलाडी बाहिर भन्ने बाँकी नराख्ने बताए ।

‘म चुप बस्दिन, म कोर्टमा जान्छु… फिफा र एएफसीमा निवदेन पठाउँछु । किनभने उनीहरुले जे गरे त्यो ठीक होइन,’ अब्दुल्लाहले भने, ‘त्यहाँ रुल र रेगुलेसन छन् त्यो सबैले मान्नुपर्छ । मलाई लाग्छ म फिफा र एएफसीमा जान्छु । म आज टच लाइनमा भइँन भने पनि खेलाडीको प्रोटेक्ट गर्छु ।’माल्दिभ्स फुटबल संघसँग यसबारेको केही कुरा भएको प्रश्नको उत्तर दिँदै उनले भने– ‘हामी बबलमा छौं । हामी बाहिर जान र उनीहरु यहाँ आउन मिल्दैन । तर हामीले हिजोदेखि सम्पूर्ण प्रयास गरेका छौं । सुरुदेखि नै मलाई सस्पेन्ड गर्न खोजिरहेका थिए र मैले दोस्रो कार्ड पाएँ ।’

आफूलाई रंगशालामा नै नआउन भनेको र त्यो हदैसम्मको अन्याय भएको उनले बताएका छन् । ‘रंगशालामै नआइज भनेको छ । उनीहरुले मलाई कसरी रंगशला प्रवेशमा रोक्न सक्छन् ?,’ अब्दुल्लाहले सोधे, ‘यदि बंगलादेश र भारतका खेलाडीहरू आएर डगआउट भन्दा अगाडि भन्दैनन् भने मलाई कसरी रोक्न सक्छन् ?’

‘फेरि पनि म साफलाई भन्न चाहन्छु– खेल मैदानमा हुनुपर्छ, मैदान बाहिर होइन,’ अब्दुल्लाले भने ।

 

 


प्रतिक्रिया

One thought on “फाइनलमा ममाथि प्रतिबन्ध लगाएर साफले अन्याय गर्‍यो : प्रशिक्षक अब्दुल्लाह (भिडिओ)

Leave a Reply to bharat kumar Thapa Cancel reply

Your email address will not be published. Required fields are marked *