नेपाल इतिहास रच्न आतूर, प्रशिक्षक अल्मुताइरीको ‘अग्नि–परीक्षा’ – Nepal Press

नेपाल इतिहास रच्न आतूर, प्रशिक्षक अल्मुताइरीको ‘अग्नि–परीक्षा’

माले, माल्दिभ्स । सन् २०१८ ढाकामा सम्पन्न साफ च्याम्पियनसीपमा पाकिस्तानसँग पहिलो खेल नै १–२ गोलले गुमाइसकेको अवस्थामा बंगलादेशलाई उसैको घरेलु मैदानमा लिगको अन्तिम खेलमा २–० ले पराजित गरेपछि नेपाल अन्ततः सेमीफाइनल प्रवेश गर्‍यो।

यही समीकरण अहिले माल्दिभ्सको राजधानी मालेमा भइरहेको साफ च्याम्पियनसिपमा बन्न पुगेको छ । लगातार दुई खेलमा घरेलु माल्दिभ्स र श्रीलंकालाई पराजित गरेर सनसनी मच्चाएको नेपाल तेस्रो खेलमा भारतसँग ०–१ ले पराजित हुँदा तीन वर्षअघिको अवस्थामा पुगेको हो ।

आज पौने पाँच बजेको निर्धारित समयमा नेपाल आफ्नो पुरानो प्रतिद्वन्द्वी बंगलादेशसँग भिड्दै छ । साफ च्याम्पियनसिपमा पहिलो पल्ट फाइनल पुग्ने इतिहास नजिक रहेको नेपालसँग बंगलादेश सन् २०११ देखि पराजित हुँदै आएको छ ।

रोचक तथ्य, सन् २०११, २०१३ र २०१८ को साफ च्याम्पियनसीपमा नेपाल सेमिफाइनल प्रवेश गर्दा तीनै पल्ट बंगलादेशलाई महत्वपूर्ण खेलमा पराजित गरेको थियो । सन् २०११ मा पनि माल्दिभ्स र पाकिस्तानलाई १–१ गोलमा रोकेको नेपाल समूह चरणको अन्तिम खेलमा कप्तान सागर थापाको उत्कृष्ट गोलमा अन्तिम समय बंगलादेशलाई १–० ले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको थियो ।

यस्तै, २०१३ मा पनि अनिल गुरुङ र भरत खवासको गोलमा बंगलादेशलाई पराजित गरेपछि नेपाल सेमीफाइनल प्रवेश गरेको हो ।

आजको खेल बंगलादेशलाई बराबरीमा रोकेर अंक बाँडेको खण्डमा पनि फाइनल प्रवेशका लागि नेपाललाई पर्याप्त हुनेछ । आजै हुने दोस्रो खेलमा माल्दिभ्सले पनि भारतलाई बराबरीमा रोकेको खण्डमा फाइनल प्रवेश गर्नेछ ।

बंगलादेश र श्रीलंकासँग बराबरी खेलेको भारतसँग ‘पुरै डिफेन्सिभ’ रणनीतिमा खेलाउने नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको यतिबेला आलोचना भइरहेको छ । भारतीय टोलीलाई अन्तिम ८ मिनेट रोक्न नसक्दा नेपाल ०–१ ले पराजित भएको थियो । नेपालले आफ्नो स्वभाविक खेलभन्दा पनि भारतीय टोलीलाई आवश्यकताभन्दा बढी महत्व दिएको भन्दै अल्मुताइरीको आलोचना भएको हो ।

आजको खेल कुवेती प्रशिक्षक अल्मुताइरीको लागि पनि निकै महत्वपूर्ण मानिएको छ । नेपालमा ‘चुरोट पिएको’ विषयलाई बढी उचालिएको अवस्थामा सामाजिक सञ्जालमार्फत राजीनामा गरेका अल्मुताइरी नजिकिँदो साफ च्याम्पियनसीपलाई अन्तिम लक्ष्य बनाएर पुनः प्रशिक्षणमा होम्मिएका थिए।

दुई महिनाअघि एकदिवसीय क्रिकेट खेल्न ओमन पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेभ वाटमोरले नेपाल क्रिकेट संघ (क्यान) को कमजोर व्यवस्थापकीय प्रति असन्तुष्टी जनाउँदै राजीनामा गरेका थिए । यतिबेला अल्मुताइरीले वाटमोरको निर्णय प्रति सहानुभूति जनाएका थिए र आफू पनि उनको पथमा रहेको जनाउ दिएका थिए।

त्यसैले आजको खेल नेपाल र बंगलादेशबीचको भिडन्त मात्र नभएर अल्मुताइरीको नेपाली टिमसँगको भविश्यलाई लिएर पनि हेरिएको छ ।

साफ च्याम्पियनसीपको इतिहास पल्टाउने हो भने नेपाल र बंगलादेशबीच ७ पल्ट भिडन्त भएको छ । जसमा ४ पल्ट बंगलादेश र ३ पल्ट नेपाल विजयी भएका छन् । तर, यसमा नेपाल १० वर्षदेखि बंगलादेशसँग अपराजित रहँदै आएको इतिहास छ । साफ च्याम्पियनसीपको नाम साफ गोल्ड कप हुँदा सन् १९९५ मा नेपाललाई ०–२ ले पराजित गरेको बंगलादेश सन् २००५ सम्म बलियो देखिन्थ्यो । उसले १९९९ भारतको गोवामा भएको साफ च्याम्पियनसीपको सेमीफाइनलमा नेपाललाई १–२ गोलले पराजित गर्दै फाइनल पुग्न छेकेको थियो।

हाल बंगलादेशको टिम युवा मानिन्छ । उनीहरू ‘फिजिकल’ खेल्न उस्ताद छन् । त्यसैले बंगलादेशविरूद्ध खेल्न नेपाललाई सोचे जति सहज छैन । नेपाल मुलतः ‘टेक्निकल’ खेल खेल्न रुचाउँछ । भारतविरूद्ध पूर्णत ‘डिफेन्सिभ’ रणनीतिमा उत्रिए पनि नेपालका कुनै पनि डिफेन्डरले पहेँलो कार्ड नपाउनु यसको घोतक पनि हो ।

बंगलादेश यस प्रतियोगितामा सबैभन्दा ‘रफ’ खेल्ने टोली हो । माल्दिभ्सविरूद्ध २–० ले पराजित खेलमा उसका पाँच खेलाडीले पहेँलो कार्ड पाएका थिए । अझ, भारतविरूद्ध दोस्रो खेलमा डिफेन्डर विश्वनाथ घोषले त रातो कार्ड नै पाएका थिए । यस खेलमा १७ वर्षीय युवा मिडफिल्डर रकिब हुसेनले पनि पहेँलो कार्ड पाएका थि ए। श्रीलंकाविरूद्ध पहिलो खेलमा पनि पहेँलो कार्ड पाएका कारण रकिब माल्दिभ्ससँगको खेलमा मैदान बाहिर थिए । नेपालविरूद्ध उनी पुनः मैदानमा उत्रिने सम्भावना प्रबल छ । श्रीलंकाविरूद्ध पनि बंगलादेशका तीन खेलाडीले पहेँलो कार्ड पाएका थिए ।

बंगलादेशलाई फाइनल प्रवेशका लागि तीन अंक आवश्यक भएका कारण आजको खेलमा उ थप आक्रामक बन्ने निश्चित छ ।

बंगाली खेलाडीको कुरा गर्दा उसको टिममा हाल तीन जना विदेशी मुलका समावेश छन् । ६ फिट अग्ला अनुभवी स्ट्राइकर इलिता किङ्स्ले नाइजेरियामा जन्मिएका खेलाडी हुन् । बंगाली केटीसँग बिहे गरेपछि उनी बंगलादेशका लागि खेल्दै आइरहेका छन्।

यस्तै, डेनमार्कमा जन्मिएका ३१ वर्षीय ‘डिफेन्सिभ मिडफिल्डर’ जमाल भूयान र फिनल्याण्डको युथ–१९ टिमबाट खेलिसकेका २१ वर्षीय डिफेन्डर तारिक काजीबाट बंगलादेशका कार्यवहाक स्पेनिस प्रशिक्षक ओस्कार ब्रुजोन बढी नै आशावादी देखिन्छन् ।

भारतको चर्चित इन्डियन फुटबल लिगको महत्वपूर्ण टोली स्पोर्टिङ गोवा र मुम्बई सिटीलाई प्रशिक्षण दिइसकेका ४४ वर्षीय ब्रुजोनसँग माल्दिभ्सको ‘न्यु राडियन्ट’ क्लबलाई प्रशिक्षण दिएको अनुभवसमेत छ । सन् २०१८ मा बंगलादेशको बसुन्धरा किङ्सलाई लिग उपाधि दिलाएपछि उनी बंगलादेशी फुटबल संघको नजरमा चढेका थिए ।

इंग्लिस प्रशिक्षक जेमी डेको नेतृत्वमा बंगाली टिम संगठित नदेखिएपछि साफ च्याम्पियनसीप सुरु हुनुभन्दा दुई महिनाअघि ब्रुजोनलाई टिमको नेतृत्व सुम्पिएको थियो । तर, छोटो अवधिमा उनले टिमलाई साफ च्याम्पियनसीपको दावेदार टोलीको रुपमा उभ्याएका छन् ।

बंगलादेश टिममा नेपालसँग प्रभावशाली खेल खेल्ने खेलाडीको जमघट पनि बाक्लो छ । भारतविरूद्ध अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गरेका सोेहेल रानाले २०१४ मा नेपाली युथ–२३ टिमविरूद्ध १–० ले विजयी मैत्रीपूर्ण खेलमा निर्णायक गोल गरेका थिए । उनी अन्तर्राष्ट्रिय गोलको खोजीमा छन् ।

यस्तै, २२ वर्षीय माहबुबुर रहमान सुफिल २०२० ढाकाको बंगबन्धु रंगशालामा नेपालविरूद्ध २–० ले विजयी मैत्रीपूर्ण खेलमा गोल गर्ने स्ट्राइकर हुन् । उनले यसै वर्ष काठमाडौंमा भएको थ्री नेसन्स कपमा १–२ ले पराजित खेलमा पनि नेपालविरूद्ध गोल गरेका थिए । सन् २०२० मा नेपालविरूद्ध मैत्रीपूर्ण खेलमा डेब्यु गरेका सुमोन रेजाले आजको खेलमा पनि अंग्रपक्ति सम्हाल्ने सम्भावना प्रबल छ ।

भारतविरूद्ध ‘पुरै डिफेन्सिभ’ रणनीति अख्तियार गरेका नेपाली प्रशिक्षक अल्मुताइरी आज त्यस्तो जोखिम उठाउने मुडमा हुने छैनन् । भारतसँग पहेँलो कार्ड पाएका प्रभावशाली मिडफिल्डर अञ्जन बिष्टलाई आज सुरुदेखि नै खेलाउने सम्भावना प्रबल छ । उनलाई भारतविरूद्ध दोस्रो हाफमा मैदान प्रवेश गराइएको थियो ।

यस्तै, स्ट्राइकरको रुपमा नवयुग श्रेष्ठलाई पनि सुरुदेखि नै मैदान प्रवेश गराउने सम्भावना उत्तिकै प्रबल छ। भारतसँगको खेलमा बेञ्चमा बसेका मिडफिल्डर विशाल राई पनि आज मैदानमा उत्रिने सम्भावना बलियो छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *