पूर्वराजाको अभिव्यक्तिसँग किन तर्सन्छन् गणतन्त्रवादी ? – Nepal Press
टिप्पणी

पूर्वराजाको अभिव्यक्तिसँग किन तर्सन्छन् गणतन्त्रवादी ?

काठमाडौं । देशलाई दसैंले छपक्क छोपेका बेला सामाजिक सञ्जाललाई गफिने ताजा विषय मिलेको छ । पूर्वराजा ज्ञानेन्दको दसैं शुभकामनामा राजनीतिक धारणाहरु अभिव्यक्त भएपछि गणतन्त्रवादीहरु उत्ताउलो प्रतिक्रिया जनाइरहेका छन् ।

पूर्वराजाले आफ्नो भिडियो सन्देशमा भनेका थिए– ‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी वहन गर्न वाध्य तुल्याए पनि प्रजातन्त्रविनाको राजसंस्था र राजसंस्थाविनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक नहुने आबोध हामीलाई भएको छ ।’

यो अभिव्यक्तिमा खुलस्त तवरबाट देशको राजनीतिक प्रणालीप्रति उनको अरुची जाहेर मात्र भएको छैन कि नेपालमा राजसंस्थाको अपरिहार्यतालाई उनले जोड दिएका छन् । ‘परिस्थितिजन्य कारणले’ आफू राजगद्दी छोड्न वाध्य बनेको असन्तोष भाव पूर्वराजाबाट व्यक्त भएको छ । ‘नेपालजस्तो मुलुक भनेर’ उनले देशको भू–राजनीतिक अवस्थालाई ईंगित गरेका हुन् ।

राजाको सन्देशमा अरु कुराहरु पनि छन् । उनले वर्तमान राजनीतिप्रति रोष व्यक्त गर्दै भनेका छन्– (नेपालको) राजनीतिक व्यवस्था आफू, आफ्नो समूह र त्यसभित्रको गुट–उपगुटमा अल्झिएको छ । शिक्षा र स्वास्थ्यको व्यापारीकरण, विकास निर्माणका कामको भ्रष्टीकरण, प्रशासनिक र राजनीतिक पेशाले सिमित व्यक्तिलाई फाइदा पुर्‍याउने र न्यायिक क्षेत्रमा उत्पन्न विचलनले सबैतिर निराशाको बादल छाएको छ । सर्वभौमिकता राष्ट्रियता र राष्ट्रिय एकता दुर्लभ गराउने, मौलिक धर्म–संस्कृति संकटमा पार्ने, राष्ट्रहितमा केन्द्रित रहनुपर्ने परराष्ट्र नीति असन्तुलित भई राष्ट्रिय सुरक्षा स्वार्थमा चुनौति थपिएकाले हाम्रो मन पालेको छ ।’

पूर्वराजाले सन्देशमा आफूलाई राजसंस्थाकै रुपमा पेश गरेका छन् ।

उनी भन्छन्, ‘हरेक नेपालीलाई आफ्नो स्वतन्त्र विचार र आस्थाको अधिकार छ, हुन्छ र रहन्छ । राजसंस्था वैचारिक आस्थाका आधारमा विभेद गर्दैन, त्यो हाम्रूो मान्यता पनि होइन, न त परम्परा । शाहबंशीय राजपद्दतिको इतिहासले स्पष्ट गरेको छ, राष्ट्रिय आवश्यकता र जनचाहनाको परिधिबाहिरबाट कुनै पनि समस्याको समाधान खोजेको छैन, खोज्दैन पनि ।’

०००

डेढ दशकअघि नेपालमा राजतन्त्र उन्मूलन भएर गणतन्त्र आएसँगै राजा ज्ञानेन्द्र वीरविक्रम शाह नागरिकमा परिणत भए । दोस्रो जनआन्दोलनको रापताप थाम्न नसकेपछि उनले ‘जनताको नासो जनतालाई नै फिर्ता दिने’ भन्दै चुपचाप नारायणहिटीबाट बहिर्गमन गरेका थिए । त्यसयता आफ्नो गुमेको राजगद्दीमा फर्किनका निम्ति उनले देखिनेगरी कुनै प्रयास गरेका छैनन् । यद्यपि, बेलाबखत ‘फेरि राजा बन्ने’ मनोकांक्षा उनका अभिव्यक्तिमा प्रकट हुने गरेको छ । अहिलेको सन्देशमा चाहिँ उनी अलि बढी खुलेका आएका छन् ।

आफूले खाइपाइ खाएको सुख–सुविधा अचानक हरण हुँदा जोकसैलाई पीडा हुन्छ । यो त राजसंस्था नै समाप्त भएर गद्दी त्याग्नुपरेको युगान्तकारी घटना थियो । ज्ञानेन्द्रले अपेक्षितभन्दा सहजरुपमा गद्दी त्याग गरेर भीषण रक्तपात टारेकै हुन् । त्यसयता उनी एउटा सामान्य नागरिककै रुपमा जीवनयापन गरिरहेका छन् । कुनै राजनीतिक गतिविधिमा संलग्न छैनन् ।

यता जनतामा भने पूर्वराजसंस्थाप्रति झुकाव राख्ने जमात बढ्दो छ । गत वर्ष सडकमा ‘राजा आउ देश बचाउ’ को बाक्लै नारा लाग्यो । स्वतस्फूर्त तरुपमा राजसंस्थाको पक्षमा जनता सडकमा निस्किएका थिए । यद्यपि, नेतृत्वविहीनता र कोरोनाका कारण त्यो आन्दोलन यत्तिकै मत्थर भयो । बाहिर कुनै प्रतिक्रिया नदिए पनि पूर्वराजालाई त्यो आन्दोलनले भित्रभित्र सन्तोष मिलेकै थियो ।

केही महिना अगाडि छिमेकी देश भारतले ज्ञानेन्द्रलाई ‘हिन्दू सम्राट’ को मान्यता दिँदै कुम्भमेलामा प्रमुख अतिथि बनायो । त्यहाँ पाएको मानसम्मानले पूर्वराजा ज्ञानेन्द्र थप हौसिएका थिए । यसपालीको शुभकामना सन्देशमा आएको अन्तरवस्तु यीनै दुई परिपेक्षको नतिजा हुन सक्छन् । देशभित्रको जनदवाव र छिमेकी भारतको सहयोगले राजगद्दीमा पुनःस्थापित हुने महत्वाकांक्षा उनमा पलाएको हो कि भन्ने अनुमान गर्न सकिन्छ ।

यद्यपि, यथार्थमा देश फेरि राजतन्त्रमा फर्किने सम्भावना निकट भविष्यमा देखिएको छैन । एकपटक हातबाट फुत्किएको चरा फेरि समात्नुजत्तिकै कठिन छ पूर्वराजाका लागि गुमेको गद्दी पुनः हासिल गर्नु । देशको राजनीतिक व्यवस्था नै उल्टाउनका लागि आन्दोलनको ठूलै आँधिबेरी सिर्जना हुनुपर्छ । त्यस्तो परिस्थिति अहिले बनेको छैन । भारतले पूर्वराजालाई गरेको प्रोत्साहनको निहित उद्देश्य नेपालमा अस्थिरता फैलाउने मात्र हो भन्ने स्पष्ट नै छ ।

०००

पूर्वराजाको सन्देशमा राजनीतिकर्मीतर्फबाट पहिलो प्रतिक्रिया डा. बाबुराम भट्टराईको आयो, जुन अपेक्षित नै थियो । उनले राजसंस्थाविनाको प्रजातन्त्र टिक्दैन भन्नुलाई ‘भ्रमको खेति’ संज्ञा दिएका छन् ।

‘जनतालाई तातो वरफ वा सिंगसहितको खरायो खोज्न लगाउनुजस्तै भ्रमको खेती गर्नु र देशलाई पुनः द्वन्द्वमा धकेल्नु मात्रै हो,’ उनी ट्विटरमा लेख्छन्, ‘पूर्वराजालाई देश र जनताप्रति अलिकति पनि जिम्मेवारीवोध छ भने चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु वेश हुने छ ।’

दशैंको माहोलले गर्दा होला गगन थापादेखि खगेन्द्र संग्रौलासम्मका चर्का गणतन्त्रवादीहरुले चाहिँ प्रतिक्रिया जनाउन भ्याएका छैनन् । यद्यपि, मझौला स्तरका गणतन्त्रवादीहरुले सामाजिक सञ्जालमा पूर्वराजामाथि आक्रमण गरिरहेका छन् । मानौं पूर्वराजाले त्यति बोल्नासाथ राजतन्त्र फर्किहाल्छ कि झैं गरी गणतन्त्रवादी समुह अत्तालिएको देखिन्छ ।

सबैले मनन गर्नुपर्ने विषय के हो भने आज देशमा निरंकुश शासन छैन । हरेक जनतालाई आफ्नो विचार अभिव्यक्त गर्ने अधिकार संविधानले दिएको छ । यस्तो अभिव्यक्ति देशको राष्ट्रियता र सार्वभौमिकताको खिलाफ हुनु भएन, त्यत्ति हो । एउटा नागरिकका रुपमा ज्ञानेन्द्र शाहसँग पनि विचार अभिव्यक्तिको स्वतन्त्रता छ । बोल्ने मात्र होइन, उनले चाहेको खण्डमा राजतन्त्रको पक्षमा शान्तिपूर्ण राजनीतिक अभियान पनि चलाउन सक्छन् । गणतन्त्रवादीहरुले राजतन्त्रभन्दा गणतन्त्र यसकारणले ठिक छ भनेर तर्क गर्नु एउटा कुरा हो, तर बोल्यो कि पोल्यो जसरी बुरुक्क उफ्रिहाल्नु उचित होइन । यसले नेपालमा गणतन्त्रको जग कति कमजोर छ भन्ने पनि स्पष्ट हुन्छ ।

०००

पूर्वराजालाई गाली गरेर गणतन्त्र बलियो हुने होइन । गणतन्त्र बलियो बनाउने एक मात्रै उपाय भनेको जनविश्वास जित्नु हो । राजनीतिक दलहरुले आफ्ना क्रियाकलापमार्फत गणतन्त्र सुन्दर व्यवस्था हो भन्ने जनतालाई महसुस गराउन सक्नुपर्छ । सरकारले डेलिभरी दिन सक्नुपर्छ । यस्तो केही भइरहेको छैन ।

फलतः योभन्दा त राजतन्त्र नै ठिक थियो भन्ने जनभावना दिनप्रतिदिन प्रवल हुँदैछ । उल्लेखनीय पक्ष के छ भने राजतन्त्रको खोजी गरिरहेको जमातमा युवापुस्ताका धेरै छन् । देशको राजनीतिसँग चासो नराख्ने युवायुवतीहरुप्रति पूर्वराजसंस्थाप्रति नजानिदो आकर्षण बढ्दोरुपमा देख्न सकिन्छ ।

आजको यथार्थ के हो भने गणतान्त्रिक व्यवस्थाले जनतालाई खुशी तुल्याउन सकेको छैन । गणतन्त्र आएयता निरन्तर राजनीति अस्थिरता र वैदेशिक हस्तक्षेपको चक्रब्यूहमा मुलुक जकडिएको छ । विकास–समृद्धिका सपनाहरु अधुरै छन् । राजनीतिक दलहरु सत्ताको छिनाझप्टिमै व्यस्त छन् । ‘जनताको छोराछोरी पनि देशको सर्वोच्च पदमा पुग्न पाउने अवसर’ बाहेक राजाको ठाउँमा राष्ट्रपति आएर कुनै फरक देखिएको छैन । बरु अहिलेको व्यवस्थाले टोलटोलमा छोटेराजाहरु जन्माएको जनगुनासो व्याप्त छ । यसर्थ देशको जनसंख्याको एउटा ठूलो हिस्साले राजसस्था खोज्न थालिसकेको छ । उनीहरुको आवाजले मुलधारमा स्थान नपाएको मात्रै हो ।

यदि राजनीतिक दलहरुको यही र यस्तै प्रवित्तिले निरन्तरता पायो भने जनताको धैर्य टुट्ने निश्चित छ । त्यो अवस्थामा यो गणतन्त्र जोगिएला भनेर कसैले ग्यारेन्टी गर्न सक्दैन । प्रजातन्त्र भनेको जनचाहनाका आधारमा चल्ने व्यवस्था हो । जनताले चाहे भने जे पनि सम्भव छ । त्यसैले पूर्वराजालाई दुत्कार्नेभन्दा जनताको मन कसरी जित्ने भन्नेतर्फ दलहरुको ध्यान जावस ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *