कांग्रेस नेतृत्वलाई महिलामन्त्रीको आग्रह – पार्टीभित्रको लडाइँ छाड्नोस्, आउँदो चुनावमा कम्युनिष्टलाई घुँडा टेकाउनु छ (भिडिओ) – Nepal Press

कांग्रेस नेतृत्वलाई महिलामन्त्रीको आग्रह – पार्टीभित्रको लडाइँ छाड्नोस्, आउँदो चुनावमा कम्युनिष्टलाई घुँडा टेकाउनु छ (भिडिओ)

चितवन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले कांग्रेस नेतृत्वलाई महाधिवेशनकेन्द्रित लडाइँ छाडेर आगामी निर्वाचनमा कम्युनिष्टहरूलाई घुँडा टेकाउने गरी तयारीमा लाग्न आग्रह गरेकी छन् ।

नेपाल महिला संघ चितवनले आयोजना गरेको शुभकामना तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले पार्टीभित्रको लडाइँ छाडेर कम्युनिष्टसँग लड्ने तयारी गर्न आग्रह गरिन् । ‘चुनाव मुखमा आएको छ । फागुनमा स्थानीय तहको निर्वाचन हुन्छ । संसदीय चुनाव आउँन १३ महिना बाँकी छ’, उनले भनिन्, ‘सत्ता गठबन्धन कहिँकतै फुस्किए अर्लि इलेक्सन हुनसक्ला । त्यसैले चुनावको तयारी गरौँ, कम्युनिष्टलाई घुँडा टेकाउनु छ ।’

कांग्रेस महाधिवेशनलक्षित गर्दै उनले एकअर्कालाई आरोप-प्रत्यारोप नगर्न नेताहरूलाई आग्रह गरिन् । ‘बुढाहरू अब हुँदैन भन्ने हल्ला धेरै छ, मेचीमहाकालीका साथीहरुले नै भोट दिएपछि भएनन् भनेर हुन्छ ? बुढालाई भोट नदिएर युवाहरू रोजे भैहाल्छ नी । भोट दिएर जिताएपछि त मान्नैपर्‍यो नि ।’

थोरै बजेट भएको मन्त्रालय भए पनि समाजसेवा गर्न आफैंले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय रोजेको दावी गरिन् । ‘कर्मचारी तलबसहितको ८० करोड भएको मन्त्रालय हो । रिसोर्स बढी वा घटी होस्, तर भूमिका धेरै छ’, उनले भनिन्, ‘छायाँमन्त्री हुँदा वास्तविकता धेरै बुझेरै यो मन्त्रालय रोजेको हुँ, हरेक क्षेत्रमा १ देखि ५ वटा जीवनलाई प्रभाव पार्ने काम गरेरै छाड्ने छु ।’

उनले महिला प्रतिनिधित्व हरेक क्षेत्रमा संविधानले परिकल्पना गरेअनुसार हुन नसकेको दु:खेसो गरिन् । ‘कांग्रेसकै क्रियाशील २२ प्रतिशत महिलाले पाए, ३३ प्रतिशत पनि पुगेन । भोट नै हाल्दैनौँ भन्न सके बल्ल महिलाले पद पाउँछन् । जति संघर्ष, त्यति प्राप्ति हो’, मन्त्री रेग्मीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर