माछा-मासुबिना पनि जम्छ दसैं ! यी हुन् स्वादिष्ट १० शाकाहारी व्यञ्जन – Nepal Press

माछा-मासुबिना पनि जम्छ दसैं ! यी हुन् स्वादिष्ट १० शाकाहारी व्यञ्जन

दसैं अधिकांश नेपालीको एक ठूलो चाड हो । दसैंको आफ्नै बेग्लै धार्मिक, साँस्कृतिक र सामाजिक महत्व छ । यससँगै आपसी सद्भाव, भातृत्व र सौहार्दता आदानप्रदान गर्ने एक विशिष्ट पर्व हो दसैं ।

दसैंमा अघिपछिभन्दा मीठो खाने र राम्रो लगाउने प्रचलन छ । कतिपयले दसैंलाई माछामासु खाने पर्वका रुपमा पनि लिन्छन् । प्रत्येक घरमा खसीबोका काटेर दसैंभर खाने, खुवाउने चलन पनि छ ।

मासु खानेहरुले मासुका अनेक परिकार बनाउँछन्, खान्छन् । तर शाकाहारीहरु भने दसैंमा के खाने भन्ने नै चिन्ता हुने गरेकोसमेत पाइछ ।

हुनतः दसैँमा पशुपंछीको काटमार गर्न, बलि दिन बन्द गर्नुपर्छ भन्ने बहस पनि भइरहेको छ । माछामासु नखानेहरुले निर्दोष पशुपंछीको काटमार बन्द गर्नुपर्छ भन्दै आवाज उठाउन थालेको वर्षो भइक्यो । तर यो विषयमा कुनै ठोस निर्णय कतैबाट केही भएको छैन ।

तर शाकाहारीले पनि दसैंमा खानसक्ने थुप्रै मीठा परिकार हुन्छन् । नेपाल राष्ट्रिय शाहाकारी संघका अध्यक्ष कृष्ण बहादुर गुरुङ दसैंमा मारकाट गर्नुभन्दा पोषिला शाकाहारी खानामा जोड दिनुपर्ने तर्क गर्छन् ।

मीठो खाना भन्नेबित्तिकै धेरै चिल्लो धेरै गुलियो र मांसाहारीहरूका लागि धेरै मासु भन्ने आम बुझाइ छ । तर त्यो गलत हो ।

मानव स्वास्थ्यलाई ध्यानमा राखेर बनाउन जानेमा स्वस्थ शाकाहारी र जीवहिंसा रहित खाना वा पूर्ण वनस्पतिजन्य खानाबाट पनि हामी अझ बढी स्वाद र सन्तुष्टि लिन सक्छौं । रमाइलोसँग चाड मानाउन सक्छौं ।

दसैंमा स्वस्थ र ताजा शाकाहारी खानु उत्तम हुन्छ । दसैंमा खान सकिने शाकाहारी परिकार यसप्रकार हुनसक्छन्–

पनिर

दसैंमा सामान्यतया शाहाकारीहरुको पहिलो रोजाइमा पर्छ पनिर । दुध फटाएर बनाइने पनिर प्राय सबैलाई मनपर्ने तरकारी भित्र पर्छ । विशेषगरी हरियो केराउ र आलुसँग मिसाएर पकाउँदा एकदमै स्वादिष्ट बन्छ । पनिरलाई तेलमा तारेर गोलभेडाको अचारमा साँधेर पनि खान सकिन्छ । र पनिर चिल्ली पनि बनाएर खान सकिन्छ ।

च्याउ

शाहाकारीको लागि मसरुम (च्याउ)को तरकारी पनि दसैंमा खाने एक उत्कृष्ट परिकार हो । बजारमा दुईखाले च्याउ पाइन्छ । डल्ले च्याउको पनि धेरै थरीको परिकार बन्न सक्छ । च्याउसँगै क्याप्सिकम पनि मिसाएर मसरुम चिल्ली बनाउन सकिन्छ । साथै च्याउको सूप पनि स्वास्थ्यको लागि फाइदाजनक हुन्छ ।

साग

दसैंको बेला चिल्लो पिरो गुलियो बढी, हरियो सागपात कम खाने भएकाले पनि दसैंमा शाहाकारी भोजनमा सागलाई अनिवार्य जस्तै गराउनु राम्रो हुन्छ । दसैँ अवधिभर हरियो सागपात कमै खाने भएकाले पनि सागलाई खानामा छुटाउनु हुँदैन । सागपातबाट पाइने भिटामिनले खाना पचाउनमा सहयोग पुग्छ ।

केराको बुङ्गोको तरकारी

दसैँमा केराको बुङ्गोको तरकारी बनाए पनि खान सकिन्छ । केराको बोटको टुप्पोलाई बुङगो भनिन्छ । जसको रातो केस्राभित्र ससाना फल जस्तै दाना हुन्छन् । त्यसलाई निकालेर बुङगोको तरकारी र अचार बनाउन सकिन्छ । जुन एकदमै स्वादिष्ट र स्वस्थ्य हुन्छ ।

गेडागुडी

शाहाकारीहरुको लागि गेडागुडी पनि उत्कृष्ट हुनसक्छ । मिक्स गेडागुडीको झोल बनाएर खान सकिन्छ । बोडी, चना, राज्माको छुटाछुटै परिकार बनाएर पनि खान सकिन्छ ।

विरयानी

विरयानी भन्ने वितिकै चिकेन मात्रै हुन्छ भन्ने सोचिन्छ । तर भेज विरयानी पनि बनाउन सकिन्छ । घरमै भएको तरकारीहरुलाई प्रयोग गरेर चिकेन विरयानीभन्दा मीठो परिकार बनाएर खान सकिन्छ । नयाँ परिकारको स्वाद पनि लिन सकिन्छ ।

आलु फ्राई

सबैभन्दा धेरै परिकार बन्ने आलु शाहाकारीको भोजनको लागि दसैँमा उपयुक्त हुन सक्छ । आलु धेरैलाई मनपर्ने तरकारी पनि हो । तारेको, भुटेको, पोलेको, साधेको आलुको परिकार बनाएर खान सकिन्छ ।

कुरिलो

कुरिलोको झोल एकदमै स्वादिलो हुन्छ । बुढाबुढीदेखि बच्चाबच्चीको लागि कुरिलोको झोल एकदमै प्रभावकारी हुन्छ ।

खीर

खीर पनि सदाबहार खाना र खाजा भित्र पर्छ । प्राय सबैको रोजाइमा पर्ने खीर दसैँमा खान सकिन्छ ।

सिर्कनी

दसैंको लागि भनेर विशेष गरेर काक्रो राखिएको हुन्छ । काक्रोको पनि धेरै परिकार बनाउन सकिन्छ । काक्रोको सिर्कनी बनाएर साधेर आलुको अचारसँग मोलेर खान सकिन्छ । काक्रोलाई कोरेर दहीसँग मिसाएर अमिलो पिरो मिलाएर सिर्कनी बनाउन सकिन्छ । यो एकदमै स्वादिलो हुन्छ ।

त्यस्तै दसैमा दुधबाट बन्ने कुराउनी, तोफुको तरकारी, घिउमा पोलेको सेलरोटी, मौसमी फलफूल, काजु, नरिवल आदि राखेको दुध, दही, हरियो बोडीको तरकारी, बिरम्ला, मुला, काँक्रो, गाँजर खान सकिन्छ ।

(नेपाल शाकाहारी संघका अध्यक्ष कृष्ण गुरुङसँग नेपाल प्रेसकर्मी शर्मिला पण्डितले गरेको कुराकानीमा आधारित)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर