सुदूरपश्चिममा सरकार फेरिँदैन, फेर्ने भए मुख्यमन्त्रीमा एकीकृत समाजवादीले दावी गर्छ : मन्त्री पूर्णा जोशी – Nepal Press
नेपाल टक

सुदूरपश्चिममा सरकार फेरिँदैन, फेर्ने भए मुख्यमन्त्रीमा एकीकृत समाजवादीले दावी गर्छ : मन्त्री पूर्णा जोशी

सुदूरपश्चिम प्रदेश सरकार परिवर्तनको चर्चा नयाँ होइन । ठूलो दल नेकपा एमालेको समर्थनमा माओवादीले नेतृत्व गरेको सरकार अहिले एमाले विभाजन पछि सबै भन्दा ठूलो दल रहेको नेकपा एकिकृत समाजवादीको समर्थनमा चलिरहेको छ ।

तर, नेपाली कांग्रेसले भने केन्द्रको गठबन्धन अनुसार सुदूरपश्चिममा सरकार अघि नबढेको भन्दै सरकार परिवर्तन गर्नुपर्ने बताउँदै आइरहेको छ । कांग्रेस गठबन्धनमा भए पनि सरकारमा सहभागी छैन । सुदूरपश्चिम कांग्रेस संसदीय दलका नेतासहितले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेरै प्रदेश सरकार फेर्नुपर्ने बताइसकेका छन् । यद्यपि सुदूरपश्चिम सरकारले भने सरकार परिवर्तनको कुनै सम्भावना नरहेको दावी गर्दै आएको छ । सुदूरपश्चिम प्रदेश सरकार, गठबन्धनमा देखिएको समस्या लगायतका विषयमा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीसँग गरिएको कुराकानी प्रस्तुत छ नेपाल टकमा :

– सरकारको काम सन्तोषजनक नभएको भन्दै नेपाली कांग्रेसले सरकार फेर्नुभन्दै आइरहेको छ नि । कहिले ढल्छ त प्रदेश सरकार ?

सरकार ढल्ने वातावरण बनेकै छैन । सरकार अल्पमतमा परेपछि ढल्ने हो । अहिले सुदूरपश्चिम सरकार स्पष्टरूपमा बहुमतमा छ । त्यसकारण सरकार ढल्ने कुरा काल्पनिक हो ।

– गठबन्धनमा रहेपनि प्रदेश सरकारमा कांग्रेसलाई र जसपालाई त कुनै चासो नदिएको आरोप छ नि ?

त्यस्तो होइन । उहाँहरूसँग पर्याप्त छलफल भइरहेको छ । नीति तथा कार्यक्रम र बजेट बनाउने बेलामा पनि हामीले छलफल गरेका हौ । सरकारले हरेक महत्वपूर्ण विषयमा दलहरुसंग संवाद गरेको छ । त्यसैले अहिले सरकार समस्या रहेको वा हटाउने कुरा भएको छैन ।

सरकारको कमी कमजोरीको आलोचना गर्न पाइन्छ । हामीले त आत्मालोचनालाई समेत प्राथमिकतामा राख्छौं । कमजोरी भए सुधार्छौं । तर, सरकारमा जान पाइएन भन्दैमा आलोचना गर्ने विषय राजनीतिक भएन । राजनीतिक दलबीचको सहकार्य गठबन्धन भनेको आत्मकेन्द्रित होइन, जनता केन्द्रित हुनुपर्छ ।

– कांग्रेसको प्रदेशसभा संसदीय दलको नेता नै काठमाडौं पुगेर यहाँको सरकारले असहयोग गरेको गुनासो गर्नुभएको छ, कांग्रेससँगको समस्या के हो ?

उहाँहरूसँग सबै प्रकारको छलफल भइरहेको छ । बजेटमा, योजना छनोटमा पनि उहाँहरूलाई सहभागी गराइएको छ । सरकारको नेतृत्व गराउने कुरामा नल्याइएको हुन सक्छ । तर, उहाँहरूलाई सरकारको सबै अवसरहरूबाट बाहिर राखिएको छैन । उहाँहरू सरकारको नेतृत्व गर्न पाउनु पर्छ भन्नुभएको हुन सक्छ । मलाई लाग्छ सत्ताभित्र रहेका दलहरूकै हाराहारीमा गठबन्धनभित्रका दलहरूले पनि सहयोग पाइरहनुभएको छ ।

– सुदूरपश्चिम प्रदेशमा कांग्रेसको भूमिका कस्तो रहन्छ ? कसरी व्यवस्थापन गर्नुहुन्छ ?

सबैलाई सरकारमै लगेर पनि हुने कुरा भएन । यहाँ स्पष्ट बहुमत भएको हुँदा कांग्रेसलाई अरू तरिकाबाट पनि व्यवस्थापन गर्ने कुरा हुन सक्छ ।

नीति कार्यक्रममा, बजेटमा सम्बोधन भइरहेकै छ । दोस्रो पटक संसद् विघटन भएपछि गठबन्धनको कुरा आएको हो । संघीय सरकार कांग्रेसको नेतृत्वमा भएपछि प्रदेशहरूमा पनि अघि बढेको हो । र, जहाँ स्पष्ट बहुमत छ त्यहाँ त्यो अहिले जरुरी छैन । अरू कुरामा सबै सहमति भइरहेको छ । त्यसकारण यो कुरा अलि बेमौसमी हो कि भन्ने लागिरहेको छ । दलको नेता नै सरकार परिवर्तनको बिषय लिएर पार्टी सभापति समेत रहेका प्रधानमन्त्रीलाई भेट्नुको कुनै अर्थ छैन ।

– भेटमा प्रदेश सरकारप्रति असन्तुष्टी पोखेको कुरा पनि आइरहेको छ नि ?

सरकारसँग असन्तुष्टी राख्न त सधैँ पाइन्छ नि । सत्ता गठबन्धनमा हुँदैमा सबैकुरा ठीकठाक होला भन्ने छैन । सरकारबारे केही गुनासो हुनसक्छ तर गुनासो छ भन्दैमा सरकार फेरिहाल्ने होइन । यस्तो अभ्यास गलत हुन्छ । हाम्रा कमजोरी छन् भने सुधार्नुपर्छ । त्यसका लागि संवाद गरौं तर प्रदेशको कुरा केन्द्रमा लगेर लगाउनु राम्रो होइन । हाम्रो विषय प्रदेशभित्रै समाधान गरौं । केन्द्रका नेतालाई दुःख दिनु राम्रो होइन ।

– अहिले माओवादीले तीन प्रदेशको नेतृत्व गरिरहेको छ । सबै प्रदेशमा २/२ जना पर्ने गरी भागबन्डा गरिएको भनिन्छ । यो अवस्थामा त माओवादीले एउटा प्रदेशको नेतृत्व छोड्नुपर्ने होइन र ?

काठमाडौंमा कसरी चर्चा भएको छ, हामीलाई थाहा भएन । तर प्रदेशभित्र रहेका दल र नेताबीच कुराकानी हुनहुपर्‍यो । अहिले सरकार फेर्ने कुरा गर्नु भनेको गठबन्धनलाई कमजोर बनाउने र विरोधीलाई बल पुर्‍याउन काममात्रै हो । सरकार फेर्ने नै सहमति भएछ भने पनि मुख्यमन्त्रीमा हाम्रो दावी रहन्छ । किनकी सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी सबैभन्दा ठूलो पार्टी हो । ठूलो पार्टी भएकोले मुख्यमन्त्रीमा हामीलाई समर्थन गर्नुपर्छ । अर्को कुरा अब धेरै समय बाँकी छैन । अहिलेकै सरकारले निर्वाचनसम्म नेतृत्व गर्नु स्वभाविक हुन्छ । केन्द्रका नेताले सहमति गरेको भनेर मात्रै हुँदैन । प्रदेशका आफ्ना विशेषता र अवस्था छन् । केन्द्रका नेताहरुले हामीलाई पनि त सोध्नुपर्ने होला नि ? अहिलेसम्म सरकार छाड्नेबारे कुनै छलफल भएको छैन ।

सत्ता गठबन्धनमा हुँदैमा सबैकुरा ठीकठाक होला भन्ने छैन । सरकारबारे केही गुनासो हुनसक्छ तर गुनासो छ भन्दैमा सरकार फेरिहाल्ने होइन । यस्तो अभ्यास गलत हुन्छ । हाम्रा कमजोरी छन् भने सुधार्नुपर्छ । त्यसका लागि संवाद गरौं तर प्रदेशको कुरा केन्द्रमा लगेर लगाउनु राम्रो होइन । हाम्रो विषय प्रदेशभित्रै समाधान गरौं ।

– पछिल्लो परिस्थिति हेर्दा सुदूरपश्चिम सरकार र कांग्रेसबीच दूरी बढेको त सत्य हो नि ?

त्यस्तो छैन । सरकारको कमी कमजोरीको आलोचना गर्न पाइन्छ । हामीले त आत्मालोचनालाई समेत प्राथमिकतामा राख्छौं । कमजोरी भए सुधार्छौं । तर, सरकारमा जान पाइएन भन्दैमा आलोचना गर्ने विषय राजनीतिक भएन । राजनीतिक दलबीचको सहकार्य गठबन्धन भनेको आत्मकेन्द्रित होइन, जनता केन्द्रित हुनुपर्छ ।

– सरकारले काम गर्न नसकेको आरोप छ । राजधानी घोषणा गरेर कार्यान्वयन गर्न नसक्नु असफलता होइन र ?

राजधानी कार्यान्वयन गराउन सरकार सक्रिय छ । यसमा सबै दलहरुको पर्याप्त सहयोगको खाँचो पनि छ । यसमा भएका कमजोरीबारे प्रश्न उठ्नुलाई सरकारले स्वभाविक रुपमा लिन्छ । आलोचना भएको बुझेका छौं । तर हामी कामै नगरी बसेको होइन । निर्णय कार्यान्वयनमा ढिलाई हुनुका धेरै कारण छन् । अरु केही प्रदेशले नाम र राजधानी दुवै टुंग्याउन सकेका छैनन् । अन्त हेरि हामी एक कदम अगाडि नै छौं ।

– गोदावरीमा राजधानी घोषणा गर्दा कांग्रेसको विरोध थियो । ४ बर्षसम्म राजधानी कार्यान्वयन अघि नबढ्दा अहिले धनगढीमै संरचना निर्माण भइरहेका छन् । कतै सरकारले राजधानी धनगढी नै सार्ने त होइन पनि चर्चा छ नि ?

स्थायी संरचना धनगढीमा निर्माण भएका छैनन् । ट्रस्टहरू बनेका हुन् । यस्तो गन्जागोल सहरमा स्थायी संरचना हुन सक्दैन । यस्तो टालटुले तरिकाले राजधानी हुँदैन । हाम्रै मन्त्रालय ४० वर्ष पुरानो बिनापिल्लरको भवनमा छ । भोली भूकम्पको पनि अत्यन्तै जोखिम रहेको छ । त्यसैले सार्वजनिक स्थलहरू व्यवस्थित बनाउँदै पर्छ त्यसको लागि स्थायी संरचना आवश्यक पर्छ त्यो बनाउँदै पर्छ । यही आर्थिक वर्षबाट अझ प्रभावकारी कामहरु हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर