सभामुखले सार्वजनिकरूपमा गल्ती स्वीकारे संसद चल्छ : प्रदीप ज्ञवाली (भिडिओ) – Nepal Press

सभामुखले सार्वजनिकरूपमा गल्ती स्वीकारे संसद चल्छ : प्रदीप ज्ञवाली (भिडिओ)

चितवन । नेकपा एमालेका सचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सभामुख अग्नि सापकोटाले पदीय दायित्व पूरा नगरेकाले एमालेले संसदमा विरोध जारी राखेको बताएका छन् ।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘साउन ३ देखि ३२ सम्म नियमित चलेकै थियो, भदौ २३ पछि किन अवरुद्ध बन्यो त ? सभामुखले आफ्नो गल्तीलाइ सार्वजनिकरूपमा स्वीकारे संसद चल्छ ।’ ज्ञवालीले देउवा सरकार गलत बाटोमा हिँडेको आरोप लगाए । ‘जति दिन यो सरकार रहन्छ, त्यति नै देशका लागि बोझ हुने स्थिति देख्छौं’, उनले भने, ‘हनिमुन अवधिमा कमेन्ट नगरौं भने पनि सरकारले जनताविरोधी क्रियाकलाप गरेको छ ।’

सरकार बनेदेखि नै लोकतन्त्रलाई कमजोर पार्ने, राष्ट्रिय हितमा आँच पुर्‍याउने, आर्थिक स्वच्छता, पारदर्शितालाई धब्बा लगाउने काम भएको आरोप लगाए । ‘आयोग विघटन गरेर सुकुम्बासीका सपना विघटन गर्‍यो, कालोधनलाई सेतो तुल्याउन स्रोत नखोजिने भनेर नेपाललाई ब्ल्याक लिष्टेट बनाउन खोजियो’, उनले भने, ‘एउटा पार्टी विशेषलाई विभाजन गर्न विधिको शासन भत्काउने काम भए ।’

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा चलेको गोली प्रकरणलाई इङगित गर्दै नेता ज्ञवालीले भने, ‘सरकारी जग्गा संरक्षित हुनुपर्छ, तर गोली नै समस्याको समाधान होइन ।’ चितवन आएर प्रचण्डले एमालेलाई संसद अवरुद्ध गरिरहने भए संसद छाड्न दिएको चेतावनीको ज्ञवालीले आलोचना गरेका छन् ।

‘जनताको इच्छा बेगर कसैले संसदबाट हटाउने वा दायाँबायाँ गर्न मिल्दैन । उहाँले संसद छाड भन्नु पराजित मनस्थितिको उपज हो । एमालेलाई संसदमा पुर्‍याउनले काम जनताले गरेका हुन् ।’


प्रतिक्रिया

One thought on “सभामुखले सार्वजनिकरूपमा गल्ती स्वीकारे संसद चल्छ : प्रदीप ज्ञवाली (भिडिओ)

Leave a Reply to Manav khadgi Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर