सर्बियाबाट फर्केर परराष्ट्रमन्त्रीले भने– असंलग्न राष्ट्रबीच सहकार्य र एकता आवश्यक – Nepal Press

सर्बियाबाट फर्केर परराष्ट्रमन्त्रीले भने– असंलग्न राष्ट्रबीच सहकार्य र एकता आवश्यक

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले सर्बियामा सम्पन्न असंलग्न राष्ट्रहरुको उच्चस्तरीय बैठक फलदायी भएको बताएका छन् ।
सर्बियाको बेलग्रेडमा सम्पन्न बैठकमा भाग लिएर बुधबार स्वदेश फर्किएका परराष्ट्र मन्त्री खड्काले सम्मेलनमा असंलग्न सदस्य राष्ट्रहरुबीचको एकता, सहयोग र समन्वयलाई अढावा दिनुपर्नेमा नेपालले जोड दिएको बताए ।

‘सदस्य राष्ट्रहरुले उठाएका महत्वपूर्ण मुद्दालाई सफल बनाउन जरुरी छ र मतभेद अन्त्य गरी असंलग्न राष्ट्रहरुको आन्दोलनलाई भित्रैबाट बलियो र सबल हुन जरुरी रहेको छ’, खड्काले भनेका छन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री खड्का असोज २५ र २६ मा सम्पन्न बैठकमा सहभागि भएका थिए । बैठकमा नेपालले जातीय तथा अन्तर–राज्य द्वन्द्व, हिंसात्मक अतिवाद, अन्तर्राष्ट्रिय आतंकवाद, जलवायु परिवर्तन, आर्थिक मन्दी, वित्तीय जोखिम , हात हतियारको होडबाजी लगायतमा विषयमा धारणा राखेको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री खड्काले आफ्नो भ्रमण सफल र नेपालको निम्ति फलदायी रहेको बताए । उक्त बैठककै क्रममा महत्वपूर्ण द्विपक्षीय भेटघाट गरेको र ती भेटवार्ता नेपालका लागि महत्वपूर्ण रहेका पनि मन्त्री उनले बताए । भेटका क्रममा ती देश र नेपालबीचको व्यापार र आर्थिक लगानी, आर्थिक सहायता, सांस्कृतिक सम्वन्धका बारेमा छलफल भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर