अमूक मिडियासँग अल्मुताइरीको आक्रोशः अब राष्ट्रिय टिम तिमीहरु नै सम्हाल ! – Nepal Press

अमूक मिडियासँग अल्मुताइरीको आक्रोशः अब राष्ट्रिय टिम तिमीहरु नै सम्हाल !

एक महिना अगाडि नै राजीनामा दिइसकेको खुलासा

काठमाडौं । नेपालले पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाउँदै इतिहास रच्यो । नेपाली फुटबल समर्थकहरुले यसको सबैभन्दा ठूलो श्रेय प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई दिएका छन् । तर, अल्मुताइरीले भने च्याम्पियनसीपपछि आफू नेपाल नफर्किने भन्दै समर्थकहरुलाई खिन्न तुल्याए ।

हिजो बंगलादेशसँग बराबरी खेलेपछि खुशीले भावविव्हल बनेका अल्मुताइरी पोष्ट म्याच प्रेस कन्फ्रेन्समा भने आक्रोशित मुद्रामा पेश भएका थिए । उनको आक्रोशको तारो चाहिँ नेपालको कुनै अमूक मिडिया थियो । उनले नाम नलिइकन आफूलाई नेपाली मिडियाले दुख दिएको गुनासो गरे । र, साफ च्याम्पियनसीपको फाइनल नै नेपालका लागि आफ्नो अन्तिम खेल हुने घोषणा गरे । एक महिना अगाडिनै आफूले पदबाट राजीनामा दिएको खुलासा समेत अल्मुताइरीले गरेका छन् ।

पत्रकार सम्मेलनमा अल्मुतइरी यसरी जंगिएका थिएः

‘पछिल्ला तीन दिनमा मैले धेरै नमिठो अनुभव गरेँ । उनीहरुले मेरो बारेमा धेरै नराम्रा समाचार लेखे । हिजो हाम्रो तीन बजे ट्रेनिङ थियो । त्यसकारण प्रमुख प्रशिक्षक र कप्तानको ठाउँमा सहायक प्रशिक्षक र एक खेलाडी म्याचपूर्वको पत्रकार सम्मेलनमा गएका हुन् । एउटा मिडियाले त्यसलाई समाचार बनाएर मेरो मजाक उडायो । उसले कसरी यस्तो गर्न सक्यो ? प्रशिक्षकलाई तपाईंले सम्मान गर्नैपर्छ ।
म त्यो मिडियालाई सोध्नेछु, ‘तिमीले जे लेख्यौ त्यसमा खुशी छौ  ? के तिमी आफूसँग गौरव गर्छौ  ?कमेन्टमा म्याच फिक्सिङको कुरासमेत आएको छ । मेरो ११ वर्षको छोराले मलाई सोध्यो, के हो यस्तो कमेन्ट  ? म उसलाई के जवाफ दिउँ साथी ? त्यो पत्रकारले धेरै भ्यूज र विज्ञापनका लागि ममाथि समाचार बनाउन चाह्यो । यो फोहोरी हो । अरु मान्छेको नाममा पैसा नलेउ । मान्छेलाई सम्मान गर ।’

थप आक्रोशित बन्दै अल्मुताइरीले थपे, ‘म प्रशिक्षक हुँ, दास होइन । प्रशिक्षकलाई सम्मान गर्नैपर्छ । हामी मानिस हौं । हाम्रो परिवार छ । बच्चाहरु छन् । नेपालको फुटबल विकासका लागि आएको हुँ । केही पत्रकार मेरो नाममा पैसा कमाउँदैछन् । उनीहरु र उनीहरुको पैसा ‘गो टु हेल’ । उनीहरुले नै राष्ट्रिय टिमलाई नियन्त्रण गरुन् । म तीन दिनदेखि सुतेको छैन । केही खाएको छैन । म धेरै थाकेको छु । म मेरो आमा र परिवारसँग कुरा गर्न चाहन्छु ।’

उनले नेपाल आउँदा गरेका तीन प्रतिवद्धताहरु पूरा भएको बताए । अल्मुताइरीले भने, ‘मैले नेपालमा पहिलो पत्रकार सम्मेलनमा नै तीनवटा प्रतिवद्धता व्यक्त गरेको थिएँ । म नेपाली फुटबलमा नयाँ इतिहास बनाउने छु । म नेपाललाई एसिया कपको तेस्रो राउण्डसम्म पुर्याउनेछु । र, म नयाँ टिम बनाउनेछु, जसले सबै नेपालीलाई गौरवान्वित तुल्याउनेछ । त्यो लक्ष्य पूरा भएको छ । अब साफ च्याम्पियनसीपको फाइनलपछि म नेपाली टिमसँग हुन्न । फाइनलपछि म कहिल्यै नेपाल फर्किने छैन ।’

यति बोलिसकेपछि अल्मुताइरीले आज प्रश्नहरुको सामना गर्न नसक्ने बताए । तर, पत्रकारहरु उनलाई छुट्कारा दिन तयार भएनन् । त्यसपछि अल्मुताइरी पनि जवाफका लागि वाध्य भए ।

एक माल्दिभ्सका पत्रकारले उनलाई सोधे, ‘के तपाईंले मिडियाको प्रेसरका कारण राजीनामा दिन लाग्नुभएको हो ?’ अल्मुताइरीले यसलाई अस्वीकार गरे । आफूले एक महिना अगाडि नै राजीनामा दिइसकेको उनले बताए ।

‘मैले अहिले होइन, एक महिना अगाडि नै राजीनामा दिएको हुँ, साफ च्याम्पियनसीपको फाइनलपछि यो कार्यान्वयन हुनेछ,’ उनले भने ।
माल्दिभ्सकै अर्का पत्रकारले सोधे, ‘फाइनलमा इन्डिनसँग खेल्न इच्छुक हुनुहुन्छ कि माल्दिभ्ससँग ?’

यो पत्रकार सम्मेलन हुँदा माल्दिभ्स र भारतको खेल भइसकेको थिएन । अल्मुताइरले फाइनलमा जो पुगे पनि आफूलाई फरक नपर्ने बताए ।
आफ्नो स्वभाविविपरित परम्परागत शैलीमा उनले भने, ‘दुवै बेस्ट टिम हुन् । म रोज्न सक्दिनँ । जो आए पनि हमीले खेल्नैपर्छ ।’
त्यसपछि बंगलादेशका पत्रकारले उनलाई नेपाललाई दिइएको पेनाल्टीबारे प्रश्न गरे ।

‘तपाईंको विचारमा त्यो पेनाल्टी जायज थियो ?’

अल्मुताइरीले कुटनीतिक जवाफ दिए, ‘यदि मैले एस र नो मा जवाफ दिएँ भने म झूटो ठहरिन्छु । मेरो विचारमा त्यो पेनाल्टी थियो, तर म पक्का छैन ।’

त्यसपछि उनले आफूछेउ बसेका खेलाडी रोहित चन्दलाई यो प्रश्न गर्न आग्रह गरे । तर, एक नेपाली पत्रकारले अर्कै प्रश्न सोधेर विषयान्तर गरे । उनले नेपालीमा प्रश्न सोधेर नेपालीमै जवाफ दिन आग्रह गरे ।

पत्रकारले सोधेका थिए, ‘च्याम्पियनसीपको फाइनलमा पुग्नुले नेपालका लागि कति महत्व राख्छ ?’ रोहितले जवाफ दिइसकेपछि अल्मुताइरीले ठट्टाको मुडमा भने, ‘म उल्था गरिदिउँ रु उसले भन्दै थियो कि कोचले छोड्यो भने म धेरै खुशी हुनेछु ।’ गम्भीर माहोलका पत्रकार सम्मेलनमा हाँसो छायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर