एमाले र माओवादीलाई मिलेर अघि बढ्न चीनको सुझाव – Nepal Press

एमाले र माओवादीलाई मिलेर अघि बढ्न चीनको सुझाव

काठमाडौं । नेपालका दुई ठूला कम्युनिस्ट पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्रलाई मिलेर अघि बढ्न चीनले सुझाव दिएको छ । यी दुई ठूला कम्युनिस्ट शक्तिहरु मिलेर नेपाली जनताको आकांक्षा पुरा गरेको हेर्ने आफ्नो चाहना रहेको समेत चीनले बताएको छ ।

नेपाल डायलग फोरमले मंगलबार भर्चुअल माध्यममा आयोजना गरेको कार्यक्रममा बोल्दै चिनियाँ राजदूत होउ यान्छीले एमाले र माओवादीलाई मिलेर अघि बढ्न सुझाएकी हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल दुबैजनाको नाम लिएर उनले भनिन्, ‘नेपाली जनताको आकांक्षा पुरा गर्न तपाईंहरु मिल्नु जरुरी छ ।’

राजदूत यान्छीले एमाले र माआवादीलाई मिलेर अघि बढ्न सुझाव दिइरहँदा उनले हालै गठित माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को नाम भने लिइनन् । उत्तर छिमेकी चीनले एमाले र माओवादीलाई मिल्न सुझाव दिनु तर एकीकृत समाजवादीबारे मौन रहनुलाई कूटनीतिमा अर्थपूर्णरुपमा लिइएको छ ।

तत्कालिन नेकपालाई विभाजन हुन नदिन पनि बेइजिङले सतहमै देखिने गरि आफ्नो सक्रियता देखाएको थियो । एमाले र माओवादीलाई मिल्न बेइजिङले यस्तो समयमा आग्रह गरेको छ जतिबेला प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँग सम्बन्ध विस्तार गर्न भन्दै आफ्नो प्रतिनिधिमण्डललाई दिल्लीमा पठाएका छन् ।

एमालेले हालै सम्पन्न गरेको विधान महाधिवेशन र माओवादीले यसबीचमा गरेका पार्टीका कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा पनि चीनले बधाइ दिएको छ । चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष पुगेको अवसरमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङलाई पत्र लेखेकोमा समेत राजदूत यान्छीले धन्यवाद दिएकी छिन् ।

राष्ट्र–राष्ट्र, नागरिक–नागरिक र दल–दलसँग चीनले सम्बन्ध अघि बढाउन चाहेको उल्लेख गर्दै राजदूत यान्छीले कसरी चिनियाँ कम्युनिस्ट पार्टी एकसय वर्षमै विश्वकै ठूलो अर्थतन्त्र भएको भन्दै चर्चा गरेकी थिइन् । सीपसीले पार्टी विधानअनुसार चलेको र भ्रष्टाचारमा शून्य सहनशिलताको नीति अपनाएको भन्दै उनले नेपाली कम्युनिस्ट पार्टीले पनि कुराहरु सिक्नुपर्ने राजदूत यान्छीको सुझाव थियो ।

राजदूत यान्छीले बडादसैँको उपलक्ष्यमा नेपाली नागरिकलाई पनि शुभकामना दिएकी छिन् ।

एमाले सचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छोटो समयमै चीनले हासिल गरेको समृद्धि कम्युनिस्ट पार्टीको लागि परीक्षा भएको बताए । ‘सयवर्ष छोटो समय हो । यसबीचमा कसरी एउटा कम्युनिस्ट पार्टीले सफलता हासिल गर्नसक्छ भन्ने कुरा परीक्षणको कुरा पनि हो ’ उनले भने, ‘चिनियाँ कम्युनिस्ट पार्टीले दूरदृष्टिपूर्ण नेतृत्व प्राप्त गरेको छ ।’ समाजवादका लागि चिनियाँ समृद्धि जरुरी भएको ज्ञवालीले बताए ।

माओवादी स्थायी कमिटी सदस्य शक्ति बस्नेतले सयवर्षमा चीनले हासिल गरेको सफलताको चर्चा गर्दै नेपाली कम्युनिस्ट पार्टीहरुले पनि यसबारे सिक्नुपर्ने बताए । चीनले प्राप्त गरेको कुशल नेतृत्व र जनताप्रति चिनियाँ कम्युनिस्ट पार्टीको योगदान नेपाली कम्युनिस्ट आन्दोलनका लागि पनि अनुकरणीय रहेको उनको भनाई छ ।

उक्त भर्चुअल कार्यक्रममा एमाले तथा माओवादी सांसद तथा नेताहरु सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर