आज विश्व खाद्य दिवस, ‘स्वस्थ भविष्यको लागि सुरक्षित खाना’ मा जोड – Nepal Press

आज विश्व खाद्य दिवस, ‘स्वस्थ भविष्यको लागि सुरक्षित खाना’ मा जोड

काठमाडौं । आज १६ अक्टोबर अर्थात् विश्व खाद्य दिवस । ‘स्वस्थ भविष्यको लागि सुरक्षित खाना’ भन्ने नाराका साथ शनिबार संसारभर ४१औँ विश्व खाद्य दिवस मनाइँदैछ । खाद्यान्न संकट तथा भोकमरीविरुद्ध लड्ने संयुक्त प्रतिबद्धताका साथ संसारभर यो दिवस मनाइँन्छ ।

संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको प्रस्तावलाई राष्ट्र संघले पारित गरेसँगै सन् १९८१ देखि विश्व खाद्य दिवस मनाउन थालिएको हो । खाद्य तथा कृषि संगठन १६ अक्टोबर सन् १९४५ मा स्थापना भएको थियो ।

सन् १९५१ को नोभेम्बरमा नेपालले खाद्य तथा कृषि संगठनको सदस्यता पाएको थियो । नेपालले पनि सन् १९८१ मा ‘उब्जनी बढाऔं, सन्तुलित खाना खाऔँ, बढी जोगाऔँ’ भन्ने नाराकासाथ पहिलो खाद्य दिवस मनाएको थियो ।

नेपाल कृषिप्रधान देश भएर पनि हामी अर्बैँ रुपैयाँ बराबरको धान, चामल, गहुँ, जौ, दलहन जस्ता खाद्यान्नहरू आयात गरिरहेका छौँ । अझ पनि ६० प्रतिशत नेपाली कृषि पेसामा संलग्न भए पनि खाद्यान्नमा आत्मनिर्भर हुन नसक्नुले नेपालको कृषि प्रणाली तथा सरकारको कृषि नीतिलाई गिज्याइरहेको छ ।

सन् १९६० को दशकमा विश्वमा चामल निर्यात गर्ने प्रमुख देशमा नेपाल छैटौँ स्थानमा थियो । तर, अहिले नेपालले अर्बौं रुपैयाँको खाद्यान्न आयात गरिरहेको छ ।

जलवायु परिवर्तनले निम्त्याएको खाद्यान्न संकटलाई संसारभर अहिले २१औं शताब्दीको मुख्य चुनौतीको रूपमा हेरिएको छ । जलवायु परिवर्तनकै काराण संसारका धेरैजसो स्थानमा रहेको स्थानीय अन्नबालीसमेत हराउँदै गएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *