कांग्रेस महाधिवेशन मंसिरमा नहुने निश्चित, नयाँ मितिको टुंगो छठपछि – Nepal Press

कांग्रेस महाधिवेशन मंसिरमा नहुने निश्चित, नयाँ मितिको टुंगो छठपछि

काठमाडौं । बारम्बार सर्दै आएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन पछिल्लोपटक तोकिएको मितिमा पनि नहुने देखिएको छ । कार्यतालिका कार्यान्वयनको अवस्था, क्रियाशील सदस्यता विवाद र चाडपर्वका कारण मंसिरमा महाधिवेशन सम्भव नहुने भएको हो ।

कांग्रेस महाधिवेशन आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म हुने तय भएको थियो । तर, महाधिवेशन कार्यतालिका यसअघि नै प्रभावित भइसकेको छ । नयाँ तालिका नबनेका कारण महाधिवेशन मंसिरमा हुने सम्भावना टर्दै गएको कांग्रेसकै नेताहरु अनौपचारिक कुराकानीमा बताउन थालेका छन् ।

कार्यतालिका अनुसार काम भएको भए गत असोज १८ गते कांग्रेसका सबै जिल्लाको अधिवेशन सम्पन्न भइसक्नुपर्ने थियो । दसैंलगत्तै कात्तिक १०, ११ र १२ गते प्रदेश अधिवेशन हुनुपर्ने थियो । यद्यपि अहिलेसम्म १४ हिमाली जिल्लामा मात्रै कांग्रेसको अधिवेशन सम्पन्न भएका छन् । अधिकांश जिल्लामा क्षेत्रीय अधिवेशन नै भएका छैनन् । प्रदेश २ का ८ जिल्लासहित रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतमा वडा अधिवेशन नै भएका छैनन् । वडा अधिवेशन भएको सिन्धुपाल्चोकमा पालिका अधिवेशन नै भएको छैन ।

दसैंलगत्तै जिल्ला अधिवेशन सकेर मंसिरमै महाधिवेशन गर्ने प्रतिवद्धता यसअघि पदाधिकारी बैठकमा जनाइएको थियो । यद्यपि दसैंलगत्तै बैठक बस्ने र नयाँ कार्यतालिकाअनुसार अधिवेशन सुचारु हुने सम्भावना न्यून छ । यही कारण कांग्रेस शीर्ष नेताहरु महाधिवेशन कति समय सार्ने भन्ने आन्तरिक छलफलमा जुट्न थालिसकेका छन् ।

कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले दुई दिनअघि चितवन पुगेर तिहारलगत्तै अधिवेशनहरु सुचारु हुने बताएका थिए । तिहारलगत्तै बाँकी अधिवेशन थाल्ने हो भने पनि मंसिरमा महाधिवेशन गर्न सम्भव देखिदैन । कांग्रेस नेताहरु छठपछि मात्रै नयाँ कार्यतालिका निर्माण गरेर अधिवेशन सुचारु हुने बताउँछन् । यसबारे औपचारिक छलफल सुरु भएको छैन ।

‘छठपछि धमाधम अधिवेशन हुँदा पनि महाधिवेशन कम्तीमा १ महिना त धकेलिन्छ नै । तर केही जिल्लाको विवाद समाधान नभएको अवस्थामा महाधिवेशन कति पर जान्छ भन्न सकिदैन’, एक नेताले भने । ती नेताका अनुसार महाधिवेशनबारे पछिल्लो समय संवादसमेत हुन सकेको छैन । शीर्ष नेताहरु चाडपर्व सकिएपछि मात्रै प्रक्रिया अगाडि बढाउने पक्षमा छन् ।

कात्तिक २४ गते छठपर्व रहेको छ । त्यसअघि अधिवेशन सुचारु नहुने हुँदा मंसिर ९ मै महाधिवेशन नहुने निश्चित छ । ‘महाधिवेशन मंसिरमै हुने त सम्भावना छैन । माघ वा फागुनसम्ममा गर्नेबारे दसैपछि पार्टीमा छलफल होला’, कांग्रेस नेताको भनाई छ ।

कांग्रेसमा अहिलेसम्म २ निर्वाचन क्षेत्र भएको गोरखा र १ निर्वाचन क्षेत्र भएका दोलखा, रामेछाप, ताप्लेजुङ, संखुवासभा, मनाङ, मुस्ताङ, कालिकोट, हुम्ला, मुगु, रुकुम पूर्व, बझाङ र बाजुरामा जिल्ला अधिवेशन सम्पन्न भएका छन् । बाँकी ६४ जिल्लामा अधिवेशन सम्पन्न नगरी कांग्रेस महाधिवेशन उद्घाटन हुँदैन ।

मंसिरमा महाधिवेशन नहुने निश्चित भइसक्दा कांग्रेसमा स्थानीय निर्वाचनअघि अधिवेशन गर्ने वा पछि गर्ने भन्ने बहस पनि चर्चामा छ । फागुनमा स्थानीय निर्वाचन गर्नुपर्ने हुँदा त्यसअघि नै महाधिवेशन सक्ने वा नसक्ने भन्ने दुवै धारणा कांग्रेसमा रहेका छन् ।

‘यसैपनि महाधिवेशन सर्ने नै भइसक्यो । विधान उल्लघंन भइसकेको छ । पुसभित्रै सकिन्छ भने महाधिवेशन गर्दा राम्रो हुन्छ । अन्यथा पार्टीमा सहमति कायम गरेर निर्वाचनपछि गर्दा पनि हुन्छ’, एक केन्द्रीय सदस्यले नेपाल प्रेससंग भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर