आपसी सद्भाव र भाइचार बढ्ने प्रधानमन्त्रीको विश्वास


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैं पर्वबाट सबै नेपालीमा आपसी सद्भाव र भाइचारा अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् । बडा दसैंका अवसरमा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले सबैमा सुस्वास्थ्य, सुख, शान्ति एवं समृद्धिको कामना समेत गरेका छन् ।
नेपाल एक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले दसैं, तिहार, नेपाल संवत, छठ जस्ता पर्वले सबै भाषा संस्कृतिको संरक्षणमा टेवा पुग्ने उल्लेख गरेका छन् । ‘सबै जाति, भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो’, प्रधानमन्त्री देउवाले भनेका छन् ।
कोभिड १९ को संक्रमण जोखिम यथावत रहेको भन्दै प्रधानमन्त्री देउवाले स्वास्थ्य सम्बन्धी मापदण्डहरुको पालना गर्दै पर्वहरु मनाउन आग्रह समेत गरेका छन् ।