सात वर्षदेखि त्रिपालमुनि टरेको सुर्खेत बाढीपहिरो पीडितको दसैँ – Nepal Press

सात वर्षदेखि त्रिपालमुनि टरेको सुर्खेत बाढीपहिरो पीडितको दसैँ

सुर्खेत । सुर्खेतमा २०७१ साउनको बाढीपहिरोले ठूलो क्षति पुर्‍यायो । जिल्ला प्रशासन कार्यालय सुर्खेतको तथ्यांकअनुसार सुर्खेतका विभिन्न ठाउँमा आएको त्यो बाढीपहिरोबाट २४ जनाको मृत्यु भएको थियो । भने ९१ जना बेपत्ता भए । विपद्‍मा परेर १ हजार १ सय ५९ घरमा पूर्णक्षति पुग्यो । दुई सयभन्दा बढी घरमा आंशिक क्षति पुगेको थियो ।

बाढीपहिरोको सात वर्ष वित्दासम्म पनि पीडितहरूको बास त्रिपालमुनि नै छ । स्थानीयदेखि केन्द्रसम्मका जनप्रतिनिधिले राहत तथा क्षतिपूर्तिका लागि धेरै आश्वासन दिए तर समस्या ज्यूँ का त्यूँ रहेको बाढीपीडित व्यवस्थापन समितिका सचिव बलबहादुर थापाको गुनासो छ । ‘त्रिपाल झुत्रो भएर पानी चुहिन्छ । नेताहरू चुनावको समयमा अनेकन सपना बाँडछन् । अनेक आश्वासन देखाउँछन् । जितेर गएपछि फर्केर हेर्दैनन्’, थापाले भने ।

वीरेन्द्रनगर नगरपालिका- ७ मा बस्दै आएका अर्का पीडित नरबहादुर रोका आफूहरूका लागि दशा बनेर आउने दसैँ बरु नआइदिएकै राम्रो भन्छन् । दुवै खुट्टा गुमाएका उनको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले उपचार गरिदिएका थिए । अहिले उनी पालमुनि बसिरहेका छन् । ‘काम गरी खान पनि सकिन्न । यस्तो अवस्था छ । कसैले दिएमात्रै खान सक्ने अवस्थामा कसरी मान्नु चाड ?’, रोकाले भने ।

त्यही बस्तीकी डिलसरा खत्रीले सरकारले ३ लाख राहत दिन खोजे पनि त्यतिमा सुर्खेतमा जग्गा नै नपाइने बताउँछिन् । उनी भन्छिन्, ‘आफ्नो घर भइदिएको भए कम्तीमा रुखो-सुखो खाएर भए पनि घरमै बसेर दसैँ मनाइँन्थ्यो होला ।’छिमेकीका छोराछोरीले नयाँ लुगा लाको, मीठो-मसिनो खाएको देख्दा आफ्ना बालबालिका टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था रहेको उनको गुनासो छ ।

अरुले आफन्त र परिवारजनको जमघटमा धुमधामसँग चाड मनाइरहँदा विपद्ले दिएको चोटको आलो घाउ बोकेर त्रिपालमुनि मन ‘अमिलो’ बनाएर दसैँ टार्नुपरेकोमा उनीहरूको गुनासो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर