दशैंमा घुमघाम गर्ने कि ? यस्ता छन् १ देखि ९ दिनसम्मका प्याकेज – Nepal Press

दशैंमा घुमघाम गर्ने कि ? यस्ता छन् १ देखि ९ दिनसम्मका प्याकेज

काठमाडौं । न जाडो न गर्मी । दशैंको लामो विदा । खुलेको आकासमा वरिपरीको हरियाली डाँडा तथा हिमश्रृखला हेर्दै घुम्ने रहर कसको नहोला ?

गत वर्ष कोभिडका कारण दशैं निकै खल्लो रह्यो । कयौं घरमा त कोभिडका बिरामी नै थिए । त्यसैले सिमित घरपरिवारका सदस्यका बीच दशैंको औपचारिकता निभाइयो । टाढाका आफन्तहरू भेट हुन पाएनन् । घुमघाम त झन् कल्पनामै सीमित भयो ।

यसपाली पनि कोभिडको महामारी निमिट्यान्न त भइसकेको छैन, तर धेरै मत्थर भएको छ । त्यसैले उल्लासपूर्वक दशैं मनाउने मुडमा छन् धेरै नेपालीहरु । पछिल्ला वर्षहरुमा दशैंको अवसरमा घुमघाम गर्ने प्रचलन पनि बढेको छ । लामो समयदेखि आ–आफ्ना शहरमा कैद भएर बसेकाहरु यसपाली घुमघामको योजना पनि बनाइरहेका छन् ।

दशैंमा कर्मचारीहरुले लामो विदा पाउने र मौसम पनि अनुकुल हुने भएकाले यसबेला घुमघामका निम्ति अनुकुलता मिल्छ । तर धेरैको मनमा उब्जिने प्रश्न हो, आफ्नो बजेट र समयले भ्याउने गरी घुम्ने ठाउँ कुन होला ?

हामीसँग कति घुम्नका लागि कति दिन समय छ, त्यसैअनुसारको प्याकेज बनाउनुपर्ने हुन्छ । जस्तो, १ वा २ दिनका लागि घुम्न निस्कदै हुनुहुन्छ भने तपाईंले छोटो दुरीका पर्यटकीय स्थल रोज्न सक्नुहुन्छ । २/४ दिनका लागि निस्कदै हुनुहुन्छ भने त्यसै अनुसारको प्याकेज बनाउनु पर्छ ।

यसै सन्दर्भमा हामीलाई एरोलिना ट्राभल्स एण्ड टुर्स प्रालिका सञ्चालक याम खड्काले विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यका प्याकेज सुझाएका छन्:

एक रात वा दुई दिन

नगरकोट

काठमाडौं उपत्यकाबाट छोटो दूरीमा पुग्न सकिने प्रसिद्ध र रमणीय स्थल हो नगरकोट । काठमाडौंबाट ३२ किलोमिटर र भक्तपुरबाट २० किलोमिटर पूर्वमा पर्दछ नगरकोट । नागवेली घुम्ती पार गर्दै पुगिने नगरकोटबाट सूर्योदयको भूल्को दृष्यवलोकनका लागि यो स्थान प्रसिद्ध छ ।

छिनमै मौसम परिवर्तन हुने नगरकोटबाट विभिन्न हिमाल श्रखलाको मनोरम दृष्य देख्न सकिन्छ । धौलागिरी, कञ्चनजंघा हिमश्रृखला, मनास्लु, गणेश हिमाल, लाङटाङ गौरीशंकरलगायतका हिमाल चुचुरा देख्न सकिन्छ ।

सानो वा ठूलो समूहमा नगरकोट जान सकिन्छ । समुहमा गएको खण्डमा होटल, रेष्टुरेन्टमा राम्रो छुट पाउने सम्भावना हुन्छ । नगरकोट जानका लागि रत्नपार्कबाट भक्तपुरसम्मको बस लाग्छ । निजी सवारीसाधनमा पनि जाँदा हुन्छ ।

दामन

मकवानपुरको दामन पनि पछिल्लो समय पर्यटकलाई लोभ्याउने गन्तव्यका रुपमा विकसित भइरहेको छ । कुलेखानी हुँदै पुगिने दामन प्राकृतिक दृष्यावलोकनका लागि प्रसिद्ध छ । थानकोट नौबिसेबाट ७५ किलोमिटर दूरीमा दामन रहेको छ । हेटौडाबाट ३३ किलोमिटर पार गरेपछि दामन पुगिन्छ ।

२ हजार ६ सय ८८ मिटर उचाईमा रहेको दामनबाट अन्नपूर्ण, मनास्लु, लाङटाङ, दोर्जे, लाक्पा, गौरीशंकर लगायतका हिमाल हेर्न सकिन्छ । दामन साइकलयात्रीका लागि पनि राम्रो गन्तव्यस्थल हो ।

दुई रात, तीन दिनको प्याकेज

हलेसी

प्राकृतिकरुपमै बनेको गुफाका कारण हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीका लागि हलेसी प्रसिद्ध छ । हलेसी गुफाको प्राकृतिक भू–बनोटको संरचना विश्मै अनौठो मानिन्छ । हलेसी धाम अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टानले घेरिएको छ ।

कालिञ्चोक

हिमालको काखमा उभिएको कालिञ्चोक पनि सुन्दर पर्यटकीय र धार्मिक स्थल हो । काठमाडौंबाट केहीं घण्टाको दूरीमा कालिञ्चोक भगवती मन्दिर रहेको छ । २ हजार ७ सय मिटरको उचाइमा रहेको कालिञ्चोकमा भगवतीको पनि दर्शन गर्न पाइने र हिमाल नजिकै भएकाले आनन्दले प्राकृतिक मनोरम दृष्य अवलोक गर्न सकिन्छ ।

पोखरा

हरेक नेपालीको चाहना नै हुन्छ, एकपटक पोखरा घुम्ने । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरा युवा, बुढाबुढी, केटाकेटी सबैका लागि प्रमुख पर्यटकीय स्थल हो । यहाँ फेवातालमा डुंगा चढ्ने, प्याराग्लाइडिङ, जिप फ्लाई, बञ्जिजम्प, गुफा भ्रमण, हिमालको मनोरम दृष्यलगायतले पनि पोखरा घुम्नका लागि अति उपयुक्त ठाउँ हो ।

चितवन

चितवनलाई नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा लिइन्छ । सौराहा, मेघौलीलगायतका ठाउँ घुम्न सकिन्छ । चितवनको राष्ट्रिय निकुञ्ज दुर्लभ एकसिंगे गैंडा, हात्ती, पाटेबाघ, विभिन्न चराचुरुङ्गी, जङ्गल सफारीको आनन्द लिन सकिन्छ ।

लुम्बिनी

गौतम बुद्ध जन्मिएको स्थान लुम्बिनी पनि घुम्नका लागि प्रसिद्ध छ । परिवार तथा समुहमा लुुम्बिनी घुम्न जान सकिन्छ । आध्यात्मिक भूमिका रुपमा रहेको लुम्बिनीमा मायादेवी मन्दिर तथा एक दर्जन गुम्बा रहेका छन् । यहाँ ध्यान, बोटिङ, रिक्सा, किनमेल गर्न सकिन्छ ।

चार रात, पाँच दिनको प्याकेज

पोखरा–मुक्तिनाथ

धार्मिक आस्थाको केन्द्र मुस्ताङको मुक्तिनाथको मन्दिर पनि आन्तरिक तथा भारतीय पर्यटकको रोजाइ बन्दै गएको छ । धार्मिक स्थलका लागि मात्र नभएर प्राकृतिक छटाले भरिएका दृष्य हेर्दै मुक्तिनाथ पुग्न सकिन्छ ।

मुक्तिनाथ जाँदा बाटोमा पर्ने मार्फा गाउँ, त्यहाँका स्यायु, जोमसोम, कालिगण्डकीको मुहान कागबेनीलगायतका ठाउँका दृष्यले पनि जो–कोहींको मन लोभ्याउँछ । मुक्तिनाथ जानका लागि पहिलाको जसरी जहाज नै पर्खनु पर्दैन । यहाँ गाडीमा पनि जान सकिन्छ ।

पाँच रात, ६ दिनको प्याकेज

पाथिभरा

नेपालको पूर्वी भागको ताप्लेजुङ जिल्लमा रहेको पाथिभरा देवीको दर्शन तथा पर्यटकीय रमणीय ठाउँ घुम्न सकिन्छ । पाथीभरा जाँदा बाटोमा पर्ने इलामबाट नेपालका लागि पहिलो घामको झुल्को देख्न पाइन्छ ।

आन्तरिक र भारतीय पर्यटकका लागि प्रसिद्ध पाथिभरा ३ हजार ७ सय मिटरको उचाइमा रहेको छ । पाथिभरा मन्दिरबाट कञ्चनजंघा हिमश्रृङ्खला, कुम्भकर्ण, मकालु, ल्होत्से हिमालको दृष्यावलोकन गर्न सकिन्छ । पाथिभरा जाँदा तल्लो फेदीबाट विस्तारै हिँड्दै पाँच घण्टा उकालो हिँडेपछि माथि मन्दिर पुगिन्छ । हिँड्दा जसरी थाकिएको हुन्छ, मन्दिर पुगेपछि देखिने प्राकृतिक दृष्यले थकानलाई एकैपटकमा बिर्साउँछ ।

यहाँ जानका लागि काठमाडौंबाट सिधै ताप्लेजुङका लागि गाडी लाग्छ । अथवा, काठमाडौं एयरपोर्टबाट ताप्लेजुङमा रहेको सुकेटार एयरर्पोट ओर्लिएर पनि जान सकिन्छ ।

सात रात, आठ दिनका लागि

रारा

चारैतिर पहाडै पाहडले घेरिएको रारा तालमा जीवनमा एकपटक पुग्न जोकोहीं नेपाली चाहन्छन् । ‘स्वर्गकी अप्सरा’ नामले पनि चिनिने रारा नेपालको सबैभन्दा ठूलो ताल हो ।

रारा ताल नेपालगञ्जबाट हवाईमार्ग हुँदै पनि जान सकिन्छ र सडकमार्गबाट पनि । रारा तालबाट २ घण्टा उकालो हिँडेपछि मुर्मामा पुगिन्छ । मुर्माबाट विशाल रारालाई अवलोकन गर्न सकिन्छ । रारा जाँदा नेपालगञ्जबाट ताल्चा एयरपोर्टसम्म जान सकिन्छ । पहिला पहिला १० दिन हिँडेर रारा पुगिने भए पनि अहिले सवारी साधनको पहुँचका कारण त्यत्रो हिँड्नु पर्दैन । काठमाडौंबाट हिँडेको करिब ३० देखि ३२ घण्टामा जुम्ला पुग्न सकिन्छ । जुम्ला सदरमुकामबाट गाडी रिजर्व गरेर पनि रारा जान सकिन्छ ।

आठ रात, नौं दिनको प्याकेज

खप्तड

नेपालको सुदुरपश्चिममा रहेको खप्तड चारवटा जिल्लाहरु बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगम स्थलमा छ । समुन्द्र सतहदेखि २४०० देखि ३७०० मिटर उचाइमा फैलिएको खप्तडमा २२ वटा पाटन रहेका छन् ।

खप्तडलाई ‘स्वर्गको टुक्रा’ भन्दा फरक पर्दैन । खप्तडमा जेठ÷असारमा जंगली सानासाना सेता र हल्का गुलावी तथा राता फूलले ढपक्कै ढाकेको हुन्छ । असोज–कार्तिकमा खप्तडबाट सेता हिमालका चुचुरा देखिन्छ । चैत र वैशाखमा गुराँसले ढाकिएको हुन्छ ।

काठमाडौंबाट धनगढीसम्म जहाजमा गएर त्यहाँबाट खप्तड जान सकिन्छ । सडकको बाटो जाँदा डोटीको झिग्राना, बजाङको छान्ना, बाजुराको कोल्टी, अछामको साँफेबगरबाट पनि जान सकिन्छ । डोटीको सदरमुकाम लिवढीमा बास बसेर झिग्राना हुुँदै ८ घण्टाको पदयात्राबाट खप्तड पुगिन्छ । खप्तड जानलाई बाटो धेरै अफ्ठ्यारो पनि छैन ।

कुनै पनि यात्रामा निस्कदा समुहमा जाँदा राम्रो हुन्छ । यसबाट खर्च पनि कम हुन सक्छ । समहु बनाउँदा सकभर यातायात साधनलाई ध्यानमा राखेर बनाउनुपर्छ । कारमा चारजना, जिपमा ६ जना, माइक्रोमा १४ जना र मिनिबसमा २४ जनासम्मले यात्रा गर्नु सुविधाजनक हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर